१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
दिल्लीबाट धनगढी आउँदै गरेको बसको सिलिङमा लुकाएर ल्याइएको इलेक्ट्रोनिक सामान त्रिनगर नाकामा बरामद गर्दै प्रहरी । फाइल तस्बिर
पवन तिमिल्सिना काठमाडाैं
२०८० चैत १४ बुधबार ०६:२९:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतबाट नेपालमा के हुन्छ धेरै तस्करी ?

भन्सार विभागले तयार पारेको सूचीअनुसार १७ ठूला खुला नाकामध्ये अधिकांशबाट कपडा, खाद्यान्न र चिनीको तस्करी 

Read Time : > 5 मिनेट
२०८० चैत १४ बुधबार ०६:२९:००

भन्सार विभागले भारतसँगका १७ ठूला नाका हुँदै नेपालमा तस्करी हुने वस्तुहरूको सूची तयार पारेको छ । जसमा अधिकांश दैनिक उपभोग्य वस्तु तथा खाद्यान्न छन् । पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म भारतसँग जोडिएका २७ नाका छन् । 

यी वस्तु भन्सार क्षेत्रबाहेकका नाकाबाट तस्करी हुने गरेका विगतका घटनाहरूको प्रवृत्तिलाई आधार बनाएर सूची तयार पारेको विभागका उपमहानिर्देशक रमेश अर्यालले बताए । उनले भने, ‘यसमा भन्सार क्षेत्रबाट भित्रिने वस्तु समेटिएको छैन । यी वस्तुहरू गस्तीमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट बरामद गरिँदै आएका छन् । त्यसकै आधारमा सम्बन्धित नाकामा तस्करीको जोखिम रहेका सामानहरूको सूची तयार पारिएको हो ।’

विभागको सूचीअनुसार पूर्वको मेची भन्सारआसपासका सीमानाका नकलबन्द र सतीघट्टा हुँदै किराना सामानहरू, कपडा र जुत्ता–चप्पलको बढी तस्करी हुने गरेको छ । त्यस्तै, गौरीगन्जमा मेसिनरी पार्टस्, पानी तान्ने मोटर र मलखाद तस्करी हुने गरेको छ । 

भद्रपुरबाट बढीजसो हरियो तरकारी, कीटनाशक विषादीहरू र मानवीय सेवनका औषधिहरू बढी मात्रामा तस्करी हुने गरेको पाइएको विभागले जनाएको छ । विराटनगरबाट कपडा, चिनी, चकलेट, बिस्कुट, पास्ता, आलु–प्याज, सुर्ती, मैदा र माछा तस्करीका घटना बढी रेकर्ड भएका छन् । त्यस्तै, जलेश्वर नाकाबाट कपडा, जुत्ता–चप्पल र हार्डवेयर सामान बरामद हुने गरेका छन् । यो नाकाबाट साइकल र मोटरसाइकलबाट टायल्स ओसार–पसार हुने गरेको पनि पाइएको छ ।

सुनसरीबाट बढी मात्रामा तस्करहरूले चिनी, सुर्तीखैनी र लत्ताकपडा भित्र्याउने गरेका छन् । सिराहाको नाकाबाट भने रेडिमेड कपडा, इलेक्ट्रिक पार्टस्, मोटर पार्टस्, खाद्यान्न, आलुप्याज र फलफूल बढी बरामद भएको तथ्यांकले देखाएको छ । 

रौतहटको गौर नाकाबाट चामल, मैदा, लुगा धुने डिटर्जेन्ट, लत्ताकपडा तथा तयारी पोसाक, हार्डवेयर सामान, इलेक्ट्रिक सामान, जुत्ताचप्पल, चिनी, मलखाद तथा केमिकल फर्टिलाइजर, डेरी उत्पादन र राँगाभैँसी तस्करी भएका छन् । सर्लाहीका नाकाबाट खाद्यान्न, लत्ताकपडा, मलखाद, कस्मेटिक्स र हार्डवेयर तस्करी हुने गरेको पाइएको छ । त्यस्तै, देशको प्रमुख व्यापारिक नाका वीरगन्जआसपासका खुला सीमाबाट लत्ताकपडा, मोटरपार्टस्, इलेक्ट्रिक सामान, खाद्यान्न, जुत्ताचप्पल र किराना सामान बरामद हुने गरेको विभागको सूचीमा उल्लेख छ । महेशपुर नाकाबाट चिनी, कपडा र मलखाद बरामद हुने गरेका छन् । त्यस्तै, कृष्णनगरबाट चिनी, लत्ताकपडा, बच्चाबच्चीको खेलौना र खाद्यान्नको तस्करी धेरै हुने गरेको देखिन्छ ।

