मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २१ बिहीबार
  • Thursday, 06 August, 2026
२o८३ श्रावण २१ बिहीबार o६:२o:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पहिले नै छापिएका लाइसेन्स बाँड्नेबाहेक यातायातका सबै काम २० दिनदेखि ठप्प

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २१ बिहीबार o६:२o:oo
  • परीक्षणविना नै कार्यान्वयनमा ल्याइएको ‘नयाँ प्रणाली’मा समस्या नै समस्या निम्तिएपछि देशभरका ४३ वटै यातायात कार्यालयमा सेवा अवरुद्ध, हजारौँ सेवाग्राही प्रभावित

यातायात व्यवस्था विभागले नयाँ आर्थिक वर्षसँगै कार्यान्वयनमा ल्याएको ‘नयाँ प्रणाली’मा समस्या नै समस्या देखिएपछि देशभरका ४३ वटै कार्यालयमा पहिल्यै छापिएका लाइसेन्स लिनेबाहेक सबै प्रक्रिया २० दिनदेखि ठप्प भएको छ । परीक्षणविना नै कार्यान्वयनमा ल्याइएको ‘इडिएलभिआरएस’ प्रणालीले अपेक्षाकृत काम नगरेपछि १ साउनदेखि नै हजारौँ सेवाग्राही मारमा परेका हुन् ।

यो प्रणालीमा सेवाग्राहीले लिखित परीक्षा दिने, ट्रायल दिने र लाइसेन्स बुझ्नेबाहेक सबै काम अनलाइनबाटै हुन्छ । तर, पुरानो प्रणाली विस्थापन गरेर ल्याइएको नयाँ प्रणालीले काम नै नगरेपछि नयाँ लाइसेन्सका लागि दर्तासमेत हुन नसक्दा लिखित परीक्षा र ट्रायल पनि रोकिएको छ । त्यस्तै, पुरानो लाइसेन्सको नवीकरण, वर्ग थप, प्रतिलिपि, रिट्रायल, विवरण संशोधन, स्वास्थ्य परीक्षणलगायत सबै सेवा ठप्प छ । पहिल्यै छापिएका लाइसेन्स वितरणको काम मात्रै भइरहेको छ ।

एकान्तकुना यातायात कार्यालयका सूचना अधिकारी धीरज राउत नयाँ प्रणालीमा धेरै प्राविधिक समस्या आउँदा पहिल्यै छापिएका लाइसेन्स वितरणबाहेक अन्य सेवा दिन नसकेको स्विकार्छन् । ‘नयाँ प्रणालीमा धेरै नै प्राविधिक समस्या आयो । अहिले पहिल्यै छापिएका लाइसेन्स वितरणबाहेक अन्य सेवा दिन सकेका छैनौँ,’ उनले भने, ‘राजस्व कार्यालय फरक देखाउने, ट्रायलका विवरण गलत देखाउनेलगायत समस्या आएका छन् । विभाग, प्रदेश मन्त्रालयलगायत सबै सम्बन्धित निकायमा समस्याबारे जानकारी गराएका छौँ । छिट्टै समाधान हुन्छ भन्ने आशा छ ।’

परीक्षण नै नगरी नयाँ प्रणाली कार्यान्वयनमा ल्याउँदा समस्या भएको राउतको बुझाइ छ । ‘पुरानो प्रणालीलाई कायमै राखेर, नयाँ प्रणाली एकचरण परीक्षण गरेर, त्रुटि भए सच्याएर मात्रै कार्यान्वयनमा ल्याउनुपर्थ्यो । तर, पुरानो पनि बन्द गरेर सिधै नयाँ कार्यान्वयनमा ल्याउँदा समस्या भयो,’ उनले भने, ‘हामीलाई त छिटोभन्दा छिटो सेवा दिन मन छ, तर हाम्रो हातमा केही छैन ।’

यातायात व्यवस्था कार्यालय कलंकी (ठुलो भर्‍याङ)मा पनि छापिएका लाइसेन्स वितरण र बिदेसिने सेवाग्राहीले लिने भेरिफिकेसनबाहेक सबै सेवा ठप्प छ । नयाँ प्रणालीमा अपेक्षा गरेभन्दा धेरै प्राविधिक झमेला आएको र सेवाग्राही मारमा परेको कार्यालय प्रमुख सुरेश खनालले बताए ।

