Skip This
संसदमा मात्रै होइन, समितिका बैठकमा समेत उपस्थित हुँदैनन् सांसद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १६ मंगलबार
  • Saturday, 27 July, 2024
जेनतेन कोरम पुगेपछि सोमबार बसेको कृषि समितिको बैठक । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडाैं
२o८o माघ १६ मंगलबार o९:५२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संसदमा मात्रै होइन, समितिका बैठकमा समेत उपस्थित हुँदैनन् सांसद

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ १६ मंगलबार o९:५२:oo

- कोरम नपुगेर स्थगित हुन थालेको कृषि समितिको बैठक बल्लतल्ल चल्यो
- राज्यव्यवस्था समितिमा संशोधनकर्ता नै उपस्थित भएनन् 
- कोरम नपुगेर अन्तर्राष्ट्रिय समितिले विधेयकमा छलफल अगाडि बढाउन सकेन

संघीय संसद्को हिउँदे अधिवेशन आह्वानसँगै संसदीय समितिले विधेयकको छलफललाई तीव्रता दिन खोजे पनि सकस परेको छ । खासगरी सांसदहरूको अनुपस्थितिले बैठक बस्न समस्या भएर छलफल चलाउन सकस भएको हो । 

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल गर्न सोमबार ११ बजे बोलाइएको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सोमबार मुस्किलले बस्न सक्यो । समितिले विधेयकमा दफाबार छलफलका लागि नौजना संशोधनकर्ता सांसदलाई बोलाएको थियो । संशोधनकर्ता उपस्थित भइसक्दा पनि सांसदहरू नआउँदा कोरम नै पुगेन । 

निर्धारित समयको ३० मिनेटसम्म कोरम नपुगेमा बैठक स्थगित गर्नुपर्ने नियम छ । तर, हिउँदे अधिवेशनका लागि विधेयक टुंग्याउनुपर्ने दबाबमा रहेकी कृषि समिति सभापति डा. आरजु राणा देउवाले चलाउनुपर्ने भन्दै अगाडि बढाइन् । एमाले सांसद रघुजी पन्तले विधि निर्माण गर्ने थलोमै सांसदले विधि मानेनन् प्रश्न उठ्ने भन्दै बैठक स्थगित गर्न अनुरोध गरे । उनले विधेयकमा छलफल चलाउँदा विभागीय मन्त्री पनि उपस्थित नभएको भन्दै प्रश्न उठाए । समितिले विधेयकको छलफलका लागि कृषि तथा पशुपक्षीमन्त्री बेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई बोलाएको थियो । कोरम पनि नपुगेको र मन्त्री पनि उपस्थित नभएको प्रश्नपछि सभापति देउवा दबाबमा परिन्, बैठक बुधबारका लागि सार्ने निष्कर्षमा पुगिन् । सभापतिले अर्काे बैठक बुधबार राख्ने भनेर सांसदहरू उठेपछि वाणिज्यमन्त्री रिजाल कृषि समितिको हलमा प्रवेश गरे । रिजालले आफूहरू आइसकेको भन्दै छलफल अगाडि बढाउन अनुरोध गरे, वाणिज्यतर्फ सांसदहरूले उठाएका विषयमा जवाफ दिने जानकारी गराए । 

त्यसपछि एमाले सांसद पन्तले चलाउन सकिन्छ, तर विधि मिच्ने कुरा मान्य नहुने बताए । सभापति देउवाले के गर्ने भनेर सोधेपछि पन्तले यो सभापतिले गर्ने निर्णय भएको जवाफ दिए । त्यतिवेलासम्म समितिमा १२ जना सांसद उपस्थित भइसकेका थिए । कोरम पुग्न एकजना सांसद आवश्यक थियो । सदस्य कुसुमदेवी थापा प्रवेश गरिन्, कोरम पनि पुग्यो । सभापति देउवाले मन्त्री पनि आउनुभयो, कोरम पनि पुग्यो, अब अगाडि बढौँ भन्दा सांसद पन्तले मैले उठाएका कुरा थाती नै छन्, आगामी बैठकमा यी कुरालाई ध्यान दिइयोस्, तर अहिले अगाडि बढ्ने हो भने म कुरा राख्छु भनेर आफ्नो संशोधन प्रस्तुत गरे । बैठकको अन्तिममा सभापति देउवाले यो विधेयकलाई समितिले उच्च प्राथमिकताका निष्कर्षमा पुर्‍याउने भन्दै सबै सांसदको सक्रिय सहभागिताका लागि अनुरोध गरिन् । 