रमेश अर्याल, उपमहानिर्देशक, भन्सार विभाग
यसमा भन्सार क्षेत्रबाट भित्रिने वस्तु समेटिएको छैन । यी वस्तुहरू गस्तीमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट बरामद हुँदै आएका छन् । त्यसै आधारमा सम्बन्धित नाकामा तस्करीको जोखिम रहेका सामानहरूको सूची तयार पारिएको हो ।

सूचीअनुसार पश्चिमतिरका नाकामध्ये भैरहवाबाट लत्ताकपडा, जुत्ताचप्पल, खाद्यान्न, चिनी, चकलेट, बिस्कुट, कुरमुरे र कुरकुरे तस्करी हुन्छ । नेपालगन्जको खुला नाकाबाट चिनी, चामल, लत्ताकपडा, तरकारी, गहुँको तस्करी हुने गरेको विभागले जनाएको छ । त्यस्तै, कैलालीबाट चिनी तथा लत्ताकपडा र कञ्चनपुरबाट चिनी, मिस्री, गुँड (भेली), कपडा, दाल, खानेतेल, मोटर पार्टस् बढी मात्रा तस्करी हुने गरेको छ । 

१७ मध्ये १५ नाकाबाट बढी मात्रामा तस्करीका कपडा बरामद हुने गरेको विभागको तथ्यांकले देखाएको छ । मेची भन्सारआसपासका नकलबन्द र सतीघट्टा, विराटनगर, जलेश्वर, सुनसरी, सिराहा, गौर, सर्लाही, वीरगन्ज, महेशपुर, कृष्णनगर, भैरहवा, नेपालगन्ज, कैलाली र कञ्चनपुरबाट बढी कपडा तस्करीका घटना रिपोर्टिङ हुने गरेको देखिन्छ । यसले कपडा सबैभन्दा बढी तस्करी हुने वस्तुमा परेको देखिन्छ । त्यस्तै, दशवटा नाकाबाट खाद्यवस्तु तस्करी भइरहेको देखिन्छ ।

नौ नाकाबाट भने चिनीको तस्करीको जोखिम बढी देखिएको छ । विराटनगर, सुनसरी, रौतहटको गौर, पश्चिम नवलपरासीको महेशपुर, कपिलवस्तुको कृष्णनगर, भैरहवा, नेपालगन्ज, कैलाली र कञ्चनपुरबाट बढी मात्रामा तस्करीको चिनी बरामद हुँदै आएको तथ्यांकले देखाएको छ । अर्थ मन्त्रालयले देशमा मलखादको अभाव हुन नदिन यसको आयात र चेकजाँचमा कडाइ नगर्न मौखिक रूपमा निर्देशन दिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । मल आयातमा कडाइ नहुने भएपछि धेरै तस्करहरूले मलको बोरामा चिनी लुकाएर ल्याउने गरेकोसमेत पाइएको ती अधिकारीले बताए । उनले भने, ‘मलको बोरामा चेकजाँच गर्दा कडाइ नगर्न मन्त्रालयबाट मौखिक निर्देशन दिइएको छ । मलको बोरामा चिनी लुकाएर ल्याउने र झट्ट हेर्दा मल र चिनी नछुट्टिने हुनाले चिनीको तस्करी बढिरहेको बुझिएको छ ।’ 

त्यस्तै, पाँच नाकामा मलखाद तस्करीको जोखिम बढिरहेको विभागले औँल्याएको छ । यसरी मलखाद तस्करी हुने नाकामा गौरीगन्ज, भद्रपुर, गौर, सर्लाही र महेशपुर छन् ।  

