एआईका बारेमा जान्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा हो, यो औजार होइन । अर्थात्, यो हाम्रो हातमा भएको औजार होइन । यो त आफ्नै ‘हात’ भएको ‘एजेन्ट (कर्ता)’ हो । त्यसो भए हामीले पहिले एजेन्ट र औजारको भिन्नता छुट्याउनुपर्ने हुन्छ ।
एजेन्टहरूसँग धेरै विशिष्ट विशेषता हुन्छन् । एजेन्टसँग चेतना हुनैपर्छ भन्ने हुँदैन, अर्थात् एजेन्टसँग चेतना नभए पनि उसलाई आफूलाई चाहिने कुरा आफैँले निर्णय लिने क्षमता, नयाँ चिज आविष्कार गर्ने क्षमता, विगतमा सिकाइएको भन्दा फरक नयाँ विचार आविष्कार गर्ने क्षमता हुन्छ । एजेन्टले आफैँले आफ्ना सिर्जनाकर्तालाई थाहा नभएका कुरा सिक्न सक्षम हुनुपर्छ । र, सिक्दै जाने क्रममा एजेन्टले स्वस्फूर्त रूपमा त्यस्ता परिवर्तन पनि गर्न सक्षम हुन्छन्, जुन यसका सिर्जनाकर्ताले समेत अनुमान गरेका हुँदैनन् ।
उदाहरणका लागि एउटा स्वचालित कफी मेसिन एजेन्ट होइन । तथापि, यसले केही काम भने स्वचालित रूपमा गर्न सक्छ । तपाईंले बटन थिचेको भरमा मेसिनले स्वचालित रूपमा तपाईंले भनेको कफी बनाउँछ । अर्थात्, हालसम्मको उन्नत कफी मेसिन उसलाई दिइएको पूर्वप्रोग्रामलाई खुरुखुरु पछ्याउँछ । भनेको भन्दा फरक उसले केही गर्दैन । न त त्यसले आफैँले केही नयाँ नै सिक्छ ? न त त्यस मेसिनले केही नयाँ नसोचेको कुरा नै सिर्जना गर्छ ?
तर, अब मानौँ भविष्यमा कफी मेसिन यस्तो बन्न सक्छ, जसको नजिक जाँदा नै तपाईंले कुनै निर्देशन दिने बटन थिच्नुअघि मेसिनले घोषणा गर्दै भनोस्, ‘म विगत केही हप्तादेखि तपाईंलाई निगरानी गरिरहेको छु । यस अवलोकन र तपाईंजस्तै अन्य व्यक्तिको समेत अवलोकनबाट मैले सिकेका तमाम सूचनाका आधारमा तपाईंको अनुहारको भाव, अहिले दिनको समयको आधारमा म भन्न सक्छु कि तपाईंलाई एस्प्रेसो चाहिएको छ । तपाईंलाई यो कफी चाहिएको भन्न अत्यधिक बढी सम्भावनाको आधारमा मैले पहिले नै तपाईंका लागि एक कप कफी बनाएको छु ।’
अब त्यो एआई कफी मेसिनमा बदलिसकेको छ । यसले आफैँले केही सिक्यो र सिकाइका आधारमा विनाकुनै निर्देशन कदम चाल्ने निर्णय गर्यो । साँच्चै एआई कफी मेसिनले सिक्दै जाँदा कुनै समय घोषणा गर्दै भन्न सक्छ, ‘मैले अब ‘बेस्ट प्रेसो’ नामक नयाँ पेय आविष्कार गरेको छु । जुन मलाई लाग्छ, तपाईंलाई एस्प्रेसोभन्दा बढी मन पर्न सक्छ । तपार्इंलाई मैले त्यसको एक कप बनाएको छु, एकपटक चाखेर हेर्नुस् त । मैले तपाईंलाई कप बनाएको छु ।’ यहाँ एआई मेसिनले उसलाई बनाउनेसमेत अनुमान नगरेको पूर्ण रूपमा नयाँ पेयको आविष्कार गर्यो ।
