मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज २९ बिहीबार ०२:०५:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

तिहारपछि मन्त्रिपरिषद् व्यापक पुनर्गठन हुन्छ

Read Time : > 2 मिनेट
२०७७ असोज २९ बिहीबार ०२:०५:००

सुवास नेम्वाङ, संसदीय दलका उपनेता, नेकपा


स्थायी कमिटीले त सरकार पुनर्गठन गर्ने निर्णय गरेको थियो, तर प्रधानमन्त्रीज्यूले त रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्नुभयो नि ?

यो एउटा थोरै हदसम्मको पुनर्गठन हो, तर व्यापक पुनर्गठन तिहारपछि हुन्छ । नेतृत्वपंक्तिको स्रोतबाट त्यही कुरा बाहिर आएको छ । दोस्रो, स्थायी कमिटीले, केन्द्रीय सचिवालयले छलफल गर्‍यो र पछिल्लो समय दुई अध्यक्षबीच पनि व्यापक छलफल भएको छ । छलफलबाट उहाँहरूले नै अहिले थोरै परिवर्तन र तिहारपछि व्यापक परिवर्तन गर्ने निष्कर्ष निकाल्नुभएको भन्ने छ । त्यसैले अहिलेको नियुक्ति दुई अध्यक्षको छलफलको परिणाम हो । 

दुई अध्यक्षले छलफल गरेर निर्णय गर्दा पार्टीका दुई वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीलाई त मन्त्रीको नियुक्ति जानकारी नै नहुने सरप्राइजजस्तो भएन ?

मलाई त्यस्तो लाग्दैन । मैले अघि नै भनेँ– स्थायी कमिटी र सचिवालयमा छलफल भएपछि दुई अध्यक्षले निरन्तर छलफल गर्नुभयो । हामीले के बुझ्नुपर्छ भने उहाँहरूले स्थायी कमिटी र सचिवालयले म्यान्डेट दिएकै कारण छलफल गर्नुभएको हो । तपाईंहरू हाम्रो छलफल र सुझाबलाई आधार मानेर दुई अध्यक्षले टुंगोमा पुर्‍याउनुस् है भनिएको हो । उदाहरणका लागि अहिले व्यापक रूपमा पुनर्गठन गरौँ न त भन्ने कुरा पनि आएका हुन्, तर दुई अध्यक्षले धेरै छलफल गरेपछि अहिलेलाई थोरैमा सीमित रहौँ र यसबीचमा राम्रो गृहकार्य गरेर तिहारपछि व्यापक परिवर्तन गरौँला भन्ने तय भएअनुसार यो भएको हो । त्यसैले सबैको कुरा सुनेरै यो गरिएको हो भन्ने मेरो बुझाइ छ ।

अहिलेको पुनर्गठनमा त उपप्रधानमन्त्री मन्त्रालयविहीन हुनुभएको छ, उहाँ जिम्मेवारीविहीन हुनभयो भन्न मिल्छ कि मिल्दैन ?

मेरो बुझाइमा अहिले उहाँ जिम्मेवारीविहीन हुनुभएको होइन । सबभन्दा पहिलो कुरा, सरकारमा रहेका हाम्रा मन्त्रीहरूमा, हाम्रा पार्टीका नेताहरूमा उहाँ प्रधानमन्त्रीसँग सबैभन्दा नजिकका, प्रधानमन्त्रीपछिको वरिष्ठ मित्र हुनुहुन्छ । उहाँहरूको बीचमा पक्कै पनि छलफल भएको होला । दोस्रो, उपप्रधानमन्त्रीजीले पटक–पटक भनेको मैले सुनेको छु कि प्रधानमन्त्रीले अहिले सबैको भावनालाई ध्यानमा राखेर परिवर्तन गर्दै अगाडि बढ्नुपर्छ, यसमा हामी सबैको सहयोग हुन्छ । मलाई लाग्छ, यही क्रममा यो भयो । जहाँसम्म तपाईंले सोध्नुभएको कुरा छ, उहाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीले राखेर ठूलो जिम्मेवारी दिनुभएको छ । त्यो के हो भने, सरकारका सबै काम हेर्ने, सबै मन्त्रालय र मन्त्रीहरूसँग सम्बन्धित काममा प्रधानमन्त्रीलाई सहयोग गर्न त्यस्तो व्यक्ति रहँदा सहज हुन्छ भन्ने निष्कर्षमा प्रधानमन्त्री पुग्नुभयो र निर्णय गर्नुभो भन्ने मलाई लाग्छ । अर्को कुरा, जिम्मेवारी भन्ने कुरा तिहारपछि ठूलो पुनर्गठन गर्ने कुरा छँदै छ, त्यसक्रममा यसलाई फेरि मिलाउन पनि सकिन्छ । 

