१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o९:५५:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मानव तस्करीको ट्रान्जिट बन्दै नेपाल : भारतीय, बंगलादेशी र पाकिस्तानीलाई बन्धक बनाएर असुल्ने गिरोह सक्रिय 

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:५५:oo

अन्तर्राष्ट्रिय मानव तस्कर समूहले नेपाललाई ट्रान्जिटका रूपमा दुरुपयोग गर्न थालेका छन् । भारतीय, बंगलादेशी तथा पाकिस्तानी नागरिकलाई अमेरिका, क्यानडा तथा युरोपियन देश लैजाने भन्दै नेपाल ल्याएर बन्धक बनाउने र ठगी गर्ने घटना बढेका छन् । खुकुलो भिसा नीति र खुला सीमाका कारण नेपाल यसरी ट्रान्जिट बन्न थालेको प्रहरीले जनाएको छ । 

गत ८ चैतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पकनाजोलको निभाना ग्रिन पिस होटेलमा बन्धक बनाइएका तीन बंगलादेशीको उद्धार गरेको थियो । जुन गिरोहका पाँचजना बंगलादेशी नागरिकविरुद्ध अपहरणको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यासिर बंगला, नुरुल हुडा, समिम अहमद, मासुक बिल्लाह र प्रनयकुमार देवलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रेमप्रसाद दाहाल, निर्देशक, अध्यागमन विभाग
बंगलादेशीहरू नेपाल आएर क्रोएसिया, रोमानियाजस्ता देशमा जाने प्रवृत्ति देखिन्छ । बंगलादेशी दूतावासले यसमा एनओसी (नो अब्जेक्सन लेटर) नचाहने जानकारी दिएको छ । त्यसकारण हामी रोक्ने र धेरै सोधखोज गर्दैनौँ । नेपालबाट ठूलो संख्यामा बंगलादेशीहरू अन्य देश जाने गरेको देखिन्छ ।

बंगलादेशी नागरिकलाई क्यानडा लैजाने भन्दै उनीहरूले कोलकाता हुँदै नेपाल ल्याएर बन्धक बनाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । होटेलमा बन्धक बनाएर बंगलादेशबाट फिरौती मागिरहेको अवस्थामा प्रहरीले पीडितको उद्धार गरी गिरोहका सदस्यलाई पक्राउ गरेको हो । बंगलादेशी नागरिकहरू नेपाल आउन भिसा चाहिने भए पनि उनी विनाभिसा नेपाल आएका थिए । 

अवैध रूपमा बस्दै आएका अन्य पाँच बंगलादेशीलाई गत ११ चैतमा प्रहरीले सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको थियो । रिफाद अहमद, मोहम्मद अब्दुल्लाह, सामसुल हुडा, अब्दुल विश्वास र मासुम मियाँलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू एक वर्षभन्दा लामो समयदेखि नेपालमा अवैध रूपमा बस्दै आएको एसएसपी राठौरले बताए । अमेरिकालगायत देश जाने सपनामा उनीहरू नेपाल आई बसेका थिए । कतिपय बंगलादेशी भने भागेका थिए । ‘नेपालबाट अन्य देश जान सहज हुने ठानेर बंगलादेशीले नेपाललाई ट्रान्जिट बनाएको देखिन्छ,’ एसएसपी राठौरले भने । विगतमा पनि अवैध रूपमा बस्दै आएका तथा नक्कली कागजपत्रमा आएका बंगलादेशीहरू काठमाडौैंमा पक्राउ पर्दै आएका छन् । 

बंगलादेशीलाई तेस्रो देश पठाउने गिरोह काठमाडौंमा सक्रिय
बंगलादेशी नागरिकलाई तेस्रो देश पठाउने गिरोह नै काठमाडौंमा सक्रिय रहेको स्रोत बताउँछ । अध्यागमन विभागका निर्देशक प्रेमप्रसाद दाहाल बंगलादेशी नागरिकहरू तेस्रो देश लान नेपाललाई ट्रान्जिट बनाइरहेको स्वीकार्छन् । ‘बंगलादेशीहरू नेपाल आएर क्रोएसिया, रोमानियाजस्ता देशमा जाने प्रवृत्ति देखिन्छ,’ उनले भने, ‘बंगलादेशी दूतावासले यसमा एनओसी (नो अब्जेक्सन लेटर) नचाहने जानकारी दिएको छ । त्यसकारण हामी रोक्ने र धेरै सोधखोज गर्दैनौँ । नेपालबाट ठूलो संख्या बंगलादेशीहरू अन्य देश जाने गरेको देखिन्छ ।’ 

