मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
शिवहरि घिमिरे काठमाडाैं
२o८३ भदौ १२ शुक्रबार o९:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शव व्यवस्थापनमै समस्या, अस्थायी शवगृह बनाइँदै

भोटेकोशी बाढीमा परी घाइते भएकाको संख्या अस्पतालमा थपिँदै, अधिकांशको टाउकोमा चोट 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार o९:१५:oo

भोटेकोशी र त्रिशूली बाढीमा परेका ३८९ जनाको शव भेटिएको छ । तर, अस्पतालहरूमा शव व्यवस्थापन नै जटिल बनेको छ । शवगृह अभाव भएपछि अस्थायी शवगृह बनाउने तयारीमा सरकार छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार साँझसम्म ३८९ शव भेटिएको र ती शव नुवाकोट, चितवन, धादिङ, काठमाडौं, पोखरालगायतका अस्पतालमा राखिएको बताए । तर, त्यहाँका शवगृहको क्षमता सीमित भएकाले अस्थायी शवगृह बनाउन लागिएको उनको भनाइ छ । 

‘कतिपय शव चिन्न नसकिने अवस्थामा छन्, पहिचान गरेर परिवारलाई बुझाउन समय लाग्न सक्छ । शव भेटिने क्रम पनि जारी छ । भएका शवगृहमा नअटाउने भएपछि अस्थायी रूपमा शवगृह बनाउँदै छौँ,’ सहप्रवक्ता अधिकारीले भने, ‘प्रक्रियाबाट शव व्यवस्थापन गर्दै जान समय लाग्छ । कति शव भेटिने हुन् ठेगान छैन, तर बेपत्ताहरूको संख्या आश्चर्यजनक छ ।’ 

चितवन र त्रिशूली अस्पतालमा शवगृह निर्माणको काम भइरहेको सहप्रवक्ता अधिकारीको भनाइ छ । उनका अनुसार उपत्यकाभित्रका तीन जिल्ला, धादिङ, नुवाकोट, चितवन, पोखरा, बुटवलसम्मका अस्पतालमा गरी करिब चार सय शव अट्ने ठाउँ छ ।

बेपत्ताहरूको खोजीसँगै अस्पतालमा घाइतेको संख्या पनि बढिरहेको छ । सुरक्षा निकाय, प्रशासन, स्थानीय तथा उद्धार टोलीले उनीहरूलाई घटनास्थलबाट उद्धार गरेर अस्पतालसम्म पुर्‍याइरहेका छन् । बुधबार र बिहीबार गरी १५६ घाइतेलाई विभिन्न अस्पतालमा पुर्‍याइएको छ । विभिन्न अस्पतालमा १५६ घाइतेलाई उपचारको लागि ल्याइएको छ । 

वीरमा तीन, टिचिङमा ३६, ट्रमा सेन्टरमा २९, नर्भिकमा तीन र वीरेन्द्र सैनिक अस्पतालमा तीन घाइतेलाई ल्याइएकोमा टिचिङबाट पाँचजना डिस्चार्ज भएका छन् भने एकजनाको ज्यान गएको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसयराले ६ घाइतेको आइसियूमा राखेर उपचार भइरहेको बताए । १० शव पनि टिचिङमा ल्याइएको छ, जसमध्ये एकजनाको मात्रै पहिचान खुलेको छ । त्यस्तै, पाटन र मनमोहन मेमोरियल अस्पतालमा एक–एक घाइते उपचाररत छन् । 

ट्रमामा ल्याइएकामध्ये एकजनाको आइसियूमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार उक्त संख्या शुक्रबार थप बढ्न सक्ने अनुमान गरिएको छ । ‘खोजीकार्य जारी छ, घाइतेहरू भेटिने क्रम पनि उत्तिकै छ,’ उनले भने, ‘अस्पतालमा आएकामध्ये अधिकांशको टाउकोमा चोट लागेको छ ।’ प्रभावित जिल्ला नुवाकोट र रसुवाका अस्पतालमा पनि घाइते उपचाररत छन् । नुवाकोटको त्रिशूली प्रादेशिक अस्पतालमा १७ घाइते पुर्‍याइएकामा १३ डिस्चार्ज भएका छन् । नुवाकोटकै आयुर्वेदिक अस्पतालमा १० जनाको उपचार जारी छ । त्यस्तै, रसुवा जिल्ला अस्पतालमा ५३ उपचारमध्ये १३ डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयले वीर र ट्रमा सेन्टरमा डेडिकेटेड एक सय बेड तयारी अवस्थामा राखेका थिए । तर, यहाँ जम्मा १० घाइते मात्रै ल्याइए भने त्रिवि शिक्षण अस्पतालमा ३१ घाइते ल्याइएका छन् । नर्भिक अस्पतालमा दुई, सैनिक अस्पतालमा एक घाइतेको उपचार जारी छ । बाढीमा परेका अधिकांश पुरिएको र उद्धारमा कठिनाइ भएकाले अस्पतालमा घाइते कम भएको अनुमान छ ।