१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ कार्तिक २२ शनिबार ०७:३६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नाडालले जिते एक हजार खेल

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २२ शनिबार ०७:३६:००

स्पेनिस टेनिस स्टार राफेल नाडालले करिअरमा एक अर्को सफलता चुमेका छन् । एटिपी टुरमा नाडालले एक हजार खेल जित दर्ता गरेका छन् । पेरिस मास्टर्समा स्पेनिस खेलाडी फेलिसिआनो लोपेजलाई ३–२ को सेटमा हराउँदै नाडालले आफ्नो खेल जीवनमा एक हजार जित निकाल्न सफल भएका हुन् । टेनिस जगत्मा अमेरिकाका लिजेन्ड जिमी कोनोर्सको नाममा सर्वाधिक एक हजार दुई सय ७४ जितको कीर्तिमान छ । 

स्विस खेलाडी रोजर फेडेरर दोस्रो स्थानमा छन् । उनले १ हजार दुई सय ४२ खेलमा सफलता हात पारेका छन् । नाडाल चौथो स्थानमा चेकका इभान लेन्डी एक हजार ६८ जितका साथ तेस्रो स्थानमा छन् । गत महिना नाडालले कीर्तिमानी रूपमा १३औँपटक फ्रेन्च ओपन जितेका थिए । 

उनले फेडेररको नाममा रहेको २० ग्रान्डस्लाम कीर्तिमान बराबरी गरेका छन् । नाडालले पेरिसमा कीर्तिमानी जित निकाल्दा खुसी लागेको बताएका छन् । नाडाल भन्छन्, ‘पेरिसमा अझ योभन्दा राम्रो प्रदर्शन हुनुपर्ने थियो, आउँदा दिनमा चुनौती धेरै छन्, जितको संख्या कति पुग्ने हो अहिले भन्न सकिन्नँ ।’ नाडाल अहिले ३४ वर्षका हुन् । 

लामो समयसम्म उनको नजिकका प्रतिद्वन्द्वी फेडेरर ४० वर्ष कटेका छन् । फेडेररको जस्तै फिटनेस र प्रदर्शन गर्न गाह्रो हुने उनको बुझाइ छ । ‘३४ वर्षको उमेरमा पनि सक्रिय रूपमा खेलिरहन पाउँदा आफैँलाई गर्व लाग्छ,’ उनले भने, ‘यो मेरो मात्र सफलता होइन, यसमा टिम तथा परिवारको साथ उत्तिकै छ ।’ नाडालले व्यावसायिक टेनिस करिअर २००१ मा गरेका थिए ।

लगभग २० वर्षको टेनिस यात्रामा नाडालले पहिलोपटक एटिपी टुरमा पहिलो जित २००२ मा निकालेका थिए । त्यसवेला पाराग्वेका रोमान डेल्गाडोलाई हराए । तेस्रो स्थानमा उक्लन नाडालले ६८ जित निकाल्दा काफी हुनेछ । उनले कानोर्स र फेडेररको उपलब्धि बराबरी गर्न समय लाग्ने बताएका छन् । नाडालले करिअरमा धेरैपटक नोभाक जोकोभिकलाई हराएका छन् । उनले जोकोभिकलाई २७ पटक हराएका छन् । गत महिनामा मात्र उनले फ्रेन्चको ओपनको फाइनलमा जोकोभिकलाई स्पष्ट सेटमा हराएका थिए । त्यसपछि उनले स्पेनिस खेलाडी डेभिड फेरेरमाथि ३२ भेटमा २६ पटक हराए । 

त्यसपछि फेडेररलाई उनले २४ पटक पाखा लगाएका छन् । नाडालले आफ्नो करिअरमा ४६ मिनेटदेखि पाँच घन्टाको परिश्रममा जित निकालेका छन् । उनले जर्जियाका निकोलोजलाई फ्रेन्च ओपनमा केवल ४६ मिनेटमा हराएका थिए । नाडालको सबैभन्दा प्रिय खेल्ने कोर्ट नै क्ले हो । रातो माटोमा खेलिने फ्रेन्च ओपनमा सर्वाधिक सयपटक जित निकालेका छन् । यसबाहेक यसै किसिमको प्रतिस्पर्धामा ४ सय ८५ मध्ये ४ सय ४५ खेलमा जित निकालेका छन् । उनले हार्ड कोर्टमा ६ सय १७ मध्ये ४ सय ८२ खेलमा सफलता चुमेका छन् ।