Skip This
अछाम विनायकका आधाभन्दा बढी प्रतिनिधिद्वारा कांग्रेस क्षेत्रीय अधिवेशन बहिष्कार
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
२o८३ असोज १२ सोमबार २१:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाम विनायकका आधाभन्दा बढी प्रतिनिधिद्वारा कांग्रेस क्षेत्रीय अधिवेशन बहिष्कार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार २१:३९:oo

अछामको पञ्चदेवल विनायक नगरपालिकाका आधाभन्दा बढी कांग्रेस प्रतिनिधिले क्षेत्रीय अधिवेशन बहिष्कार गरेका छन् । पार्टीले नगर कार्यसमितिको टुंगो नै नलगाएर अघि बढेको भन्दै उनीहरूले क्षेत्रीय अधिवेशन बहिष्कार गरेका हुन् ।

कांग्रेस प्रदेश शिक्षा विभाग सदस्य तथा नगर उपप्रमुख हर्कबहादुर रावलका अनुसार पञ्चदेवल विनायक नगरपालिकाबाट प्रतिनिधित्व गर्ने जम्मा ३१२ क्षेत्रीय प्रतिनिधिमध्ये १३० बढीले क्षेत्रीय अधिवेशन बहिष्कार गरेका हुन्। जसमा उपप्रमुख रावलसहित कांग्रेस नगर सभापति पदका दाबेदार कमल रावल, बलरामबहादुर विष्ट र प्रजापति जैसीलगायत रहेका छन्।

विष्ट वर्तमान नगर कार्यसमितिका उपसभापति हुन् भने जैसी नगरका सचिव र रावल नगर कार्यसमितिका सदस्य तथा वडा नम्बर ६ का वडाध्यक्ष हुन्। उनीहरू तीनैजनालाई पार्टी नेतृत्वले छुट्टाछुट्टै छलफल गरेको भए पनि सहमति गराउन सकेको थिएन। त्यसपछि निर्वाचन प्रक्रियामा अघि बढ्न माग गरेपछि आफूहरूको कुरालाई बेवास्ता गरेर कुनै प्रक्रियामा नै नगएर नगर कार्यसमितिलाई अन्योलमा पारिएको रावलले बताए।

नगर कार्यसमितिकै टुंगो नलागेर आफूहरूले पार्टीको १५ औँ महाधिवेशनअन्तर्गतका कुनै पनि प्रक्रियामा भाग नलिने अडानका साथ क्षेत्रीय अधिवेशनसमेत बहिष्कार गरेको उनले बताए।

निर्वाचन प्रक्रियाका लागि खटाइएका निर्वाचन अधिकृत भीमबहादुर नेपालीले समेत सहमति हुन नसकेपछि चुनावी प्रक्रियामा जानुपर्ने भए पनि उनीसमेत निष्क्रिय अवस्थामा बसेको उनीहरूको आरोप छ। सहमति नहुँदा निर्वाचन गराउनुपर्ने भए पनि नेपालीले चुनाबी प्रक्रियामा कुनै चासो नदिएको रावलले बताए।

अब तत्काल यसबारे पार्टीले पहल नगरे आफूहरू विद्रोहमा उत्रिने तयारी गरिरहेको उनीहरूले बताएका छन्। यसअघि नेपाली कांग्रेसले अछाम क्षेत्र नम्बर २ मा वडादेखि क्षेत्रसम्म सबै पदमा सहमति गराउने उद्देश्यले सहमहामन्त्री अम्बिका चलाउनेको संयोजत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो।

चलाउने पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुखसमेत हुन्। उनले आफ्नै पालिकामा सहमति गराउन नसकेको तथा कुनै समन्वयविना नै अघि बढेको भन्दै विनायक क्षेत्रका कांग्रेस प्रतिनिधिहरू आक्रोशित बनेका छन्।

मेयर चलाउनेको नगरको वडा नम्बर ६ र ७ का सबै तथा अन्य वडाका केही क्षेत्रीय प्रतिनिधिहरू एकजुट भएर यसबारे आन्तरिक छलफलमा छन्।

आफ्नै वडाको व्यक्तिलाई नगर सभापति बनाउने उद्देश्यले सहमहामन्त्री चलाउनेले यस्तो गरेको आशय प्रकट गर्दै रावलले चलाउनेले आफूहरूको मान्छे नै नगनेर ‘इग्नोर’ गरेको बताए । अब यस्तै तरिकाले पेलेर अघि बढे आफूहरू अन्य राजनीतक विकल्पतिर लाग्नुपर्ने सम्भावना देखिएको उनले बताए।

↑