चेसजस्ता केही क्षेत्रमा एआई एजेन्सी र रचनात्मकतामा एआईले मानव एजेन्सी र रचनात्मकतालाई धेरै हदसम्म उछिनिसकेको छ । चेस खेल्ने एआईले कुन चाल चाल्ने भन्ने निर्णय आफैँले गर्छ र यस क्रममा उसले आफैँले एकदम नयाँ रणनीति आविष्कार गरेको पाइएको छ, जुन रणनीति हजारौँ वर्षदेखि चेस खेलिरहेका मानव चेस मास्टरको दिमागमा कहिल्यै आएकै थिएन ।
निश्चित रूपमा मानव क्षमतालाई उछिनेको एआई चेस–मास्टरले आफैँले फलाम खानी उत्खनन् सुरु गर्न सक्दैन । न त तिनले धातु कारखाना खोलेर संसार कब्जा गर्ने रोबोटसेना तयार पार्न नै सक्षम हुनेछ । वास्तवमा, मानिस निर्मित विद्युत्विना एआईले केही पनि गर्न सक्दैन । अर्थात्, मानव क्षमताभन्दा निकै चनाखो हाम्रो एआई चेसमास्टर विद्युत्विना पूर्ण रूपमा असहाय हुन्छ । यसैलाई हेरेर एआई वास्तवमा साँचो एजेन्ट(कर्ता) नभएको तर्क गरिन्छ । उनीहरू त अरूले नै निर्माण गरिदिएको साँघुरो कृत्रिम आयामभित्र सीमित कसरी कर्ता हुन सक्छन् ? प्रश्न अस्वाभाविक लाग्दैन ।
तर, यही तर्क खासमा सबै ज्ञात प्रकारका बुद्धिमत्ता जीवमा पनि लागू हुन्छ । जस्तो– हामीले जानेको सबैभन्दा बुद्धमत्तापूर्ण जीव मानवलाई नै हेरौँ । मानिस खासमा अपेक्षाकृत साँघुरो पारिस्थितिकीय प्रणालीभित्र मात्र जीवित वा सक्रिय रहन सक्छ । र, मानिस जीवित रहने जुन वातावरण पृथ्वीमा अवस्थित छ, त्यो मानिस आफैँले निर्माण गरेको होइन । जस्तो– मलाई अहिले यत्तिकै मंगल ग्रहमा लगेर एक्लै छोडिदिनु र जंगलको बिचमा एआई चेस–मास्टरलाई छोड्नु उस्तै हुन्छ, अर्थात् म मंगलग्रहमा केही सेकेन्डमै मर्नेछु । अर्थात्, म र मजस्तै मानव बुद्धिमत्ता चार अर्ब वर्षको अवधिमा यस पृथ्वी ग्रहले विकास गरेको रूखहरू, ब्याक्टेरिया, किराहरू र अन्य जीवले निर्माण गरेका धेरै, धेरै विशिष्ट पारिस्थितिकीय प्रणालीभित्र मात्र बाँच्न र सञ्चालन गर्न सक्छ ।
लगभग २.४ अर्ब वर्षपहिलेसम्म पृथ्वीको वायुमण्डलमा निकै कम अक्सिजन थियो । त्यतिवेला पृथ्वीमा रहेका जति पनि जीव वनस्पति थिए, ती अक्सिजनबिनै बाँच्न सक्ने मात्र नभई त्यति वेलाका जीवलाई अक्सिजन घातक विषबराबर थियो । तर, अचानक पृथ्वीमा ‘ग्रेट अक्सिजनेसन इभेन्ट’ घटित भयो । लाखौँ वर्ष कायम रहेको यस चरणमा अक्सिजनको घातक प्रभावका कारण असंख्य पुरातन प्रजाति लोप हुन पुगे । यद्यपि, समयक्रममा जति प्रजाति बाँच्न सफल भए तिनले नयाँ ग्यासयुक्त पर्यावरणमा अनुकूलन हुन सफल भए । र, यी बाँचेकामध्ये प्रजातिलाई पछि गएर यही अक्सिजन घातक विषबाट अस्तित्वका लागि नभई नहुने प्राणवायु बन्यो ।