तस्करी धेरै हुने सामान औपचारिक माध्यमबाट कति भित्रिन्छन् ?
तस्करी धेरै हुने यी वस्तुहरूले औपचारिक माध्यमबाट हुने आयातमा पनि ठूलो हिस्सा ओगट्दै आएको देखिएको छ । चालू आर्थिक वर्षको आठ महिनामा तस्करीका उच्च जोखिम मानिएका यी वस्तुहरू औपचारिक माध्यमबाट एक खर्ब ८३ अर्ब रुपैयाँबराबरको भित्रिएका छन् । जुन कुल आयातको १७.७७ प्रतिशत हिस्सा हो । चालू आवको आठ महिनामा १० खर्ब ३० अर्बको वस्तु आयात भएको छ । 

तस्करी हुनेमध्ये औषधिजन्य वस्तु र मेसिनरी पार्टस्ले आयातमा ठूलो हिस्सा ओगटेको देखिन्छ । विभागका अनुसार औषधिको तस्करी भद्रपुुरबाट बढी तस्करी भएको छ । कुल आयातमा औषधिजन्य पदार्थको हिस्सा ३.८० प्रतिशत ओगटेको छ । चालू आर्थिक वर्षको ८ महिनामा ३९ अर्ब १५ करोडका औषधि तथा औषधिजन्य पदार्थ आयात भएका छन् । यसबाट सरकारी कोषमा दुई अर्ब ७१ करोडको राजस्व दाखिला भएको छ । जुन कुल भन्सार राजस्वको एक प्रतिशत हो ।

यस अवधिमा ३९ अर्ब १२ करोडको मेसिनरी पार्टस्को आयात भएको छ । यो कुल आयातको ३.७९ प्रतिशत हो । जसबाट पाँच अर्ब ५७ करोडको राजस्व उठेको छ । जुन कुल भन्सार राजस्वको २.०६ प्रतिशत हो । 

सबैभन्दा धेरै नाकाबाट भन्सार छलेर भित्रिने कपडाको औपचारिक आयातबाट सरकारले कुल भन्सार राजस्वको ३.३६ प्रतिशत उठाएको छ । नौ अर्ब ११ करोडको राजस्व योगदान गर्ने कपडाको आयात भने २६ अर्ब ९८ करोडको छ । त्यस्तै, यस अवधिमा सात अर्ब ६९ करोडको जुत्ताचप्पल भित्रिएर चार अर्ब ३२ करोडको राजस्वमा योगदान पुर्‍याएको छ । तस्करी हुने खाद्यान्नमा औपचारिक माध्यमबाट आयात हुने दालले सबैभन्दा बढी हिस्सा राखेको छ । चालू आवमा ११ अर्ब चार करोडको दाल भित्रिएको छ । यसबाट सरकारले एक अर्ब १५ करोड राजस्व उठाएको छ । 

त्यस्तै, धेरै तस्करी हुने हरियो तरकारी पनि यो अवधिमा औपचारिक रूपमा नौ अर्ब ८० करोडको भित्रिएको छ । जसबाट दुई अर्ब ३१ करोडको राजस्व संकलन भएको छ । त्यस्तै, चकलेटको आयात दुई अर्ब २० करोडको छ । जसबाट एक अर्ब ७३ करोडको राजस्व संकलन भएको छ । 

यसैबीच, दुई अर्ब ४८ करोडको चिनी तथा चिनीजन्य पदार्थ आयात भएको छ र यसले एक अर्ब १९ करोडको राजस्वमा योगदान पुर्‍याएको छ । तीन अर्ब ११ करोडको सुर्तीचुरोट आयात भएर तीन अर्ब दुई करोडको राजस्व उठेको छ । त्यस्तै, ६९ करोडबराबरको बिस्कुट, ५६ करोड ३० लाखको कुरकुरे, कुरमुरे र एक अर्ब ७१ करोडको दुग्धपदार्थ आयात भएको छ ।

६ अर्ब ३९ करोडको चामल आयात भएको छ भने सात अर्ब ५६ करोडको गहुँ भित्रिएको छ । दुई अर्ब ४५ करोडको खेलौना र खेलकुदका सामग्री आयात भएका छन् भने चार लाखबराबरका टायल्स आयात भएका छन् । २३ करोड ९० लाखको खानेतेल र १६ लाखको राँगाभैँसी आयात भएको छ । सर्लाहीबाट तस्करीको बढी रिपोर्टिङ हुँदै आएको कस्मेटिक्सको आयात १० अर्ब ८६ करोडबराबरको छ ।

