मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
कमलराज भट्ट काठमाडाैं
२o८३ भदौ १२ शुक्रबार १o:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विपत्ति सामना गर्न दलहरूको साझा संकल्प

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार १o:३o:oo

संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न विपत्तिको सामना गर्न साझा संकल्प गरेका छन् । विपत्को यस कठिन घडीलाई राष्ट्रिय एकताको परीक्षाका रूपमा व्याख्या गर्दै दलहरूले दलगत मतभेदभन्दा माथि उठेर नागरिकको जीवनरक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार बसेको सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिको सामना गर्न १० बुँदे साझा संकल्प गरेको हो । बैठकपछि सार्वजनिक गरिएको साझा संकल्पमा उद्धार तथा राहतमा राजनीतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता–कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने उल्लेख छ ।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको बैठकमार्फत उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय पनि गरेका छन् । साझा संकल्पको १०औँ बुँदामा ‘विपत्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, जोखिम न्यूनीकरण तथा राष्ट्रिय विपत् नीतिमा सुधारका लागि संसदीय समिति गठन गरी सरकारका कामकारबाहीको निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्ने’ भनिएको छ ।

साझा संकल्पमा रास्वपा सभापति लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका ध्रुव राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका महासचिव चन्दन सिंहले हस्ताक्षर गरेका छन् ।

आर्थिक सहयोगमा एकद्वार प्रणाली अपनाउँदै दलगत वा व्यक्तिगत रूपमा मनपरी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खातामार्फत मात्र जम्मा गर्न आह्वान गर्ने संकल्प छ । सामाजिक सञ्जालमा भ्रामक सूचना, अतिरञ्जित सामग्री तथा प्रभावितको गोपनीयता र आत्मसम्मानमा असर पार्ने सामग्री प्रसारण नगरी आधिकारिक रूपमा प्रमाणित सूचना मात्र सम्प्रेषण गर्ने संकल्प दलहरूले गरेका छन् ।

दलहरूको संकल्पमा नेपालका जोखिमपूर्ण हिमतालको तत्काल वैज्ञानिक अध्ययन तथा नक्सांकन गर्ने र चीनतर्फका जोखिमपूर्ण हिमतालको अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने भनिएको छ । यसैगरी, विपत् कूटनीतिअन्तर्गत सीमापार नदी प्रणालीलाई ध्यानमा राख्दै नेपाल–चीनबिच वास्तविक समयको तथ्यांक आदानप्रदान तथा भरपर्दो पूर्वसूचना प्रणालीलाई संस्थागत र प्रविधिमैत्री बनाउने संकल्प छ ।