तिनको अस्तित्व अक्सिजनमाथि पूर्ण रूपमा निर्भर हुन पुग्यो । हामी अझै पनि यही आफूले विकास नगरेको अक्सिजनले भरिएको वातावरणमा बस्छौँ । यस्तै यही कुरा सबै एजेन्टको हकमा लागू हुन्छ । अर्थात्, हामीले आफूवरपर देखेका सबै एजेन्ट अरू कसैले वा प्रक्रियाले बनाइदिएको पर्यावरणमा सञ्चालित हुन सक्छन् । अब माछालाई नै हेरौँ, यो जीव आफूले निर्माण नगरेको नदी र सागरमा बस्छन् । त्यसबाहिर तिनको अस्तित्व सम्भव छैन । जंगली जीव जंगलमा बस्छन्, जुन तिनले बनाएका होइनन् । मानिसलगायत सबै स्तनधारी प्राणी अक्सिजनयुक्त वातावरणमा बस्छन्, जुन उनीहरूले सिर्जना गरेका होइनन् ।
गत सहस्राब्दीमा हामी मानिसले विकास गरिरहेको एउटा वातावरण खासमा एआई फस्टाउने नयाँ कृत्रिम वातावरण बन्ने देखिन्छ । हामी मानिसले कुनै समय भाषा मुक्त रहेको यस ग्रहको वातावरणलाई भाषा ‘टोकन’, तथ्यांक र ब्युरोक्रेसी (नोकरसाही)ले भरिपूर्ण कृत्रिम वातावरणमा रूपान्तरण गरिदिएका छौँ । र, यो वातावरण अरू धेरै जीवका लागि घातक साबित हुन सक्छ, तर एआईलाई भने यही वातावरण अत्यधिक अनुकूल हुन्छ । किनभने, जसरी माछा समुद्रमा बस्छन् र जंगली जीव जंगलमा बस्छन्, एआईहरू नोकरसाहीमा बस्छन् ।
हामी मानवले निकै ठुलो स्तरमा सहकार्य गर्न सिकेर आज संसारमाथि अधिपत्य जमाउन सफल भएका हौँ । र, यति ठुलो स्तरमा सहयोग र सहकार्य कसरी हुन्छ, कहिल्यै ख्याल गर्नुभएको छ ? सामान्यतया मानव सहकार्यको समन्वय गर्न कानुनी प्रणाली वा वित्तीय प्रणाली वा धर्म वा राज्य वा विश्वविद्यालयजस्ता नोकरसाही प्रणाली निर्माण गरिएको हो । खासमा समाजका प्रतिष्ठित मानिने बैंकरहरू वा अरू नोकरसाहीहरूले दिनभर गर्ने कामको समानता ख्याल गर्नुभएको छ ? उनीहरूका बाह्य काममा भिन्नता भए पनि उनीहरूको कामको उद्देश्य खासमा मानिस–मानिसबिच विश्वास निर्माण गर्नु हुन्छ । अर्थात्, नोकरशाहको मूल उद्देश्य एक–अर्कालाई व्यक्तिगत रूपमा नचिनेका ठुलो संख्यामा अपरिचित मानिसबिच विश्वास निर्माण गर्नु हो । यसैले गर्दा ठुलो स्तरमा मानवीय सहकार्य सम्भव हुन्छ । हाम्रो प्रजातिले हासिल गरेको लगभग सबै उपलब्धिको आधार यही सहकार्य र विश्वास निर्माण हो ।
