ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि पुनः हवाई उडान सुरु भएको छ। सोमबार नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले काठमाडौं–ताप्लेजुङ उडान गरेको हो।
मौसममा सुधार आएपछि निगमले सुकेटार विमानस्थलमा उडान सुरु गरेको हो। सोमबार काठमाडौंबाट ११ जना यात्रु लिएर आएको ट्विनअटर जहाजले सुकेटारबाट चारजना यात्रु लिएर काठमाडौं फर्किएको थियो।
वर्षासँगै मौसम प्रतिकूल भएपछि गत जेठ २२ गतेदेखि सुकेटारमा नियमित उडान हुन सकेको थिएन । निगमको उडान–तालिका रहे पनि प्रतिकूल मौसमका कारण पटक–पटक उडान रद्द हुँदै आएको थियो । टिकट लिएर विमानस्थल पुगेका यात्रुसमेत उडान नहुँदा फर्किनुपर्ने अवस्था थियो ।
सोमबारदेखि उडान पुनः सुरु भएपछि यात्रुमा नियमित सेवा सञ्चालन हुने आशा पलाएको छ। दसैँ, तिहारलगायत चाडपर्व नजिकिँदै गएको र पर्यटकीय मौसमसमेत सुरु भएकाले नियमित उडान भए यात्रुलाई थप सहज हुने अपेक्षा गरिएको छ।
मौसममा सुधार कायम रहे नियमित उडान सञ्चालन हुने नेपाल वायुसेवा निगम, ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले बताए । उनका अनुसार मौसम प्रतिकूल भएकै कारण लामो समयदेखि सुकेटारमा उडान हुन सकेको थिएन।
सुकेटार विमानस्थलबाट हाल नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्दै आएको छ । निगमले काठमाडौं–ताप्लेजुङ र ताप्लेजुङ–काठमाडौंका लागि यात्रु भाडादरसमेत निर्धारण गरेको जनाएको छ।