चीनसँगका नाकामा एक वर्षमा तस्करीका ६ वटा मात्रै मुद्दा
मुद्दाको संख्या न्यून रहे पनि सुन तस्करीको प्रमुख नाका बन्ने जोखिम बढ्दै 

उत्तरी सीमातर्फको प्रमुख नाका टिमुरेमा रहेको रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्षमा तस्करीका ६ वटा मुद्दा मात्रै रेकर्ड गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । विगत पाँच वर्षको तथ्यांक हेर्दा रसुवा भन्सार कार्यालयमा ५१ तस्करीका मुद्दा परेको र त्यसमा बरामद भएका सामान लिलामीबाट २२ लाख २७ हजारको राजस्व उठेको विभागले जनाएको छ । गत भदौदेखि मात्रै सञ्चालनमा आएको तातोपानी नाकाबाट भने तस्करीका मुद्दा दायर नभएको विभागले जनाएको छ । 

उत्तरी नाकाबाट वस्तु आयातको परिमाण न्यून हुने भएकाले तस्करीका घटना न्यून संख्यामा हुने गरेको भन्सार विभागका उपमहानिर्देशक रमेश अर्यालले बताए । उनले भने, ‘तस्करी नै नहुने भन्ने होइन । तर, व्यापारिक नाकामा चीन सरकारले नै कडाइ गर्ने भएकाले त्यहाँको मुद्दाको संख्या न्यून छ ।’

कोभिडपछि लामो समय बन्द रहेर पछिल्लो समय खुलेका चीनका सीमाबाट तस्करीका घटना न्यून छन् । यद्यपि, केरुङ नाकाबाट सुनको तस्करी भइरहेको घटना भने यही वर्ष बाहिरिएका छन् । गत १० असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका लागि खुलाइएको उत्तरी नाका लामाबगरको फलेकबाट तस्करी गरी ल्याइएको चार किलो सुन बरामद भएको थियो । योसँगै प्रहरीले लामाबगरमा पाँच दिनको अन्तराल पारी ११ किलो सुन बरामद गरेको थियो । त्यस्तै, १३ असोजमै रसुवाबाट पनि तस्करीको सुन समातिएको थियो ।

चीनसँग जोडिएका उत्तरी सीमामा नौवटा भन्सार कार्यालय अहिले सञ्चालनमा छन् । ती मूल भन्सार कार्यालयका हाल कुनै पनि छोटी भन्सार कार्यालय छैनन् । रसुवा र तातोपानीबाहेक सबै उत्तरी सीमावर्ती भन्सार कार्यालयबाट आयात न्यून रहने गरेको छ । सबैभन्दा बढी रसुवा भन्सार कार्यालयबाट वस्तु आयात भइरहेको विभागको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको आठ महिनामा यो नाकाबाट ३५ अर्बका वस्तु आयात भएका छन् । त्यस्तै, तातोपानी नाकाबाट २३ अर्ब १४ करोडको वस्तु आयात भएको छ । 

हालसम्म नेपाल र चीनबीच सम्पन्न व्यापार एवं पारवहन सम्झौताले नेपाल–चीनबीच द्विपक्षीय व्यापारका लागि ६ नाका स्वीकृत गरेको छ । नेपाल र चीनबीच सम्पन्न बन्दरगाह व्यवस्थापनसम्बन्धी सम्झौताले स्वीकृत ६ नाकामध्ये तीन नाका यारी–पुलान, रसुवा–जिलोङ एवं कोदारी–जाड्यमु अन्तर्राष्ट्रिय व्यापारका लागि समेत उपयोग गर्न सक्ने नाका हुन् । त्यसबाहेक तीन नाकाहरू नेचुङ–लिजी, ओलाङचुङगोला–रियु तथा किमाथान्का–छेन्ताङलाई द्विपक्षीय व्यापार गर्ने नाकाका रूपमा स्थापित गरेको छ । सन् २०१६ मा भएको नेपाल र चीनबीच सम्पन्न पारवहन यातायात सम्झौता र २०१८ को प्रोटोकलले समुद्रसम्मको पहुँचका लागि चार सामुद्रिक बन्दरगाह र तीन सुक्खा बन्दरगाह उपलब्ध गराएको छ ।