भारतीयलाई पनि नेपाल ल्याएर बन्धक बनाउने गरेको घटना गत महिना प्रहरीले बाहिर ल्यायो । ३ फागुनमा अमेरिका लैजाने भन्दै ११ भारतीयलाई काठमाडौैंमा बन्धक बनाएर फिरौती माग्ने भारतीय समूहलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंले रातोपुलको एक घरबाट ११ भारतीयलाई उद्धार गरी त्यसमा संलग्न गिरोहलाई पक्राउ गर्‍यो । कोठामा बन्धक बनाई मेक्सिको पुर्‍याइसकेको भन्दै परिवारलाई फोन गर्न लगाएर उनीहरूले फिरौती मागेका थिए । गिरोहका आठजनाविरुद्ध मुद्दा दायर भइसकेको छ । खुला सीमाकै कारण भारतीय गिरोहले उनीहरूलाई नेपाल ल्याएर बन्धक बनाएको अनुसन्धानमा खुलेको थियो । 

पाकिस्तानीमाथि पनि काठमाडौंमा यस्तै धन्दा हुने गरेको छ । एक वर्षअघि पाकिस्तानी नागरिकलाई क्यानडा लैजाने भन्दै काठमाडौंमा बन्धक बनाएको घटनामा प्रहरीले तीन पाकिस्तानीलाई पक्राउ गरेको थियो । सामी खानलाई ह्वाट्सएपमार्फत चिनजान भएका व्यक्तिले काठमाडौंमा बन्धक बनाएका थिए । क्यानडाको भिसा प्रक्रियाका लागि बायोमेट्रिक संकलनका लागि जाने भन्दै उनलाई ट्याक्सीमा राखेर तीन पाकिस्तानीले बुढानीलकण्ठस्थित एक घरमा पुर्‍याएर आँखामा पट्टी लगाई हातखुट्टासमेत बाँधेर बन्धक बनाए । 

त्यसपछि पाकिस्तानमा रहेको खान परिवारसँग फिरौती माग्न थाल्यो । सामीका भाइलाई उनकै मोबाइलबाट फोन गरेर सुरुमा प्लेन उड्न लागेको आवाज सुनाए । क्यानडाको फ्लाइट सुरु हुन लागेको र अब ३० घण्टा मोबाइल अफ हुने भन्दै सामीलाई नै भाइसँग भन्न लगाए । भनेअनुसार नबताए मारिदिने धम्की दिए । 

त्यसको ठीक ३० घण्टापछि सामीका भाइलाई म्यासेज पठाएर ‘आफू (सामी) क्यानडा पुगेको र पैसा दिएपछि मात्र त्यहाँको अध्यागमनले प्रवेश दिने भएकाले ३० लाख पाकिस्तानी रुपैयाँ (करिब १७ लाख नेपाली) र २४ हजार युएई दिराम (करिब आठ लाख नेपाली) पाकिस्तानकै एक व्यक्तिलाई दिन’ भनियो । यसरी फिरौती असुलेपछि उनीहरूले २६ पुसमा सामीलाई ट्याक्सीमा राखेर सिनामंगलस्थित सडकमा पुर्‍याई पाकिस्तान फर्कनू भन्दै फरार भएका थिए । जसमा प्रहरीले ३० वर्षीय मुहम्मद रसिद, ३५ वर्षीय मुहम्मद आसिफ र मुहम्मद फिदा हुसैनलाई पक्राउ गरी अपहरण र मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएको थियो । 

०७८ असोजमा पनि ललितपुरमा यस्तै घटना भएको थियो । क्यानडाको भिसा लगाइदिने भन्दै फैजन अहमदलाई पाकिस्तानबाट बोलाई बन्धक बनाएर २० हजार डलर फिरौती असुल्ने प्रयास भएको थियो । अपहरणमा संलग्न जेसन मोहम्मद र ताज रिसवालाई प्रहरीले पक्राउ गरेको थियो । पीडितलाई धापाखेलको एक घरमा बन्धक बनाइएको थियो, तर उनी बन्धक बनाइएको घरबाट भाग्न सफल भएका थिए । 

पाकिस्तानी नागरिकले नेपालमा अनअराइभल भिसा पाउने भएकाले पनि यसरी उनीहरूले ट्रान्जिट बनाएका हुन् । कतिपय पाकिस्तानी नेपाल आएर शरणार्थीका रूपमा युएनएचसिआरको सहयोगमा बस्दै आएका छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार तीन सय ५३ पाकिस्तानी नेपालमा शरणार्थीका रूपमा बस्दै आएका छन् ।

मानव तस्करीमा संलग्न समूहले नै कतिपयलाई नेपाल ल्याउने र युएनएचसिआरमार्फत पश्चिमी देश लैजाने धन्दा चलाउँदै आएका छन् । यस्तो प्रवृत्ति राष्ट्रिय सुरक्षामै जोखिमयुक्त रहेको प्रहरी अधिकारीहरू बताउँछन् । खुला सीमा र सहज अनअराइभल भिसाका कारण नेपालमा विदेशीको यस्ता गतिविधि बढेको हुन सक्ने पूर्वएआइजी बमबहादुर भण्डारी बताउँछन् । यस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले समयमै सचेत हुनु जरुरी रहेको उनको भनाइ छ ।

ad
ad