पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका– ३, धनसार पुलनजिक १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकर दुर्घटनापछि आगलागी भएको छ।
आज बिहान करिब ५:३० बजे अमलेखगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्यांकरमा अकस्मात् पल्टिएपछि आगो लागेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार दुर्घटनालगत्तै ट्यांकरमा आगलागी भए पनि चालक सकुशल रहेका छन्। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। दमकलको सहायताले अहिले आगो नियन्त्रणमा आएको छ ।