नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध गराएको घोषणा गरेको छ । नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई दुई दिनका लागि अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जिबी डाटा तथा ५० एसएमएस निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो ।
टेलिकमले रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट लगायतका प्रभावित क्षेत्र तथा पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी र मुग्लिन–नारायणगढ सडक खण्ड आसपासका बासिन्दाहरूको शीघ्र उद्धार तथा सहज सञ्चार सुविधाका लागि यो सेवा उपलब्ध गराएको हो ।
टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर जानकारी गराइरहेको छ । त्यस्तै, एनसेलले पनि बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि डेटा र भ्वाइस सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ । कम्पनीले तीन दिनको समयावधि रहने १०० वटा एसएमएससमेत निःशुल्क उपलब्ध गराइने बताएको छ ।
बाढी प्रभावित क्षेत्रका बासिन्दा तथा त्यहाँ रहेका सर्वसाधारणलाई परिवार, आफन्त तथा उद्धार टोलीसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुर्याउने उद्देश्यले निःशुल्क डेटा, भ्वाइस र एसएमएस सेवा उपलब्ध गराउन लागिएको एनसेलले जनाएको छ ।