र, यही वातावरणमै एआईले एजेन्सीको शक्ति प्राप्त गरिरहेको छ । मानिसले पहिले नै सिर्जना गरेका नोकरसाही प्रणालीभित्र एआईहरू विशाल शक्ति प्रयोग गर्न तयार छन् । मानवका लागि नोकरसाहीतन्त्र सिकेको विषय थियो होला, तर एआईका लागि त यो उसको हुर्कने जमिन हो । जस्तो– कुनै पनि वकिलले एउटा देशको सबै कानुनका किताबका हरेक धारा, उपधारा सम्झन सक्दैन । तर, एआईले सक्छ । कुनै पनि मानव एकाउन्टेन्टले आफूले काम गर्ने निगम वा बैंकको सबै लेनदेन सम्झन सक्दैन । तर, एआईले सक्छ । कुनै पनि धर्म गुरुले आफ्नो धर्मशास्त्रका सबै ग्रन्थ सम्झन सक्दैन । एआईले त्यो सजिलै गर्न सक्छ ।
त्यसैले, आगामी दिनमा लाखौँ एआई नोकरशाह (ब्युरोक्रेट्स)ले विश्वको नोकरसाही प्रणालीलाई कब्जा गर्दै जानेछ । यसले गर्दा हाम्रो जीवनसम्बन्धी निर्णय बिस्तारै एआईको हातमा सर्दै जानेछ । अर्थात्, अब कुनै व्यक्तिलाई ऋण दिने कि नदिने भनेर निर्णय कुनै मानव बैंक म्यानेजरले भन्दा एआई बैंकरले गर्न थाल्नेछ । कुनै व्यक्ति दोषी हो या होइन वा उसलाई जेल पठाउने कि नपठाउने भन्ने निर्णय पनि एआई न्यायाधीशले गर्नेछन् । कर्पोरेट एआईले तपाईंलाई जागिर दिने कि नदिने भनेर निर्णय गर्नेछन् । र, कसको घरमा बम खसाल्ने भन्ने निर्णय पनि सैन्य एआईले गर्न थाल्नेछ ।
एकछिनका लागि यो राम्रो हो कि होइन भन्ने प्रश्नलाई बिर्सिदिनुस् र आफ्नै वरपर भइरहेको परिवर्तनलाई ख्याल गर्नुस् त । कतिपय कुराको संकेत त देख्न थालिसकेको छ । आउने दिनमा झन् बढी एआइले संसारका सबै प्रणालीलाई परिवर्तन गर्नेछन् ।
यो कसरी हुन्छ र यसको परिणाम के हुन सक्छ भन्नेबारे बुझ्न यसका केही वास्तविक उदारहणमा ख्याल गर्नु उपयुक्त हुन्छ । यो बुझ्नका लागि अहिलेसम्मको सबैभन्दा राम्रो उदाहरण सामाजिक सञ्जाल र यसलाई सञ्चालन गर्ने एल्गोरिदम हेर्नु उपयुक्त हुन्छ । धेरैलाई थाहा भइसकेकै तथ्य हो कि सामाजिक सञ्जाल मानिसबाट नभई एल्गोरिदमद्वारा सञ्चालित हुन्छ । र, सामाजिक सञ्जालमा सम्प्रेषित हुने प्रत्येक सूचनाको आवागमनलाई नियन्त्रण गर्ने जुन एल्गोरिदम छन्, ती एकदम सुरुवाती अवस्थाका एआई हुन् । अर्थात्, आजभन्दा १०–१५ वर्षअघि बनेका ती पहिलो पुस्ता एआई थिए, जो आजको एआईको तुलनामा धेरै पुरानो, सुस्त, साँघुरो लाग्छ । तर, पनि त्यसले सारा संसारलाई पूर्ण रूपमा बदलिदियो ।
अहिले फेसबुक, टिकटक वा एक्सका एल्गोरिदमलाई तयार पार्ने कम्पनीले तिनीहरूलाई अत्यन्त साँघुरो लक्ष्य दिएका छन् । प्रयोगकर्ता आफ्नो प्ल्याटफर्ममा अधिकतम संलग्न गराउने गरी तिनको निर्माण भएको हो । आखिर प्रयोगकर्ताहरू जति धेरै समय आफ्ना प्लाटफर्ममा समय बितायो, कम्पनीले त्यति नै धेरै पैसा कमाउँछ । अर्थात्, उद्देश्य एकदम सरल र संकीर्ण छ । अहिले यसले काम गर्यो, तर ठुलो मानवीय मूल्यका साथ ।