यसअगाडि आइतबार अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयकको छलफलमा संशोधनकर्ता उपस्थित भएनन् । विधेयकमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र सञ्चारमन्त्री रेखा शर्मालाई बोलाएको थियो, दुवै मन्त्री उपस्थित भए । तर, नौजना संशोधनकर्तामध्ये पाँचजना अनुपस्थित भएकाले विधेयकको छलफलले पूर्णता पाएन । समिति सभापति रामहरि खतिवडा संशोधनकर्ता सांसद उपस्थित नभइदिँदा अर्काे दिन पनि चलाउने तयारीमा छन् । यसका लागि बुधबार बैठक राख्ने तयारी भइरहेको उनी बताउँछन् । 

यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले अभिलेख संरक्षणसम्बन्धी ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकको दफाबार छलफल गर्न १२ माघमा बैठक बोलाए पनि कोरम नपुगेर स्थगित भएको थियो । समिति सचिवालयका अनुसार २७ मध्ये नौ सदस्य मात्रै उपस्थित थिए । कोरम पुग्न ५० प्रतिशत संख्या उपस्थित हुनुपर्छ, अर्थात् १४ जना आवश्यक पर्छ । आवश्यक संख्या नपुगेपछि बैठक स्थगित गरेका सभापति राजकिशोर यादवले अधिवेशन बस्नुअगावै विधेयकमा छलफल टुंग्याउन खोजे पनि सकस परेको बताए । केही नेपाल ऐन संशोधन विधेयकमा छलफल चलाइरहेको कानुन न्याय तथा मानव अधिकार समितिमा पनि संशोधनकर्ता उपस्थित नहुँदा छलफल लम्बिएको छ । यो विधेयकमा ६० सांसदले संशोधन हालेका छन् । समिति सचिवालयका अनुसार बोलाएको दिन संशोधनकर्ता सांसद नआइदिँदा विधेयकको छलफल लम्बिरहेको छ । यद्यपि, शिक्षा समितिले सार्वजनिक सेवा प्रसारण विधेयक, विद्यालय शिक्षा विधेयकमा नियमित छलफल चलाइरहेको छ । 

कृषि समितिमा चर्काचर्की
विधेयकको छलफलका क्रममा सोमबार कृषि समितिमा तनाव भएको छ । सभापति र मन्त्रीसँग सांसदहरूको चर्काचर्की परेको हो । छलफलका क्रममा संशोधनकर्ता सांसद गोकुल बाँस्कोटा र उद्योगमन्त्री रमेश रिजालबीच भनाभन भएको थियो । एमालेकी विद्या भट्टराईलाई समय दिँदा बाँस्कोटाले पालो मिचिएको विषयमा प्रश्न उठाउँदा मन्त्री रिजालले एउटै पार्टीबाट जो बोले पनि हुने भनेका थिए । त्यसपछि बाँस्कोटाले गठबन्धनबाट मन्त्री भएपछि अरू किन बोल्नुपर्‍यो, संशोधन किन राख्नुपर्‍यो, सभापतिको रुलिङ चल्छ कि मन्त्रीको भनेर प्रतिवाद गरेका थिए । मन्त्री रिजाल र सांसद बाँस्कोटाबीच भनाभन भएपछि सभापति आरजु राणा देउवाले स्थिति सम्हाल्दै एमालेकी भट्टराईलाई समय दिएकी थिइन् । भट्टराईले संशोधनकर्ता सांसदले संशोधन हालेको समयअनुसार नै क्रम मिलाएर समय दिने अभ्यास रहेको भन्दै समितिमा अभ्यास मिचिएकोमा सभापतिको ध्यानाकर्षण गराइन् । त्यसपछि बाँस्कोटाले समय पाएर बोलेका थिए । 

बाँस्कोटापछि बोलेका नेमकिपाका प्रेम सुवाल र सभापति देउवाबीच चर्काचर्की नै पर्‍यो । प्रजातान्त्रिक समाजवाद व्यवहारमा देखिनुपर्ने, उत्पादनदेखि बजारमा वितरण तथा खपतसम्म स्वदेशी हुनुपर्नेमा जोड दिँदै उनले अहिले सबै नक्कली कुरा भइरहेको बताए । विधेयकमा राखेको संशोधनभन्दा बाहिर सुवालले कुरा राख्न थालेपछि सभापति देउवाले टु दी पोइन्टमा आउनुस् भनेर ध्यानाकर्षण गराउँदा सुवाल जंगिएका थिए । उनले आफू विषयवस्तुमै रहेको, सरकारलाई घोचेपछि विषयमा नरहेको भन्ने, गरिब जनताको कुरा नसुन्ने, पक्षपात गर्ने भनेर टेबल नै ठोकेका थिए । त्यसपछि मन्त्री र सभापतिले बस्नुस्, आफ्नो कुरा राख्नुस्, पक्षपात गरेको छैन भनेपछि सुवालले आफ्नो कुरा राख्दै टुंग्याएका थिए ।