अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिका योजनाबद्ध आक्रमण रद्द गरिएको बताएका छन् । उनले इरान र मध्यपूर्वका अन्य देशहरूले आफूलाई आक्रमण रोक्न आग्रह गरेको र हर्मुज जलमार्ग पुनः खोल्नेलगायतका ‘सम्झौताको परिधिमा सहमति भएको’ दाबी गरेका छन् । अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमणको योजना बनाइरहेको हुन सक्ने खबर सार्वजनिक भएलगत्तै ट्रम्पको यो भनाइ आएको हो । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इजरायलको कुनै पनि आक्रमणलाई निर्णायक जवाफ दिइने चेतावनी दिएका थिए ।
आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरिएको एक पोस्टमा ट्रम्पले एउटा सम्झौताको खाकामा सहमति जुटिसकेकाले इरान र मध्यपूर्वका अन्य देशले उनलाई कुनै पनि आक्रमण नगर्न वा ‘पर्खिन’ आग्रह गरेको दाबी गरे । ट्रम्पले विनाशकारी परिणाम निम्त्याउने खालका चेतावनी दिएर पछि फेरि कूटनीतिलाई मौका दिइँदै छ भनी अडान लिएको यो पहिलोपटक होइन । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्नका लागि नयाँ वार्ताको अनुरोध गरेको वा कुनै सम्झौताको खाकासम्बन्धी सहमति भएको विषय इरानले पुष्टि गरेको छैन ।
यसैबिच इजरायली सेनाले बिहानदेखि गाजापट्टीमा तीन बालबालिकासहित कम्तीमा नौजना प्यालेस्टिनीलाई मारेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ यता गाजामा इजरायलले गरेको नरसंहारकारी युद्धमा ७३ हजार ३५६ जनाको मृत्यु भएको छ भने १,७४,१८५ जना घाइते भएका छन् ।
आइतबार, इरानका कार्यवाहक रक्षामन्त्री माजिद इब्न अल–रेजाले तेहरानले आफ्ना विरोधीहरूबाट आउने हरेक खतरालाई ‘वास्तविक र विश्वसनीय’ मानेको बताएका थिए । ‘हामी न त होसियार रहनेछौँ न त निष्क्रिय रहनेछौँ,’ उनले थपे ।