
सामसङ ग्यालेक्सी जेड फोल्ड२ का लागि प्रि–बुकिङ खुलेको छ । अनलाइन बजार स्मार्ट डोकोमा यसको प्रि–बुकिङ खुलेको हो । यो स्मार्ट फोन प्रि–बुकिङ गर्दा २० हजार रुपैयाँ मूल्य पर्ने सामसङ ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाइने र ग्राहकले एकपटकका लागि १२ महिनाको ब्रेकेज बिमा पनि प्राप्त गर्ने जनाइएको छ ।
२ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको यो स्मार्ट फोन प्रि–बुकिङका लागि ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने जनाइएको छ । बाँकी रकम ह्यान्डसेट प्राप्त गरेपछि भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।
आइएमएस ग्रुपका अध्यक्ष तथा सिइओ दिकेश मल्होत्राले अघिल्लो समयमा सामसङका फोल्डिङ फोनहरू नेपालमा नभित्रिए पनि अहिले नेपालमै पहिलोपटक यो स्मार्ट फोन स्मार्ट डोकोबाट प्रि–बुकिङ गराउन सफल भएको बताए । यो फोन राम्रो र अपग्रेड भर्सनका साथ नेपाली बजारमा ल्याउने उनको दाबी थियो ।
यस स्मार्ट फोनमा ग्लास स्क्रिन राखिएको छ, जसमा किताबजस्तै फोल्ड गर्न मिल्ने र ह्यान्ड्स फ्री क्यामेरा रहेकाले हात वेभ गर्दा सुट हुनेजस्ता विशेषता रहेको जनाइएको छ । स्मार्ट डोकोबाट प्रि–बुकिङ २८ असोजसम्म खुला रहने र बुकिङ भएको स्मार्ट फोन नेपालभरि निःशुल्क डेलिभरी गर्ने कम्पनीले जनाएको छ ।