Skip This
चार सय छात्रालाई आत्मरक्षा तालिम दिँदै काठमाडौं महानगरपालिका 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
२o८३ असोज १२ सोमबार २२:५२:oo
Read Time : < 1 मिनेट
समाचार

चार सय छात्रालाई आत्मरक्षा तालिम दिँदै काठमाडौं महानगरपालिका 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार २२:५२:oo

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयको कक्षा नाैमा अध्ययनरत चार सयजना छात्रालाई आत्मरक्षासम्बन्धी तालिम दिने भएको छ । छात्राहरूलाई हिंसा बुझ्न सक्ने बनाएर हिंसामा परेका वेला आफूलाई घटनाबाट बचाउन सक्ने बनाउनु तालिमको प्रमुख उद्देश्य भएको महानगरले जनाएको छ । यो तालिम दुई दिनको हुनेछ । 

महानगरपालिकाभित्रका १० वटा विद्यालयमा यो तालिम चल्नेछ । हरेक विद्यालयबाट ४० जना छात्रा तालिममा सहभागी हुनेछन्। 

परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीका अनुसार शिवपुरी, जनकल्याण, रत्नराज्य, विश्वनिकेतन, ज्ञानोदय, जनपथ, जनजागृति ज्ञान रश्मि, तरुण, कन्या र पद्मकन्या विद्याश्रम माविमा तालिम सञ्चालन हुनेछ । 

नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट एसाेसिएनका प्रमुख प्रशिक्षक सञ्जु महर्जनका अनुसार हिंसा के हो भन्ने बुझ्न सक्ने बनाउनु नै यसको मुख्य लक्ष्य हो । यसमा गलत नियतले छोएको, गलत नियतले हेरेको पहिचान गर्न सिकाइन्छ । यस्तै यस्ता गलत नियत भएका व्यक्तिहरूको आक्रमणबाट आफ्नै हात र खुट्टाको प्रयोग गरेर कसरी बच्ने भन्ने सिप सिकाइन्छ । यसमा सैद्धान्तिक कुरा कम र प्रयोगात्मक सिप धेरै सिकाइन्छ । 

पहिलो चरणमा चार सयजनालाई दिइने र कार्यक्रमको प्रभावकारिता मूल्यांकन गरेर क्रमशः सबै विद्यार्थीलाई तालिम प्रदान गरिने महाशाखा प्रमुख सुवेदी बताउँछन् । 
 

↑