१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १२:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दोस्रो जलाशययुक्त तनहुँ हाइड्रोको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

मुख्य सुरुङबाट दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा पानी खसाली विद्युत् उत्पादन गरिने आयोजनाको निर्माण असार ०८३ भित्र सम्पन्न गर्ने लक्ष्य

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:o९:oo

निर्माणाधीन एक सय ४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावरका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रूपमा स्विच दबाएर विस्फोट गराई मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन् । 

सरकारले तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरेर एक सय ४० मेगावाट क्षमतामा जलाशययुक्त आयोजना बनाउँदै छ । आयोजनाको प्याकेज–२ अन्तर्गत यो सुरुङ बनेको हो । त्यसमा जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर सुरुङ बनाइएको हो । मुख्य सुरुङको व्यास ७.४ मिटर रहनेछ । अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिनेछ । मुख्य सुरुङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ । आयोजनाको निर्माण असार ०८३ भित्र (सन् २०२६ मे) सम्पन्न गर्ने लक्ष्य छ ।

सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति सोचेभन्दा राम्रो रहेको बताए । ‘कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दुधकोशी, नलगाढ, बुढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने । 

ऊर्जासचिव गोपालप्रसाद सिग्देल भन्छन्–  धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति सोचेभन्दा राम्रो छ । कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दुधकोशी, नलगाढ, बुढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ । 

सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुलन हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा आयोजना सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । ‘मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र मुख्य सुरुङ ब्रेक थु्र गरी आयोजनाका मुख्य माइलस्टोनहरू पूरा भएका छन् । निर्माणाधीन ठूलो जलाशययुक्त आयोजना तोकिएकै समयमा सम्पन्न गर्न बाँध निर्माणको कामलाई तीव्रता दिन सबै जिम्मेवार भएर लाग्नुपर्छ,’ उनले भने, ‘आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा बनाइने एक सय २६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माण पनि छिट्टै अगाडि बढाइनेछ ।’ 

आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, व्यहोरिरहेका समस्यालगायत विषयमा जानकारी गराएका थिए । मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी काम अघि बढाइएको छ । निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत रहेको छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माण कार्य भइरहेको छ । आगामी असार दोस्रो साताभित्र जग खन्ने कार्य सम्पन्न गरी त्यसपछि मुख्य बाँधको जग निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । प्याकेज–१ को समग्र भौतिक प्रगति २९ प्रतिशत रहेको छ । 

प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन नेपालको जेभीले गरिरहेको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिक तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ स्विजयार्ड निर्माण, पेनस्टक तथा विद्युत्गृहमा रहने उपकरण जडानलगायत कार्य भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ५५ प्रतिशत छ । 

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणका कार्य केइसी इन्टरनेसनल लिमिटेड भारतले गरिरहेको छ । ३४.७ किमि प्रसारणलाइनमा पर्ने ९४ वटा टावरमध्ये ७६ वटा टावरको जग हालिएको छ भने ६२ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७२ प्रतिशत रहेको छ । 

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । 

उक्त सबस्टेसनसम्म विद्युत् पुर्‍याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ । 

सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रहरूमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माणलगायतका गरी ५६ वटा परियोजना सम्पन्न भएका छन् । सातवटा परियोजना निर्माणाधीन छन् । आयोजना प्रभावितहरूको जीविकोपार्जन तथा आय–आर्जन वृद्धिका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको छ । 

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

ad
ad