
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ।
यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ।
उक्त कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उनीसँग बयान सुरु भएको र आज पनि बयान लिइने जानकारी दिए। उनलाई काठमाडौं जिल्ला अदालतले चार दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ।
अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ। निजलाई सिआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज समाप्त हुने भएकाले बयान र अनुसन्धान नसकिए पुनः म्याद थप गरिने सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले बताए।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र ०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको नाै किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग उनको नाम जोडिएको छ।
त्यसवेला सिआइबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो। यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षमा थुनामा छन्।