पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘पक्राउ’ प्रकरणमा सर्वाेच्च अदालतले आफ्नो धारणा सार्वजनिक गरेको छ। सर्वाेच्चको सोमबार बसेको पूर्ण बैठकले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यस्ता घटनामा स्वेच्छाचारिताको प्रचुरता हुने र त्यो स्वीकार नहुने सर्वाेच्चको प्रतिक्रिया छ। साथै, कानुनी प्रक्रिया पूरा नगरी गरिएको नियन्त्रणको घटनालाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने टिप्पणीसमेत सर्वाेच्चको छ।
अध्ययन बिदापछि सेवामा नफर्कने त्रिविका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ । त्रिवि रजिस्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा केसबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर भइसकेको छ ।
त्रिविले अध्ययन बिदापछि सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट रकम असुलउपर गर्ने तथा अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जानासमेत जोडेर रकम असुल गर्ने प्रक्रिया अघि बढाइएको जनाएको हो ।
सिमलतालमा ७० मिटर सडक भासियो, नारायणगढ–मुग्लिन सडक एकतर्फी
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल क्षेत्रमा करिब ७० मिटर सडक भासिएपछि सवारी आवागमन एकतर्फी भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार सोमबार साँझ भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल क्षेत्रमा करिब ७० मिटर लम्बाइको सडक भाग भासिएको हो।
सडक भासिएपछि उक्त स्थानमा दुवैतर्फ एकैपटक सवारी सञ्चालन हुन नसक्ने अवस्था बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। हाल सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको छ।
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
गृह मन्त्रालयले एक सय कर्मचारीको सरुवा गरेको छ। नायब सुब्बा तहका कर्मचारीको व्यापक हेरफेर भएको हो।
लामो समय एउटै कार्यालयमा बसेका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ।
गृहमन्त्रीसँग ‘कनेक्सन’ छ भन्दै संवाद गरेकाे अडियाे बाहिरिएपछि एक पक्राउ, पुरानै ६ वटा मुद्दा भेटियो
गृहमन्त्रीको सचिवालयसम्म कनेक्सन छ भनी अडियो संवाद गर्ने व्यक्ति पक्राउ परेका छन्। बाँकेको नेपालगन्ज उपमहानगरपलिका–४ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने ३७ वर्षीय आशिष मल्ल भन्ने धर्मराज मल्ल सोमबार पक्राउ परेका हुन्।
सामाजिक सञ्जालमा गृहमन्त्रीसम्म पहुँच भएको भन्ने अडियो सार्वजनिक भएपछि सोधपुछ गर्न खोज्दा मल्लले प्रहरी टोलीलाई नै गाली गलौज गर्दै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।
खाद्य अनुसन्धान अधिकृत अधिकारीसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चारजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। चिनियाँ नाकामा रोकिएको सामान आयातको अनुमति दिन सहजीकरण गर्ने बाहानामा सेवाग्राहीसँग घुस मागेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार आरोपपत्र दायर गरेको हो।
नयाँ पत्रिका समाचार प्रभाव : राजस्व चुहावट गर्ने दमकका मेयरविरुद्ध अख्तियारले थाल्यो छानबिन
तोकआदेशको भरमा नगरपालिकाको राजस्व चुहावट गर्ने दमक नगरपालिकाका प्रमुख रामकुमार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।
आयोगको इटहरी कार्यालयले नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारलाई उजुरीको रूपमा दर्ता गरेर छानबिन प्रक्रिया सुरु गरेको हो । आइतबार नयाँ पत्रिका दैनिक र नयाँ पत्रिकाको अनलाइन संस्करणमा ‘मेयरको तोकआदेशमा दमक नगरपालिकाको राजस्व चुहावट’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । अख्तियार इटहरी स्रोतका अनुसार उक्त समाचारलाई उजुरीको रूपमा दर्ता गरिएको हो । अब छानबिन प्रक्रिया अघि बढ्ने अख्तियार इटहरी स्रोतले जनाएको छ ।
मौसम खुलेपछि चामेवासी घर फर्किए, ब्लास्ट गरेर मर्स्याङ्दी नदी खोल्ने तयारी
स्थानीय खोलामा बाढी आउनुका साथै मर्स्याङ्दी नदी थुनिएपछि जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका मनाङको चामेका बासिन्दा मौसम खुलेसँगै घर फर्किएका छन्।
आइतबार ठाडो र घट्टे खोलामा आएको बाढीले घर, पुल तथा सडकमा क्षति पुर्याएको थियो। साँझ ठाडो खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी थुनिएपछि चामेवासी थप त्रसित बनेका थिए।
शवदाह गृहमा पनि पालिकाको सीमा, अर्को पालिकाका शव जलाउन रोक
मधेश प्रदेश सरकारको बजेटबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १२ मा निर्माण गरिएको व्यवस्थित शवदाह गृहमा अर्को पालिकाबाट ल्याइएका शव जलाउन रोक लगाइएको छ।
वडा नम्बर १२ का वडाध्यक्ष चन्द्र मुखियाले सूचना जारी गर्दै नगरपालिका क्षेत्रबाहिरका शव उक्त शवदाह गृहमा जलाउन निषेध गरेका हुन्। सूचनामा नगरपालिका क्षेत्रभन्दा बाहिरका कुनै पनि शव जलाउन ‘सख्त मनाही’ गरिएको उल्लेख छ। निर्देशन बेवास्ता गरी बाहिरबाट ल्याइएको शव जलाएको पाइए कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो। यद्यपि, उनलाई पक्राउ गर्नुको कारणबारे ब्युरोले तत्काल कुनै जानकारी सार्वजनिक गरेको छैन।