‘कतिपय सेवाग्राही राजस्व तिरेर लिखित दिने तयारीमा बसेकाहरू छन्, कतिपय ट्रायलको प्रतीक्षा गरेकाहरू छन् । उनीहरूलाई डेटा ट्र्याक गरेर अगाडिको प्रक्रियामा जानुपर्नेछ, तर त्यो काम अहिलेको सिस्टमले गर्न सकेको छैन,’ उनले भने, ‘स्टेप–स्टेपमा समस्या आएको छ । ट्रायल पास भएको व्यक्तिले राजस्व तिर्छु भन्दा सिस्टमले स्वास्थ्य परीक्षण गर भनेर देखाएको छ, कतिपयलाई नयाँ फारम भर्न भनेको छ । सेवाग्राहीबाट धेरै प्रकारका गुनासा आएका छन्, जुन हामीलाई थेग्न गाह्रो भइरहेको छ ।’

डेभलपरसँग प्रत्यक्ष सम्पर्कमा रहेर समस्या समाधानको प्रयास गरिरहेको खनालले बताए । नयाँ प्रणाली प्रयोग गर्ने तरिकाबारे विभागले सार्वजनिक भिडियो बनाएर सेवाग्राहीलाई जानकारी गराउनुपर्ने उनको सुझाव छ ।

‘हामीले नै पूरै सिस्टम देखिसकेको छैन । हामीलाई पनि अलमल भइरहेको छ भने सेवाग्राहीलाई समस्या नहुने कुरै भएन । सेवाग्राहीले गुनासो गर्छन्, त्यसबारे हामीलाई नै थाहा हुँदैन । गुनासा सुनेपछि मात्रै अध्ययन गर्छौँ,’ उनले भने, ‘नयाँ प्रणालीमा सुविधा राम्रा छन्, तर त्रुटि धेरै छन् । समस्या समाधान गरेर प्रभावकारी कार्यान्वयनमा अघि बढ्नुपर्छ ।’

परीक्षण र पर्याप्त जानकारीविना ल्याइएको नयाँ प्रणालीमा सेवाग्राहीको पहुँच पनि निकै न्यून देखिएको छ । विगतको तथ्यांकलाई आधार मान्दा लाइसेन्सका लागि दैनिक १२ हजारदेखि १५ हजारसम्म सेवाग्राही आउँछन् । दैनिक तीन हजारदेखि पाँच हजारसम्म ट्रायल पास गरेर अनुमतिपत्र पाउन योग्य हुन्छन् । तर, नयाँ प्रणाली कार्यान्वयनमा आएको २० दिनमा यसमा जम्मा २१ हजार सेवाग्राही मात्रै जोडिएका छन् । प्रणालीमा जोडिएका उनीहरूको लाइसेन्स प्रक्रिया विभिन्न स्टेपमा गएर अड्किएको छ । प्रणालीले कतिपय सेवाग्राहीको राजस्व रकम कम देखाउने र एकपटक ट्रायल फेल भएकाको विवरण पनि तीनपटक देखाउने (तीनपटक ट्रायल फेल भएपछि फेरि सुरुदेखि प्रक्रिया थाल्नुपर्छ) समस्या आएका छन् । अधिकांश सेवाग्राहीको प्रक्रिया स्वास्थ्य परीक्षणमा गएर अड्किएको छ ।

‘इडिएलभिआरएस’ प्रणाली बागमती प्रदेश यातायात कार्यालयहरूमा भने यसअघि नै प्रयोगमा ल्याइएको थियो । संघीय सरकारले त्यसलाई नै परिष्कृत गरेर देशभर विस्तार गरेको हो । तर, परिष्कृत प्रणाली बागमतीका यातायात कार्यालयहरूकै कर्मचारीलाई टाउकोदुखाइ बनेको छ भने अन्यत्रको अवस्था झन् जटिल छ । कर्मचारीलाई कुनै अभिमुखीकरण नै नगरी नयाँ प्रणाली लागू गर्दा समस्या भएको हो ।

स्रोतका अनुसार नयाँ प्रणालीमा सेवाग्राहीको डेटा पनि व्यवस्थित रूपमा माइग्रेसन गरिएको छैन । नयाँ प्रणालीमा सेवाग्राहीको राष्ट्रिय परिचयपत्र वा नागरिक एप अन्तरआबद्ध गरेपछि स्वतः व्यक्तिगत विवरण आउँछन् । तर, चालकका लाइसेन्ससम्बन्धी यसअघिको विवरण भने माइग्रेसन भएको छैन ।

