मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडौं
२०७७ कार्तिक २ आइतबार १८:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया पुऱ्याइएका नेपाली कामदार उद्धारको प्रतीक्षामा

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडौं
२०७७ कार्तिक २ आइतबार १८:००:००

धनकुटाका मणिकुमार राई (३४ वर्ष) करिब एक वर्षअघि रोजगारीका लागि कम्बोडिया पुगे । सहपाठी साथीका भिनाजु नाता पर्ने हरिकुमार राईले कम्बोडियामा राम्रो जागिर पाइने बताएपछि उनी लोभिएका थिए । धनकुटामै निर्माणसम्बन्धी काम गर्दै आएका मणिकुमारलाई भोजपुरका हरिकुमारले कम्बोडियामा सोही क्षेत्रमा काम गर्दा नेपालभन्दा राम्रो आम्दानी हुने भन्दै फकाएका थिए ।

हरिकुमारले कम्बोडियामा आफ्नै भाइ सागरकुमार राईले निर्माण क्षेत्रमा काम गर्दै आएकाले जागिर निश्चित भएको ढाडस दिएका थिए । साथीकै भिनाजुको विश्वासमा परेर उनले कम्बोडिया जाने निधो गरे । घरमा सबै चाँजोपाँचो मिलाएपछि मणिकुमारले एजेन्ट हरिकुमारलाई साढे तीन लाख रुपैयाँ बुझाए । पैसा पाएपछि हरिकुमारले बाँकी कागजपत्र मिलाएर पठाउँछु भनेर आफूलाई थाइल्यान्ड उडाएको पीडित मणिकुमार बताउँछन् ।

मणिकुमारसँगै अन्य केही महिला पनि हरिकुमारकै माध्यमबाट कम्बोडिया जाँदै थिए । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती महिलालाई प्रवेश दिइएन । मणिकुमार भने विमानस्थलभित्र प्रवेश गर्न सफल भए । ‘महिलालाई एयरपोर्टमा रोकिदियो, म मात्रै भित्र छिर्न सफल भएँ,’ उनी भन्छन् ।

हरिकुमारले विमानस्थलमा रोकिएका महिलासँग थाइल्यान्डमा भेट हुने बताउँदै मणिकुमारलाई बैंकक उडाए । थाइल्यान्डमा उनलाई हरिकुमारका भाइ भनिने सागरकुमारले सम्पर्क गरे । थाइल्यान्ड र कम्बोडिया सीमामा सागरकुमारका अर्का स्थानीय एजेन्ट मणिकुमारलाई भेट्न आए । तिनै स्थानीय एजेन्टले मणिकुमारको पासपोर्ट लिएर कम्बोडियाका लागि बिजनेस भिसा लगाए ।

‘सागरले पठाएको बताउँदै एउटा कम्बोडियाको मानिस आयो । मेरो पासपोर्टमा बिजनेस बिजनेस भिसा लगाएर ल्यायो,’ उनी भन्छन् । स्थानीय एजेन्टले मणिकुमारलाई थाइल्यान्ड सीमाबाट १२ घन्टा बसयात्रापछि कम्बोडियाको राजधानी नोमपेन पु¥याए ।

नोमपेन पुगेपछि करिब आठ महिना उनले काम पनि पाए । ‘सुरुका तीन महिना तलब दियो । मलाई पनि राम्रो हो भन्ने लाग्यो । नेपालबाट अरूलाई पनि बोलाउन हरिकुमारले अह्राए,’ उनी भन्छन् ।

तीन महिनापछि भने उनले तलब पाएनन् । चार महिनादेखि उनी कम्बोडियामा बेरोजगार छन् । न त कम्बोडियामा सागरकुमार राई उनको सम्पर्कमा छन्, न नेपालमा हरिकुमार राई नै । विभिन्न व्यक्ति र संस्थाको सहयोगमा आफूजस्तै ललाइफकाई कम्बोडिया पु¥याइएका साथीहरूसँग बस्दै आएका छन् ।

यस्तै, इटहरीका नारायण अधिकारी (३९ वर्ष) नौ महिनाअघि रोजगारीमा कम्बोडिया पुगे । त्यसअघि उनी इटहरीमै कपडा पसल गर्थे । हरिकुमारले नै मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी हुन्छ भनेपछि उनी लोभिए । कम्बोडिया जान अधिकारीले हरिकुमारलाई साढे पाँच लाख रुपैयाँ बुझाए । उनलाई पनि हरिकुमारले भिजिट भिसामा थाइल्यान्ड हुँदै कम्बोडिया पु¥याए ।

उनले पनि सुरुको पाँच महिना काम गरे, तर एक रुपैयाँ पाएनन् । तलब नै नपाएपछि उनले काम गर्न छाडे, चार महिनायता बेरोजगार छन् । न त जागिर छ, न स्वदेश फर्किन पैसा नै । अहिले आफन्तले पठाइदिएको पैसाले कम्बोडियामा बसिरहेका छन् ।

मानव तस्करको फन्दामा ३० नेपाली
मानव तस्करीमा संलग्न हरिकुमार र उनका भाइ सागरकुमारको फन्दामा परी कम्बोडिया पुगेका ३० नेपाली त्यहीँ अलपत्र छन् । तीमध्ये तीनजना महिला छन् ।

उनीहरू सबैलाई हरिकुमारले नै विभिन्न चरणमा कम्बोडिया पु¥याएका हुन् । आकर्षक रोजगारी दिलाइदिने बताउँदै राईले जनही साढे तीन लाखदेखि लिएर ६ लाख रुपैयाँसम्म असुलेको पीडित मणिकुमार बताउँछन् । उनका अनुसार कम्बोडियामा उनका भाइ भनिने सागरले नेपालबाट आएका कामदारलाई परिचालन गर्थे ।

