१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असार २८ आइतबार ०६:२६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोना परीक्षण घटाएर १३ करोडमा नयाँ परीक्षण उपकरण खरिद

Read Time : > 2 मिनेट
२०७७ असार २८ आइतबार ०६:२६:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दर घटाएर १३ करोड रुपैयाँमा स्वास्थ्य परीक्षण उपकरण खरिद गरेको छ । स्वास्थ्य सेवा व्यवस्थापन महाशाखाका अनुसार दुई करोडको पिसिआर परीक्षण गर्ने अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन सातवटा र १० करोड ९९ लाख रुपैयाँको सो मेसिनलाई मिल्ने पाँच लाख किट खरिद गरिएको हो । उपकरण भन्सार कार्यालयमा आइपुगेको र केही दिनमा सम्बन्धित ठाउँमा पठाउने तयारी भएको व्यवस्थापन महाशाखाले जनाएको छ ।

‘उपकरण मात्रै खरिद गरेर के परीक्षण गर्ने हो ? हामी आफैँ आश्चर्यमा परेका छौँ,’ स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले भने । स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका अनुसार चीनको मेन्जिङजोङ्के बायोमेडिकलले यो आरएनए एक्स्ट्राक्सन मेसिन उत्पादन गरेको हो । मेसिन मेड्ट्रोनिक्स नेपाल प्रालिले खरिदको जिम्मा पाएको थियो । यो मेसिनले एक घन्टाभित्र ९६ नमुना परीक्षण गर्ने अधिकारीहरूले बताएका छन् । यसअघि आरएनए एक्स्ट्राक्सन गर्न चारदेखि पाँच घन्टासम्म समय लाग्ने भएकाले परीक्षणमा ज्यादै ढिला भएको भन्दै नयाँ मेसिन खरिद गरेको मन्त्रालयले जनाएको छ । 

सरकारले खरिद गरेको सात मेसिन विभिन्न जिल्लामा पठाइने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार ती मेसिन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नारायणी अस्पताल वीरगन्ज, प्रादेशिक प्रयोगशाला पोखरा, भेरी अस्पताल नेपालगन्ज, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत, प्रादेशिक प्रयोगशाला धनगढीमा एक/एकवटा र एउटा केन्द्रमा रहनेछ । 

थप तीन कोरोना संक्रमितको मृत्यु

मन्त्रालयले १५ असारदेखि दैनिक १० हजार नमुना परीक्षण गर्ने घोषणा गरेको थियो । तर, एक दिन सात हजारभन्दा बढी नमुना परीक्षण गरिएको छैन । परीक्षणको दर बढाउने नाममा स्वास्थ्य उपकरण खरिद गरे पनि दैनिक नमुना संकलन र प्रयोगशाला परीक्षण अनपेक्षित रूपमा घटाइएको छ । स्वास्थ्य मन्त्रालयले दुई दिनदेखि दैनिक प्रयोगशाला परीक्षणको सूचीसमेत हटाएको छ । परीक्षण दर ह्वात्तै घटाए पनि संक्रमितको मृत्युदर बढेको छ । २४ घन्टामा तीनजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो मृत्यु हालसम्मकै दैनिक सर्वाधिक संख्या हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । 

शनिबार कोरोना संक्रमणबाट काठमाडौंका दुई र सिन्धुपाल्चोकका एकजनाको मृत्यु भएको मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । काठमाडौं–१० शंखमूलका ६० वर्षीय पुरुष र काठमाडौं गोकर्णेश्वर–४ घर भएका ५४ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुवैजना मिर्गौला रोगबाट बिरामी थिए । त्यस्तै, सिन्धुपाल्चोक पाँचपोखरी–६ का ४५ वर्षीय पुरुषको पनि उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल मुलुकभर २५ कोभिड प्रयोगशालामध्ये शुक्रबार १५ प्रयोगशाला मात्रै सञ्चालनमा देखिएका छन् । पछिल्लो समय परीक्षण लुकाउन मन्त्रालयले कुन प्रयोगशालामा कति परीक्षण भयो भन्ने तथ्यांक सार्वजनिक गर्न छाडेको छ ।

विगतमा दैनिक २० हजार नमुना थुप्रिएको अवस्थामा २० वटा प्रयोगशालाले परीक्षण गरेका थिए । तर, अहिले नमुना नभएर कर्मचारीले काम नपाएका वेला ठूला पिसिआर मेसिनको संख्या २५ पुर्‍याइएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट नेपालीहरू नल्याएमा आगामी केही दिनभित्रमा नेपालको कोरोना संक्रमण शून्यमा झर्ने बताएका छन् । हालसम्म समुदायमा व्यापक रूपमा नफैलिएको भन्दै मन्त्रालयले सबै निकाय सचेत भएमा चाँडै दैनिक संक्रमितको संख्या शून्यमा आउने मन्त्रालयले जनाएको छ ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिको संख्या बढेसँगै संक्रमितको दर पनि बढेको थियो । तर, क्वारेन्टाइनमा बस्ने कम भएसँगै संक्रमितको दर पनि ह्वात्तै घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० असारदेखि संक्रमितको संख्या घट्दो क्रममा छ । सो दिन ६ सय २९ संक्रमित पत्ता लागेका थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबार तीन हजार ६ सय ४८ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको बताए । योसँगै कुल संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । 

मास्क नलगाउने ९६ जनालाई जरिवाना, १३ सय पाँचजनालाई कारबाही

सामान्य सावधानी नअपनाउने र मास्कसमेत नलगाउनेहरूलाई प्रहरीले कारबाही गर्न थालेको छ । मास्क र स्यानिटाइजर प्रयोग नगर्ने तथा एकअर्काबीच भौतिक दूरीसमेत नराख्दा संक्रमणको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सावधानीका लागि प्रहरीले ‘ठाउँको ठाउँ’ कारबाही गर्न थालेको हो । काठमाडौं, ललितपुर र भक्तपुरमा प्रहरीले सावधानी नअपनाउनेलाई कारबाही गर्न थालेको छ ।

शुक्रबारसम्म काठमाडौंका पाँच सय ३०, ललितपुरका दुई सय १२ र भक्तपुरमा पाँच सय ६३ जनालाई कारवाही गरिएको महानगरीय प्रहरी प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिए । प्रहरीले मास्क नलगाउने ९६ जनालाई भने एक सय रुपैयाँ जरिवाना तिराएको छ ।