चालू वर्षको वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर भएका विपद्का घटनामा १९६ जनाको मृत्यु भएको छ भने चारजना अझै बेपत्ता छन्।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ४ हजार ५३ वटा विपतका घटना दर्ता भएका छन्। विपतका कारण ५ हजार १८८ परिवार प्रभावित भएका छन् भने १ हजार २१८ जना घाइते भएका छन्।
प्राधिकरणको तथ्यांकअनुसार सर्पदंश सबैभन्दा घातक विपत् बनेको छ। सर्पदंशका ७१६ घटनामा ५४ जनाको मृत्यु र ६६८ जना घाइते भएका छन्। यस्तै, चट्याङबाट २५ जना, लेक लागेर २२ जना, पहिरोबाट २० जना र आगलागीबाट २० जनाको मृत्यु भएको छ।
जनावर आक्रमणका घटनामा १८ जनाको मृत्यु भएको छ भने बाढीबाट १४ जना र हावाहुरीबाट १३ जनाको ज्यान गएको छ। यस अवधिमा भारी वर्षा, ढुंगा पल्टिने, वन डढेलो, हिउँ पहिरो, विस्फोटनलगायतका घटनाबाट पनि मानवीय क्षति भएको छ।
प्राधिकरणका अनुसार साउन १७ गते बिहान १० बजेसम्मको पछिल्लो २४ घण्टामा मात्रै देशका विभिन्न स्थानमा ३४ वटा विपतका घटना भएका छन्। ती घटनामा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
सो अवधिमा उद्धार तथा सुरक्षाका लागि नेपाल प्रहरीका २७१ जना परिचालन भएका थिए। पछिल्लो २४ घण्टामा विपतबाट करिब २७ लाख २५ हजार रुपैयाँबराबरको आर्थिक क्षति भएको र १८ वटा चौपाया मरेको प्राधिकरणले जनाएको छ।