नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व तिब्बती भूभागमा हिमचट्टान खोलामा खस्दा नेपालमा विनाशकारी बाढी आएको छ । बाढीको मुख्य कारण हिमचट्टान पहिरो देखिए पनि खोला थुनिएर ताल बनेको थियो कि थिएन र पहिरोको कारण के थियो भन्ने अझै यकिन भएको छैन ।
चट्टानसहितको पहिरो ल्हेन्दे खोलामा खसेपछि आएको गेग्य्रानसहितको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठुलो क्षति पुर्याएको छ । भोटेकोशीको सहायक नदी ल्हेन्देमा गत वर्ष २४ असारमा पनि भीषण बाढी आएको थियो, जुन हिमतालको पानी छचल्किएर खोलामा मिसिँदा घटना भएको थियो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद् प्रकाश पोख्रेलले स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषण गर्दा हिउँसहितको ठुलो चट्टान खोलामा खसेपछि त्यसले बाढीको रूप लिएको देखिएको बताए । ‘म्याप हेर्दा हिउँसहितको चट्टान पहिरोका रूपमा खसेको देखिन्छ,’ उनले भने, ‘स्याटेलाइट म्याप कलेक्सन भइरहेको छ । त्यसपछि मात्र खोला थुनिएको थियो कि थिएन र पहिरो कति ठुलो थियो भन्ने यकिन गर्न सकिन्छ ।’
बाढी बुधबार बिहान ८:४० देखि ९ बजेको बिचमा रसुवागढी पुगेको छुट्टाछुट्टै विवरण छन् । यही समयआसपास बिहान ८:३७ बजे गोसाइँकुण्डबाट करिब ४७ किलोमिटर उत्तर तिब्बततर्फ ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । परराष्ट्रमन्त्री शिशिर खनालले पनि भूकम्पका कारण हिमपहिरो खसेको प्रारम्भिक सूचना प्राप्त भएको बताएका थिए ।
तर, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमचट्टान खोलामा खसेको समय र खोला थुनिएको वा नथुनिएकोबारे यकिन विवरण प्राप्त नभएकाले भूकम्प नै बाढीको कारण हो भनेर अहिले नै भन्न नसकिने जनाएको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढी र भूकम्पको समय मिलाएर अध्ययन भइरहेको बताए । ‘बिहान ८:४० देखि ९ बजेको अवधिमा बाढी आएको भनिएको छ । भूकम्प र बाढीको समयलाई ट्याली गर्न खोजेका छौँ, तर सबै विवरण उपलब्ध हुन सकेको छैन,’ उनले भने ।
प्लानेट ल्याब्सका भदौ ९ र १० गतेका स्याटेलाइट तस्बिर तुलना गर्दा घटनास्थलआसपासको भू–बनोटमा छोटो अवधिमै ठुलो परिवर्तन आएको देखिएको छ । यसले सीमा क्षेत्रमा भएको हिमचट्टान पहिरो र त्यसपछि आएको गेग्य्रान बहाबलाई घटनाको सम्भावित कारणका रूपमा देखाएको छ । बाढीले ल्हेन्दे खोला, भोटेकोशी क्षेत्रको टिमुरे तथा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसमेत प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले हिमचट्टान खस्नुको कारण अझै खुल्न नसकेको बताए । ‘बाढी आएका वेला रसुवागढीमा भूकम्पको कम्पन आएको भनिएको छ । त्यो भूकम्प थियो वा ठुलो बाढीका कारण उत्पन्न कम्पन थियो, यसको विश्लेषण गर्न बाँकी छ,’ उनले भने, ‘जहाँसम्म लाग्छ, चट्टान खोलामा खसेपछि ताल बनेको हुन सक्छ ।’ उनका अनुसार पछिल्ला दिनमा नेपाल र तिब्बततर्फ उक्त क्षेत्रमा ठुलो वर्षा भएको देखिँदैन ।
जलवायुविज्ञ डा. सुदीप ठकुरीले हिउँ, चट्टान र पानीको मिश्रण ठुलो बहाबका रूपमा खोलामा खस्दा बाढी आएको हुन सक्ने बताए । ‘बाढीको प्रकृति हेर्दा हिमचट्टानले खोला ब्लक गरेको हुनुपर्छ । हिउँ पग्लिएपछि तालको रूप लिएर फुट्दा बाढी आएको हुन सक्छ,’ उनले भने ।
बाढीको तीव्रता असामान्य थियो । त्रिशूली नदीका जलमापन केन्द्रको तथ्यांकअनुसार गल्छीस्थित मापन केन्द्रमा ३० मिनेटमै नदीको सतह करिब नौ मिटर बढेको थियो । मलेखुमा पनि सोही अवधिमा पानीको सतह करिब सात मिटर बढेको मापन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा वर्षाको सम्भावना
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आगामी दुई–तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखाका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ । ती क्षेत्रमा बुधबार रातिसमेत वर्षा भएको थियो ।
वरिष्ठ मौसमविद्समेत रहेकी पोखरेलका अनुसार आगामी दुई–तीन दिनसम्म वर्षाको सम्भावना रहे पनि दिउँसोभन्दा राति वर्षा हुने सम्भावना बढी छ । यद्यपि, दिउँसो रोकिने र राति वर्षा हुने देखिन्छ । ‘दुई–तीन दिनसम्म वर्षाको सम्भावना रहेकाले खोज तथा उद्धारमा खटिएकाहरूलाई सावधानी अपनाउन अनुरोध छ । त्यस क्षेत्रका बासिन्दाले पनि सतर्कता अपनाउनुपर्ने देखिन्छ,’ उनले भनिन् ।