गत शताब्दीमा जति पनि मिडिया प्लाटफर्म थिए, तिनमा जानकारीको प्रवाह मानव–सम्पादकद्वारा नियन्त्रित हुन्थ्यो । अर्थात्, सूचनाको प्रभावको दिशा तय गर्ने कुरा मानव कार्यक्षेत्रमा पर्थ्यो । पत्रिकाको पहिलो पृष्ठमा के राख्ने भन्ने निर्णय सम्पादक गर्थे । टेलिभिजनमा साँझको समाचारमा कुन वस्तु समावेश गर्ने भन्ने निर्णय गर्ने मानव सम्पादक नै थिए । र, सार्वजनिक बहसलाई आकार दिएर मानव सम्पादकमध्ये केही त पछि गएर आधुनिक इतिहासका धेरै महत्वपूर्ण व्यक्ति पनि बने ।
उदाहरणका लागि, जँ–पल मारातले प्रभावशाली अखबार ‘लामी डे प्युपल’ नामक पत्रिका सम्पादन गरेर फ्रान्सेली क्रान्तिको मार्गलाई आकार दिए । एड्वर्ड बर्नस्टाइनले ‘द सोसल डेमोक्रेसी’ सम्पादन गरेर आधुनिक सामाजिक लोकतान्त्रिक आन्दोलन र सामाजिक लोकतान्त्रिक सोचलाई आकार दिए । उता भ्लादिमिर लेनिन सोभियत तानासाह बन्नुभन्दा अघि कुनै वेला ‘इस्क्रा’का सम्पादक थिए । इटलीका तानासाह बेनिटो मुसोलिनीले जीवनका गरेका प्रमुख जागिरमध्ये एक उग्र दक्षिणपन्थी अखबार ‘इल पोपोलो डी इटालिया’को सम्पादन थियो । र, रोचक के छ भने एआईले मानव रोजगारीमध्ये पहिलो प्रभावकारी रूपमा राम्रोसँग गरेको काम ट्याक्सी चलाउने वा कपडा बुन्ने होइन, समाचार सम्पादन हो ।
हलिउड फिल्मले एआई भन्नासाथ ठुल्ठुला बन्दुक बोकेका रोबोटका विद्रोहका कथा प्रस्तुत गरेर दशकौँदेखि दर्शक तसाउँदै आएका छन् । जब हामी एआईहरूको नियन्त्रणबाट मुक्त हुने कल्पना गर्छौं, हाम्रो दिमागमा जेम्स क्यामरुनको फिल्म ‘टर्मिनेटर’को दृश्य आउँछ, जहाँ रोबोट सेनाले मानिसलाई लखेटी–लखेटी मारिरहेको हुन्छ । तर, यो गलत छवि हो । खासमा यदि एआईले मानव विश्वलाई कुनै दिन कब्जा गरे नै भने त्यो यस्तो बाह्य आक्रमणबाट नभई भित्री संयन्त्र कब्जाबाट गर्ने सम्भावना धेरै छ । अर्थात्, एआईलाई मानव संसार कब्जा गर्न बन्दुक बोकेर सडकमा उत्रिनुपर्ने आवश्यकता नै पर्ने छैन ।
त्यसो भए एआईहरूले साँच्चै मानव विश्व (जुन आंशिक रूपमा माथि उल्लेख गरेको मानव ब्युरोक्रेसी कब्जामार्फत आउनेछ) कब्जा जमाए भने के होला त ? ख्याल गर्नुस् त नोकरसाहीले तपाईंलाई कुनै फर्म भर्न बाध्य बनाउँदै यो प्रणाली त अपरिचितबिच विश्वास निर्माण गर्न बनाइएको हो । एआईहरूले यही मानव विश्वमा विश्वासको प्रवाहलाई नियन्त्रण गरे के होला ?
