१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १३:१२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रौतहटमा व्यापक काठ तस्करी, कर्मचारीकै मिलेमतोमा भएकाे स्थानीयकाे दाबी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:१२:oo

डिभिजन वन कार्यालयका कर्मचारीको हेलचेक्य्राइँका कारण रौतहटको वनमा पछिल्लो समय व्यापक रूपमा बहुमूल्य जातका हरिया सालका रुख काटिने क्रम बढ्दै जान थालेको छ।

वन कर्मचारीले नियमित रूपमा गस्ती नगर्नु र कर्मचारी नै काठ तस्करसँग मिल्नुले रौतहटको राष्ट्रिय तथा साझेदारी वनमा चोरी तस्करी बढेको स्थानीयले बताएका छन्। 

डिभिजन वन कार्यालय रौतहटमातहतका सब वन डिभिजन कार्यालयमा कार्यरत रहनुपर्ने वन कर्मचारी गस्ती गर्न छाडेर  घर जान थालेपछि रौतहटको बलेरी वनबाट सर्लाही र रौतहटकै काठ तस्कर समूहले दिउँसो रुख काटने र रातिको समयमा लाने गरेको स्थानीय बासिन्दाले बताएका छन्।

डिभिजन वन कार्यालय रौतहटमा कार्यरत रहेका करिब दुई सय वन कर्मचारीमा ९० प्रतिशत वन कर्मचारी रौतहटकै भएका कारणसमेत वनमा चोरी तस्करी बढेको सन्तपुरका स्थानीय बासिन्दा विनोद चौधरीको भनाइ छ। 

पछिल्लो समय आएर रौतहटको वनमा कार्यालय प्रमुखदेखि कार्यालय सहयोगीसम्म रौतहटकै स्थानीय छन्। रौतहट जिल्लामा धेरै काठ चोरी हुने वृन्दावन सब वन डिभिजन कार्यालयमातहतको जंगल क्षेत्र हो। सो भेगको जंगलबाट वन कर्मचारीकै मिलेमतोमा सर्लाही र रौतहटका काठ चोर तस्कर समूहले बहुमूल्य जातका सखुवाका काठ काटेर लाने गरेका छन्।

नयाँ वर्षको दिन पिकनिक मनाउने नाममा बलेरी क्षेत्रको जंगलबाट ठूलो मात्रामा काठ कटान भएको सूचना स्थानीयले वन कर्मचारीलाई दिएका थिए। लगत्तै वनले सो काठ बरामद गरेको थियो। डिभिजन वन कार्यालय रौतहटका प्रमुखदेखि सब डिभिजन वन कार्यालयका वन कर्मचारीसम्मको मिलोमतोमा काठ चोर समूहले ल्याएको सो काठ स्थानीयको दबाबका कारण नामको लागि मात्रै बरामद गरेजस्तो गरेर काठ पुनः चोर समूहकै जिम्मामा छाडेको स्थानीय हरिन्द्रकुमार पटेलले बताए।

गत वैशाख १ गते पिकनिक मनाउन गएका समूहहरूले ट्रयाक्टरमा तीनवटा सालको गोलिया ल्याइएको थियो। सो समूहले वनबाट काटेर ल्याएको साल जातको ७८ इन्च मोटाइ सात फिट लम्बाइ भएका एक थान, ७७ इन्च मोटाइ सात फिटका एक थान र ७३ इन्च माेटाइ सात फिटका एक थान गरी तीन थान सखुवाको काठ बरामद भएको थियो। 

स्थानीयको सूचनामा बरामद भएको काठ बलेरी गाउँका पूर्ववडाध्यक्ष, वर्तमान वडासदस्य भद्रभलादमीलगायतको जिम्मामा काठ बरामद भएकै स्थानमा छोडिएको सो सब डिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत अनिलकुमार महतोले बताए। 

काठ बरामद गरे पनि बरामद काठ लान नसक्नु वन कार्यालयको कमजोरी रहेको स्थानीय बासिन्दले बताए। बरामद भएको सो काठ पुनः जंगलबाट ल्याउने समूहलाई दिने तयारी भएको स्थानीयको भनाइ छ। वनले काठ बरामद गरेर काठ जंगलबाट ल्याएकै समूहलाई दिन प्रलोभनमा परेर दिन खोजेको एकजना स्थानीयले नाम नबताउने सर्तमा जानकारी दिएका छन। स्थानीयका अनुसार महतोकै मिलेमतोमा सो जंगलबाट काठ चोरी तस्करी हुने गरेको छ।  

पछिल्लो केही समययता आएर रौतहटको बलेरी वनमा व्यापक रूपमा काँचा सालका रुखको चोरी तस्करी बढेको छ । काठ चोरी तस्करीसँगै रौतहटको बलेरी वन क्षेत्रको बागमती बगरसमेत स्थानीयले अतिक्रमण गरेका छन्। पर्याप्त मात्रामा कर्मचारी नभएका कारण नियमित रूपमा गस्ती नहुँदा छिटपुट रूपमा काँचा सालका रुख काटिएको डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकृत विमल ठाकुरले बताए। 

यता रौतहटको गैँडाटार सब वन डिभिजन कार्यालयमा कार्यरत कर्मचारीकै मिलेमतोमा काठ चोर समूहले रातको समयमा काँचा सालका फ्यान्टा र कडी बनाएर चन्द्रनिगाहपुर बजारमा ल्याएर बिक्री गर्ने गरेको स्थानीयको भनाइ छ। डिभिजन वन कार्यालय रौतहटमा रहेका स्थानीय कर्मचारीकै कारण वनमा व्यापक रूपमा चोरी तस्करी बढेको स्थानीय बासिन्दा भरत आचार्यको भनाइ छ । स्थानीयका अनुसार डिभिजन वन कार्यालय रौतहटमा प्रमुखका रूपमा शैलेन्द्रकुमार मिश्र आएदेखि नै रौतहटको वनमा हानि–नोक्सानी बढेको हो। 

मिश्र रौतहटकै स्थानीय बासिन्दा हुन्। स्थानीय कर्मचारीको काठ चोर तस्कर समूहसँग साँठगाँठ हुने र उनीहरूले गस्त कतिबेला कता जान्छ भन्ने कुराको जानकारी उनीहरूलाई दिने गरेका कारण चोरी तस्करी मौलाएको हो। 

ad
ad