
नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निकासन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा मागभन्दा बढी आवेदन परेको थियो । पुस ३ गते बैंकिङ समयपश्चात् डिबेन्चर बन्द गरिएको नबिलले जनाएको छ ।प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिएकोमा पहिलोपटक दिएको समयमा नै सबै डिबेन्चर बिक्री भएको बैंकले जनाएको छ ।
बैंकले बिक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँबराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिएको थियो । सर्वसाधारणलाई छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६ करोड रुपैयाँबराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको थियो ।
यस सातवर्षे ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने बताइएको छ । नबिल बैंकले हाल देशभर दुई सय ६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र तीन सय १३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।