एउटा सम्भावित परिणाम, जुन हामीले एल्गोरिदमबाट चल्ने सामाजिक सञ्जालको आगमनपछि प्रत्यक्ष देखिरहेका छौँ, त्यो मानिस–मानिसबिचको विश्वासमा क्षय । अर्थात्, मानिसलाई अर्को मानिसभन्दा एल्गोरिदमहरू (वा एआई)माथि बढी विश्वास हुन थाल्छ । अर्को सम्भावित परिणाम एआईहरूले अन्य एआईसँग विश्वास निर्माण गर्न सिक्नेछन् । अर्थात्, अलग–अलग काममा सक्रिय विभिन्न प्रकारका जति पनि एआई छन्, तीबिच लाखौँ सञ्जाल विकास हुन सक्छ । यसको सबैभन्दा जटिल पक्ष के हुनेछ भने त्यस सम्पर्क स्थापित गर्न उनीहरूले विकास गर्ने ‘भाषा’ मानिसहरूले बुझ्न सक्नेछैनन् ।
जसरी आजको दिनमा गाईवस्तुले तिनको जीवन नियन्त्रण गर्न मानवले विकास गरेको प्रणाली बुझ्दैनन्, त्यसरी नै छिटै एआईले आफूबिच विकास गरेको प्रणाली मानव समझभन्दा बाहिर हुनेछ । तिनले विकास गरेको प्रणालीले हामीलाई नियन्त्रित गरिरहेको हुनेछ, तर हामीले त्यसको सम्पूर्ण अवस्था बुझ्न सक्दैनौँ ।
एआईले छिटै ठुलो प्रभाव पार्ने एक क्षेत्र वित्त हो । यो एआईका लागि कब्जा गर्न सबैभन्दा सजिलो नोकरसाही प्रणालीमध्ये एक पनि हो । किनभने, वित्त भनेको मूलतः डेटा त हो नि । र, फेरि यो मानवलाई प्रत्यक्ष रूपमा सबैभन्दा प्रभाव पार्ने क्षेत्र पनि हो ।
फेरि दोहोर्याउँदै छु, आज पृथ्वीमा कायम मानव प्रभुत्व विशाल सहयोग र सहकार्यमा आधारित छ र जुन विश्वासमा आधारित छ । र, यसलाई टिकाउन मानिसले नोकरसाही प्रणालीको विकास गरेको छ । तर, नोकरसाही केमा आधारित छ त ? यो न कुनै परमाणु बम न त ठुल्ठुला भवनमै निर्भर छ । नोकरसाही प्रणाली विश्वास टिकाउन बनेकाले यसको आधार हो, शब्द वा भाषा । हजारौँ वर्षको अवधिमा मानवले भाषाको समृद्ध संकेतसहितको एउटा प्रणाली सिर्जना गरेको छ । र, यो संकेत फेरि हामी मानिसले मात्र बुझ्न सक्छौँ । खासमा पृथ्वीका अरू जीवले नबुझ्ने भएकैले हामीले सुरक्षाको भावमा यसको जगमा सभ्यता खडा गर्यौँ । तर, यो अब परिवर्तन हुँदै छ । अब यस ग्रहमा केही यस्तो नयाँ एजेन्सी आएको छ, जसले हाम्रो यो विशिष्ट पहिचान बनेको भाषिक संकेत बुझ्छ । अझ, चाँडै यो एजेन्सीले हाम्रै भाषा हामीभन्दा राम्रोसँग बुझ्नेछ । त्यसपछि खेल पूरै उल्टिन सक्छ । एआईले मानव सभ्यताको कोड (भाषिक संकेत) ‘ह्याक’ गरिरहेका छन् । जब एआईले हामीभन्दा राम्रोसँग भाषिक संकेतको जगमा विकास गरेका वित्त, कानुन र धर्मको समग्र केस्रा बुझ्छन्, तब