अहिलेको मन्त्री नियुक्तिमा पार्टीभित्रका तीन समूहको प्रतिनिधित्व देखिँदैन । पार्टीभित्र पटक–पटक शक्ति सन्तुलनको कुरा उठिरहँदा तपाईंले भनेजस्तै तिहारपछि व्यापक पुनर्गठन गर्दा सबै मिलाउने हो ? 

सुरुदेखि मेरो एउटा बुझाइ छ, दुई पार्टी एमाले र माओवादीको बीचमा हाम्रा दुई अध्यक्षहरू केपी ओली र पुष्पकमल दाहाल प्रचण्डज्यूको विशेष पहल र निर्णयमा पार्टी एकता भयो । एकतापछि एमाले र माओवादी पार्टी भनेको विगतको गर्विलो इतिहास मात्रै बन्यो । यथार्थ भनेको त नेकपा हो । अब अहिले त सबै नेकपाका नेता हुनुहुन्छ । अहिले त एउटै हिसाबले हेर्नुपर्छ र दुई अध्यक्षले पनि पर्याप्त ध्यान पुर्‍याउनुभएको छ भन्ने मलाई लाग्छ । अब जहाँसम्म समग्र देशको विचार गरेर, पार्टीभित्रका सम्पूर्ण भावनालाई ध्यानमा राखेर गर्ने कुरा छ, तिहारपछिको व्यापक पुनर्गठन गर्ने सन्देश यसैको परिणाम हो भन्ने मलाई लाग्छ । अहिले थोरै मात्र गरिँदै छ । किनभने सधैँ मन्त्रालय खाली राख्ने कुरा भएन र मन्त्रालयहरूलाई समेत समेट्दै व्यापक पुनर्गठन गर्दा पार्टीभित्र र मेची–महाकालीसम्म उठिरहेका भावनालाई पनि सम्बोधन गर्न सकिन्छ, आत्मसात् गर्न सकिन्छ भनेरै प्रधानमन्त्री र नेताहरूले यो कुरा भन्नुभएको हो भन्ने लाग्छ । त्यसक्रममा सबै कुरा समेटिन्छ भन्ने मलाई लाग्छ ।

२५ सदस्यीय क्याबिनेटमा तीनजना मात्र महिला भएकाले समावेशीको प्रश्न उठ्छ कि उठ्दैन ?

अहिले जतिसुकै धेरै चर्चा विभिन्न कोणबाट गर्दागर्दै पनि अहिले पार्टी एकीकरणको अभियानमा छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ । तर, त्यति गर्दागर्दै पनि हामीले जुन कुराका लागि लड्यौँ र जसलाई हामीले संविधानमा स्थापित गर्‍यौँ र समावेशिताका सन्दर्भमा एउटा ऐतिहासिक उपलब्धि नै हासिल गरेका छौँ । हामीले समावेशितामा आधारित संविधान बनाएर कार्यान्वयनको चरणमा छौँ । यस्तो अवस्थामा हामीले महिलालगायत सबै ढंगले समावेशितालाई ध्यानमा राख्नैपर्छ । यो हाम्रो पार्टीले, सरकारले, हाम्रा नेताले सदासर्वदा ध्यान पुर्‍याउनुभएको छ, तर ध्यान पुर्‍याउँदा–पुर्‍याउँदै पनि यसमा कमजोरी रहेका छन्, अब व्यापक पुनर्गठन गर्दा त्यसतर्फ ध्यान दिइन्छ भन्ने मेरो विश्वास छ ।