१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कार्यालय सुनसान बनाएर कावासोती नगरपालिकाका पदाधिकारी र कर्मचारी एनजिओको भ्रमणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:१७:oo

पूर्वी नवलपरासीको कावासोती नगरपालिका विगत तीन दिनदेखि सुनसान छ । नगरप्रमुख विष्णु भुसाल, उपप्रमुख फूलकुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलसहित पाँचजना कर्मचारीको टोली कार्यालयमा नहुँदा कार्यालय सुनसान बनेकाे हाे । 

उनीहरू पाँच दिनको छुट्टीमा छन् । कावासोती नगरपालिकाका सूचना अधिकारी मुक्तिराम बसेलले पाँचजना कर्मचारीहरू छुट्टीमा रहेको पुष्टि गरे । उनले भने, ‘कार्यालय बन्द छैन । कार्यालय आएका सेवाग्राहीहरूलाई कार्यालयमा रहेका अन्य कर्मचारीहरूले दिन मिल्ने सेवा दिएर प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख वा उपप्रमुख आएपछि दिनुपर्ने काम थाती राखेर काम गरिएको छ ।’ 

सूचना अधिकारी मुक्तिराम बसेलले कार्यालय खुला रहेको बताए पनि कार्यालयमा आएका सेवाग्राहीहरू भने कार्यालयमा भेटिनुपर्ने पदाधिकारी र कर्मचारीहरू नभेटेर त्यसै फर्किने गरेका छन् । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत अन्य कर्मचारीसहितको टोली हेकोडेफ नेपालको आयोजनामा भएको पाँचदिने अवलोकन भ्रमणमा पूर्वी नेपाल गएका छन् । 

एकजना सेवाग्राहीले भने, ‘त्यसै पनि नगरपालिकामा आफ्नो काम परेर गएको वेला नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरुलाई भेट्नै धौधौ हुन्छ । अहिले झन् बिदा नै लिएर गएपछि कसकाे के लाग्यो र ! ’

बिदा लिएर भ्रमण गएकाबाहेक अन्य कर्मचारीहरू पनि अहिले कार्यालयमा नियमित छैनन् । कोही तालिममा गएका छन् भने कोही खाजा खाने समयभन्दा बाहेकका समयमा पनि चिया पसलहरूमा छिर्ने र चिया, चुरोट खाँदै गफिएर दिन बिताउने गरेका छन् । अर्का सेवाग्राही भन्छन्, ‘कार्यालयमा कर्मचारी नभेटिए चिया पसलतिर खोज्न जानुपर्छ । त्यहीँ गफिएर बसेका हुन्छन् ।’

नगरप्रमुख, उपप्रमुखले कार्यालयमा भन्दा कार्यक्रममा बढी समय दिने गरेका कारण कार्यालयमा नगरप्रमुख, उपप्रमुखलाई भेट्नै गाह्रो हुने गरेको सेवाग्राहीहरूले गुनासो गरे ।
 

ad
ad