आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बिजक दर्ता गरी पुरस्कार कुपन प्राप्त गर्न सक्नेछन् ।
वेबसाइटमा विवरण प्रविष्ट गरेपछि ‘उपहार कुपन’ स्वतः उत्पन्न हुनेछ । सो कुपनमा रहेको नम्बर लक्की ड्रमा समावेश हुनेछ । विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेस गरी पुरस्कार दाबी गर्न सकिने व्यवस्था गरिएको छ ।
नगद र विद्युतीय भुक्तानीका लागि फरक व्यवस्था गरिएको छ । नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना प्रविष्ट गरी बिल दर्ता गर्नुपर्नेछ । तर, क्युआर कोड वा कार्डमार्फत गरिएको विद्युतीय भुक्तानी स्वतः प्रणालीमा समावेश हुने भएकाले छुट्टै विवरण भर्नुपर्नेछैन ।
विभागले स्पष्ट, वास्तविक र वैध बिल मात्र दर्ता गर्न आग्रह गरेको छ । जाली, सच्याइएको, दोहोरिएको, झुटा वा अनधिकृत बिल पेस गरेमा प्रविष्टि अस्वीकृत हुने, पुरस्कार कुपन रद्द गरिने, वितरण भइसकेको पुरस्कार फिर्ता असुल गरिने तथा प्रचलित कानुनबमोजिम कारबाहीसमेत हुन सक्ने चेतावनी दिएको छ ।
व्यावसायिक प्रयोजनका लागि भएका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी बिल, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानी सेवा, हवाई टिकटसम्बन्धी बिल तथा प्यान नभएका व्यक्तिबाट खरिद गरिएका बिल भने कार्यक्रममा सहभागी हुन योग्य हुनेछैनन्।
विभागले पोर्टलमार्फत बिल दर्ता, दर्ता इतिहास, पुरस्कार कुपनको अवस्था तथा विजेता सूची हेर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ । सहभागीले आर्थिक वर्ष, पुरस्कारको वर्ग तथा योग्य मितिका आधारमा विजेता खोज्न सक्नेछन् ।
डिजिटल भुक्तानीबाट प्राप्त हुने पुरस्कार कुपन कोड सम्बन्धित बैंक वा डिजिटल वालेट एपको कारोबार विवरण, सूचना, कुपन वा रिवार्ड सेक्सनमा हेर्न सकिने विभागले जनाएको छ । यसका लागि २१ साउनभित्र सबै भुक्तानी सेवाप्रदायकले आफ्नो एपमार्फत आवश्यक सूचना तथा नोटिफिकेसन उपलब्ध गराउनेछन् ।