तर, सेवाग्राहीले मार खेपिरहँदा र यातायात कार्यालयका कर्मचारी सेवा दिन नसकेर हैरान हुँदा यातायात व्यवस्था विभाग भने सेवा नियमित रहेको दाबी गर्छ । विभागका सूचना अधिकारी केशव खतिवडा नयाँ प्रणाली चुस्त नभए पनि सेवा जारी रहेको बताउँछन् । ‘यो प्रणाली पहिला नै बागमती प्रदेशमा प्रयोगमा आइसकेको थियो । त्यसैलाई विस्तार गरेका कारण परीक्षण नगरेको हो । नयाँ सिस्टम कार्यान्वयनमा गएपछि सुरुवाती समयमा प्राविधिक समस्या आउनु स्वाभाविक हो, तत्काल समाधान गर्ने काम पनि भइरहेको छ,’ उनले भने, ‘प्रणालीमा कुनै दोष छैन । कुनै कार्यालयमा नियमित छ, कुनैमा भोलि (बिहीबार)बाट सुरु हुन्छ । सेवाग्राहीका मोबाइल नम्बर, जन्ममितिलगायत विवरण गलत हुँदा पनि समस्या भएको अवस्था छ । केही समयमै सबै ठिक हुन्छ, नयाँ सुविधा पनि थप्दै जान्छौँ ।’ खतिवडाले यस्तो दाबी गरे पनि बागमतीमै यातायात मन्त्रालयले सूचना नै निकालेर लाइसेन्स सेवा स्थगन गरेको जानकारी गराइसकेको छ ।

हाल प्रदेशमातहत रहेका सबै यातायात कार्यालयमा नयाँ प्रणाली संघीय सरकारअन्तर्गतको यातायात व्यवस्था विभागले नै बनाएर लागू गर्न भनेको हो । नयाँ प्रणाली कार्यान्वयनसँगै लाइसेन्स छाप्ने क्षेत्राधिकार पनि प्रदेशमातहत नै लगिएको छ । तर, यसका लागि उनीहरूले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गर्नुपर्छ । हालसम्म मधेश प्रदेशले मात्रै केन्द्रसँग सम्झौता गरेको छ भने अन्य प्रदेश प्रक्रियामै छन् । अब लाइसेन्स छापिएपछि यातायात व्यवस्था विभागमा नभएर प्रदेश हुँदै सम्बन्धित यातायात कार्यालयमा पुग्नेछन् ।

लाइसेन्सका लागि नयाँ प्रणालीमा के–के छन् प्रक्रिया ?
सबैभन्दा पहिला अनलाइन प्रणालीबाट सेवाग्राहीले लाइसेन्स दर्ता वा नवीकरणका लागि आवेदन दिनुपर्छ । त्यसपछि व्यक्तिगत विवरण भर्ने ठाउँ आउँछ । जसमा नागरिक एप वा राष्ट्रिय परिचयपत्रमध्ये एक छनोट गरेपछि स्वतः व्यक्तिगत विवरण आउनेछ । अब स्वास्थ्य परीक्षणको चरण प्रवेश हुन्छ जहाँ मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त सबै डाक्टरले सेवा दिन पाउँछन् । सेवाग्राहीले त्यसमा डाक्टर छनोट गरेर आँखा, रगत परीक्षण गर्न जान सक्नेछन् । उक्त स्वास्थ्य रिपोर्ट ल्याएर प्रणालीमा अपलोड गर्नुपर्छ । त्यसपछि यातायात कार्यालयले विवरण स्वीकृत गरेर लिखित परीक्षाका लागि बोलाउँछ । लिखित परीक्षामा पास भएपछि अनलाइनबाटै राजस्व तिरेर ट्रायल दिन पाइन्छ । ट्रायल पास भएपछि पनि अनलाइनबाटै राजस्व तिरेर लाइसेन्स प्राप्त गर्न सकिन्छ ।

बागमतीमा स्वास्थ्य सेवामा पनि समस्या 
बागमती प्रदेशले लाइसेन्स लिने सेवाग्राहीले गराउनुपर्ने स्वास्थ्य परीक्षण तीन वर्षका लागि निश्चित स्वास्थ्य संस्थाहरूबाट मात्रै हुने सम्झौता हालै मात्र गरेको छ । तर, अहिले नयाँ प्रणालीमा लाइसेन्सप्राप्त सबै डाक्टरबाट स्वास्थ्य परीक्षण गराउन पाइने व्यवस्था गरिएको छ । नियम नै बाझिएपछि प्रदेशसँग सम्झौता गरेका स्वास्थ्य संस्थाहरूले नयाँ प्राणालीमा राखिएको नियमविरुद्ध सर्वोच्चमा रिट हालेकामा १२ साउनमा अन्तरिम आदेश आएको छ । यसले कानुनी जटिलता निम्त्याएको छ । यो विषयमा अहिले विभाग र प्रदेश मन्त्रालयबिच समन्वय भइरहेको यातायात व्यवस्था कार्यालय कलंकी (ठुलो भर्‍याङ)का प्रमुख सुरेश खनालले बताए ।