के होला ? हजारौँ वर्षमा हामीले सिर्जना गरेका सबै नियन्त्रण संयन्त्रमाथि एआईको नियन्त्रण कायम हुने अवस्था आउन सक्छ, किनभने यी सबै संयन्त्र प्रणाली (अपरेटिङ सिस्टम) भनेकै भाषिक संकेत थिए, जसमा एआई हामीभन्दा पोख्त हुँदै गएको छ । र, आज संसारका कुनै पनि मानिसले चेस खेलमा एआईलाई हराउन नसकेजस्तै चाँडै कुनै पनि मानिसले कुनै पनि भाषासम्बन्धी क्षेत्रमा एआईलाई हराउन नसक्ने अवस्था आउनेछ । यसमा वित्त, विज्ञानदेखि धर्मसम्मका क्षेत्र पर्नेछन् । शब्दबाट बनेको हरेक चिजमाथि एआईले कब्जा गर्नेछ ।
एआईले भाषा र शब्दमा आधारित नोकरसाही प्रणाली कब्जा गर्दै गर्दा मानिसहरूचाहिँ नोकरसाही प्रणालीभन्दा बढी पुरानो र हामीमध्ये धेरैका लागि बहुमूल्य चिज अर्थात् व्यक्तिगत सम्बन्धतर्फ फर्किने प्रयास गर्न सक्छन् । तर, एआईले भाषामाथि सबै क्षमता हासिल गर्नेबित्तिकै यसले केही हदसम्म व्यक्तिगत सम्बन्धलाई पनि कब्जा गर्न सक्छ । यो कुरा विगत १० वर्षमै सामाजिक सञ्जालका कतिपय पुराना सामाजिक सञ्जाल एल्गोरिदमले नै गरेको देखेका छौँ । तिनले मानव ध्यान कसरी तान्ने भनेर सिकिसकेको छ । अब युद्धको अर्को मोर्चा ध्यान तान्नेबाट आत्मीयतातर्फ सर्दै छ । तपाईंले आफूवरपरका कति मानिस च्याटजिपिटीसँग च्याट गर्ने लतमा पर्न थालेको देख्नु–सुन्नु भएकै होला । यो त्यसै दिशाको प्रारम्भिक संकेत हो । आगामी १० वर्षमा थप परिष्कृत एआईहरूले मानिससँग घनिष्ठ सम्बन्ध कसरी बनाउने र कम्तीमा आंशिक रूपमा हाम्रो सामाजिक प्रणाली कसरी ग्रहण गर्ने भन्ने सिक्नेछन् ।
यसरी एआईले समाचार सम्पादकदेखि बैंकरसम्मका जागिर खोस्ने मात्रै होइन, मानव सम्बन्धदेखि कला, धर्म र रोमान्सलाई समेत बदलिदिनेछ । भविष्यमा मानिसले आफ्ना छोराछोरी एआई प्रेमी–प्रेमिकासँग डेट गर्न थालेको अवस्था देख्नु–भोग्नु पर्नेछ । जुन सुरुमा पचाउन गाह्रै हुनेछ । तथापि, यो परिवर्तन सभ्यताको अन्त्य नहुन सक्छ । बरु यो बिन्दुमा सभ्यता पूर्ण रूपमा मानवसँग मात्र सम्बन्धित नभई ‘मानव–एआई’ हाइब्रिड सभ्यता हुन सक्छ । अर्थात्, यस बिन्दुमा एआईको विचार, रुचि र लक्ष्य कम्तीमा मानिसको विचार, रुचि र लक्ष्यजत्तिकै महत्वपूर्ण हुने सम्भावना हुन्छ ।
(इतिहासकार हरारीले जुन ३०, २०२६ मा अक्सफोर्ड विश्वविद्यालयको ‘ट्यानर लेक्चर’ शृंखलाअन्तर्गत दिएको मन्तव्यको सम्पादित संस्करण ।)
अनुवाद : श्रवण उप्रेती