अधिकारीका अनुसार तलब नपाएपछि नेपाली कामदार कम्पनीको मुख्यालय पुगे । तर, कम्पनीका अधिकारीले सागरकुमारले नै सबैको तलब लगिसकेको बताए । त्यसयता सागर सम्पर्कविहीन भएका छन् । उनी हराएपछि हरिकुमारको खोजी गरे । उनी पनि सम्पर्कविहीन भए । त्यसपछि मात्र सबैले आफूहरू ठगिएको थाहा पाए ।

कम्बोडिया पठाउँदा हरिकुमारले सबैको कागजपत्र पछि पठाउँछु भनेका थिए । तर, खोजी गर्दै जाँदा हरिकुमारले कुनै पनि कागजपत्र नपठाएको पत्ता लागेको पीडित बताउँछन् । सागरकुमार विभिन्न मुलुकमा दलाली गर्दै हिँड्ने व्यक्ति भएको खुलेको मणिकुमार बताउँछन् ।

पासपोर्ट पनि तस्करकै हातमा
बिरानो मुलुकमा अलपत्र सबैले संघसंस्था र आफन्तको सहयोगमा गुजारा गर्दै आएका छन् । आफू फसेको थाहा पाएपछि उनीहरूले कम्बोडियास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) गुहारे । संघले उनीहरूलाई खाना खान आर्थिक सहयोग गरिरहेको छ । यस्तै, कसैले साथीसँग त कसैले घरबाट पैसा मागेर पाँचवटा कोठा भाडामा लिएका छन् । उनीहरूमध्ये सातजनाको पासपोर्ट एजेन्टले नै लिएर बेपत्ता भएका छन् ।

उनीहरूले संघमार्फत बैंककस्थित नेपाली दूतावासलाई उद्धारका लागि अनुरोध गरे । तर, दूतावासले श्रम स्वीकृति नै नभएको बताउँदै उद्धारका लागि सहयोग गर्न नसकिने जवाफ दिएको मणिकुमार बताउँछन् । ‘दूतावासले अब तपाईंहरू घर वा साथीसँग पैसा मागेर नेपाल फर्कने प्रयास गर्नुहोस् पो भन्यो,’ उनी भन्छन् ।

स्वदेश फर्किने विकल्प नदेखेपछि स्थानीय साथीहरूको सहयोगमा उनीहरूले नोमपेनस्थित एक होटेल घेरा हालेर सागरकुमारलाई समातेका पनि थिए । उनलाई स्थानीय प्रहरीमा बुझाए । तर, प्रहरीले लामो समय थुनामा राख्न नमिल्ने बताउँदै दुई पक्षबीच सम्झौता गराएर सागरकुमारलाई छाडिदियो ।

सागरकुमारले प्रहरीका सामु आफ्नो सबै सम्पत्ति बिक्री गरी सबैको पैसा चुक्ता गर्ने र स्वदेश फर्काउने सहमति गरेका थिए । तर, प्रहरीको फन्दाबाट छुट्नासाथ उनी बेपत्ता भए ।

१० लाखसम्म ठगी
नेपालले रोजगारीका लागि कम्बोडिया खुला गरेको छैन । तर पनि मानव तस्करले प्रलोभनमा पारेर नेपालीलाई कम्बोडिया पु¥याउने गरेको गैरआवासीय नेपाली संघ, कम्बोडियाका अध्यक्ष लालसिंह खड्का बताउँछन् ।

उनका अनुसार कम्बोडिया सीमामा पु¥याएर बिजनेस भिसामा भित्र्याउँछन् । ‘कम्बोडियामा राम्रो कम्पनी छ, राम्रो आम्दानी हुन्छ भन्दै तस्करले फसाएर पठाउने गर्छन्,’ उनी भन्छन्, ‘हामीले धेरै नेपालीलाई उद्धार गरी नेपाल फकाईसक्यौँ । तर पनि आउने क्रम घटेको छैन ।’ तस्करहरूले १० लाख रुपैयाँसम्म असुलेर नेपाली कामदारलाई कम्बोडिया ल्याउने गरेको खड्का बताउँछन् ।

उनका अनुसार हाल कम्बोडियामा दुई सयजना नेपाली छन् । ‘तीमध्ये केही सुरक्षा गार्ड छन् । केहीले रेस्टुराँ चलाउँछन् । थोरै मात्र गैरसरकारी क्षेत्रमा कार्यरत छन्,’ खड्का भन्छन् ।

चार्टर्ड उडानको तयारी गर्दै एनआरएनए
खड्काका अनुसार संघले कम्बोडियामा रहेका नेपालीलाई दसैँमा स्वदेश जान चार्टर्ड उडानको तयारी गरिरहेको छ । ‘यहाँ बस्दै आएका केही नेपाली दसैँका लागि नेपाल जाने योजनामा छन् । त्यसका लागि चार्टर्ड उडानको तयारी गरिरहेका छौँ,’ उनी भन्छन्, ‘कागजपत्र मिल्यो भने सोही उडानमा अलपत्र नेपाली कामदारलाई पनि फर्काउनेछौँ ।’

अलपत्र परेकामध्ये केहीले टिकटका लागि पैसा जोहो गरेका छन् । ‘कागजपत्र नहुनेलाई पनि यहाँबाट आफ्नो मुलुक फर्कन कम्बोडिया सरकारले छुट दिएको छ । त्यसैले टिकट खरिद गर्न सक्नेलाई चार्टर्ड उडानबाट नेपाल फर्काउन सकिने आशा छ,’ उनी भन्छन् । तर, केहीसँग पासपोर्ट नै नभएकाले अप्ठ्यारो परेको उनी बताउँछन् ।