मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित गाउँपालिका केन्द्र पुलुमा आइतबार साँझ पुनः माथिबाट ढुंगासहितको पहिरो खस्न थालेपछि स्थानीयवासी र कर्मचारी त्रसित भएका छन्।
साँझ करिब ८:३० बजे गाउँपालिका कार्यालयनजिकै अचानक ढुंगा खस्न थालेपछि बजार क्षेत्रमा त्रास फैलिएको हो। जोखिम बढेपछि स्थानीयवासी र कर्मचारी घर तथा डेराबाट बाहिर निस्किएर खुला र सुरक्षित स्थानतर्फ गएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत पुलुमा पुनः ढुंगा खस्न थालेपछि स्थानीय र कर्मचारी सुरक्षित स्थानको खोजीमा बाहिर निस्किएको जानकारी दिएका छन्।
यसअघि साउन ९ गते बिहान करिब ४ बजे सोही क्षेत्रमा माथिबाट आएको पहिरोले एक घर पुरिँदा तीनवर्षीय बालक रमेश बडुवालको मृत्यु भएको थियो भने उनका बाबु ३२ वर्षीय जगनाथ बडुवाल र आमा २७ वर्षीया सिर्जना बडुवाल घाइते भएका थिए। उनीहरू स्थानीय पेमा लामाको घर भाडामा लिएर होटेल सञ्चालन गर्दै आएका थिए।
पुलु बजार पहिरोको उच्च जोखिममा रहेकाले पटक–पटक ढुंगा र पहिरो खस्ने घटनाले स्थानीयवासी तथा गाउँपालिकाका कर्मचारी निरन्तर त्रसित हुँदै आएका छन्।