मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १२ शुक्रबार o९:४o:oo
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

जलवायुविद् तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. सुदीप ठकुरीलाई ३ प्रश्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार o९:४o:oo

भोटेकोशीमा बुधबार आएको बाढीपछिको विनाश हेर्दा के देखिन्छ ?
बुधबारको बाढीले प्राकृतिक प्रकोपसित जुध्न हाम्रो कुनै तयारी रहेनछ भन्ने देखायो । विपत्बाट जोगिने पूर्वाधार र पूर्वतयारीको कमी प्रस्ट देखियो । हामी जहिल्यै घटना भइसकेपछि ‘रियाक्टिभ’ हुने गरेका छौँ । यसपटक पनि त्यस्तै देखियो । जोखिम भएको स्थानमा पूर्वसूचना प्रणाली मात्र स्थापित गर्न सकेको भए पनि मानवीय क्षति धेरै कम हुन सक्थ्यो । भौगर्भिक हिसाबले पनि हाम्रो देश प्राकृतिक प्रकोपबाट जहिल्यै जोखिममा छ । त्यसैले, हामी जहिल्यै पूर्वतयारीमा बस्नुपर्ने हो । तर, हामी यहीँनिर चुकिरहेका छौँ । यसलाई बुधबारको बाढीले पनि प्रस्टै देखाइदिएको छ ।

जलवायु परिवर्तनको प्रभावबाट हामी कति जोखिममा रहेछौँ ?
हामीकहाँ योजनाविनै जथाभावी बस्ती बसाइएको छ । खोलाकिनारामा बस्ती बसेको छ । सडक विनायोजना जथाभावी खनिएका छन् । स्थानीय आवश्यकता हेरेर भन्दा पनि भोटबैंक हेरेर सडक खनिएका छन् । भौगर्भिक हिसाबले त हामी यसै पनि जोखिममै छौँ । हामीकहाँ १५ सयभन्दा बढी ताल छन् । ती ताल कुनै पनि वेला फुट्न सक्छन् । भिरालो पहाडका कारण हिमपहिरो र हिमताल विस्फोटको जोखिम अत्यधिक छ । तिब्बत क्षेत्रमा पनि दुई सयभन्दा बढी ताल जोखिमपूर्ण अवस्थामा छन् । हामीले जोखिमको पूर्वानुमान गरी नक्सांकन पनि गरेका छैनौँ । बस्ती खोलाकिनारामै छ । त्यसैले, हामी जलवायु परिवर्तनको प्रभावबाट पनि निकै जोखिममा छौँ ।

भविष्यमा यस्तै प्रकृतिको प्रकोपबाट जोगिन के गर्नुपर्ला ?
बस्ती कहाँ र कसरी बसाउने भनेर हामी स्वयं सचेत हुनुपर्छ । सरकारले समग्र योजना र नीति बनाउने भए पनि यसमा व्यक्ति स्वयं जागरुक हुनुपर्छ । बुधबारको जस्तो विनाशकारी विपत्ति कुनै पनि समयमा दोहोरिन सक्छ । प्राकृतिक प्रकोपको सम्भावना टरेकोभन्दा पनि बढेको स्थिति छ । बसिसकेका जोखिमपूर्ण बस्तीमा कम्तीमा पूर्वसूचना प्रणाली जडान गरिनुपर्छ । सही समयमा जोखिमको सूचना र सचेतनामूलक जानकारीले पनि क्षति कम गर्न सघाउँछ ।