दुःख मात्रै सुनाउँछन् सेवाग्राही
दुईपांग्रे सवारीसाधनको नयाँ लाइसेन्स बनाउने प्रक्रियामा कलंकी (ठुलो भर्‍याङ) यातायात कार्यालयमा बुधबार भेटिएका योगेन्द्र मगरले नयाँ प्रणालीले दिएको विकल्पअनुसार छनोट गरेको डाक्टरको फोन नै नलागेपछि स्वास्थ्य परीक्षणको चरणमा पुगेर रोकिएको गुनासो गरे । ‘स्वास्थ्य परीक्षणको चरणसम्म पुगेँ, तर त्यहाँ छनोट गरिएको डाक्टरको फोन नै लाग्दैन,’ उनले भने, ‘यही गुनासो लिएर यहाँ आएको, तर कुनै सुनुवाइ भएन । नयाँ सिस्टम मात्रै भन्छन्, काम भएन ।’ अर्का सेवाग्राहीले लाइसेन्स रिन्यु गर्न नपाएको गुनासो गरे । ‘यही महिनाभित्र बाइकको लाइसेन्स रिन्यु गर्नुपर्छ । यहाँ आएको, अनलाइनबाट भर भन्नुहुन्छ, तर अनलाइनबाट कामै हुँदैन,’ उनले भने, ‘समयमा नवीकरण नगरे मैले जरिवाना तिर्नुपर्छ, तर नवीकरण गर्ने प्रणाली नै चलेको छैन । यसको जिम्मा कसले लिने ?’ लाइसेन्स नवीकरणकै लागि ठुलो भर्‍याङ कार्यालयमै आएका नवि हसन मियाँले त अनलाइन प्रणालीबारे अनभिज्ञ रहेको बताए ।

त्यस्तै, एकान्तकुना कार्यालयमा भेटिएका दीप लोप्चन लामाले पनि स्वास्थ्य परीक्षणको चरणमा पुगेर रोकिनुपरेको गुनासो गरे । ‘मैले वर्ग थप गर्न लागेको हो । तर, मेडिकल परीक्षण चरणभन्दा अगाडि बढ्न सकिएन,’ उनले भने, ‘समस्या लिएर यहाँ आएको, अहिले सेवा अवरुद्ध छ भनेर फर्काइदियो ।’ सोही कार्यालयमा भेटिएका राज न्यौपानेले पनि प्रणाली अवरुद्ध भएका कारण वर्ग थप गर्न नपाएको गुनासो गरे ।

बागमतीले सूचना नै निकालेर स्थगन गर्‍यो लाइसेन्स सेवा
बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले सूचना नै प्रकाशन गरेर लाइसेन्स सेवा स्थगन गरेको छ । मन्त्रालयले ११ साउनमा सूचना प्रकाशन गरेर अर्को सूचना जारी नगरेसम्म सेवा दिन नसक्ने भनेको छ । उक्त सूचनामा सेवा प्रणाली सेवाग्राहीमैत्री र व्यवस्थित नभएको पनि जानकारी गराइएको छ ।

‘यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रणालीलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित गर्न यातायात व्यवस्था विभागबाट सञ्चालनमा ल्याउन लागिएको नयाँ प्रणाली इडिभिएलआरएस प्रणालीमा डाटाबेस माइग्रेसन तथा अन्य प्राविधिक कार्यहरू सम्पन्न हुन अझै केही समय लाग्ने देखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अतिआवश्यक सेवाहरूबाहेक अन्य सेवा स्थगन गरिएको व्यहोरा यसै सूचनाद्वारा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । सेवा सुचारु हुना साथ सार्वजनिक सूचना गरिनेछ,’ मन्त्रालयको सूचनामा उल्लेख छ । बुधबार साँझसम्म मन्त्रालयले अर्को सूचना निकालेको छैन ।

बागमती प्रदेशमातहतको एकान्तकुना यातायात कार्यालयले पनि बुधबार नयाँ सूचना जारी गर्दै सेवा स्थगन कायमै रहेको जानकारी दिएको छ । ‘यातायात व्यवस्था विभागबाट सञ्चालनमा ल्याउन लागेको नयाँ इडिभिएलआरएस केही प्राविधिक समस्याहरू आएका कारण लाइसेन्स वितरणबाहेकका सम्पूर्ण सेवाहरू अर्को सूचना नआएसम्मका लागि अवरुद्ध रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ,’ सूचनामा छ ।