मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० पौष १ आइतबार १५:४७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नाटोको सदस्यतापछि फिनल्यान्डसँग ‘समस्या’ आउने पुटिनको चेतावनी

Read Time : < 1 मिनेट
२०८० पौष १ आइतबार १५:४७:००

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको प्रारम्भमा नाटोमा सामेल भएपछि छिमेकी मुलुक फिनल्यान्डसँग ‘समस्या’ हुने चेतावनी दिएका छन्। उनले जवाफमा मस्कोले उत्तर–पश्चिम रुसमा नयाँ सैन्य जिल्ला बनाइने बताए। 

रुससँग एक हजार तीन सय ४० किलोमिटर सीमा साझा गर्ने फिनल्यान्ड यस वर्षको अप्रिलमा युक्रेन हमलाबीच नाटोमा सामेल भएको थियो। 

‘उनीहरू (पश्चिम)ले फिनल्यान्डलाई नाटोमा ताने, के हाम्रो तिनीहरूसँग कुनै विवाद छ ? २०औँ शताब्दीको मध्यमा क्षेत्रीय विवादसहित सबै विवाद लामो समयदेखि सुल्झिसकेका छन्,’ पुटिनले एक सरकारी टेलिभिजन रिपोर्टरसँग भने, ‘त्यहाँ कुनै समस्या थिएन, अब हुनेछ किनकि हामी लेनिनग्राड सैन्य जिल्ला बनाउनेछौँ र त्यहाँ निश्चित संख्यामा सैन्य एकाइहरू केन्द्रित गर्नेछौँ।’

फिनल्यान्डले रुसमाथि आप्रवासी संकट उत्पन्न गरेको आरोप लगाउँदै रुससँगको आफ्नो सीमा पुनः बन्द गरेपछि पुटिनको यस्तो टिप्पणी आएको हो। मस्कोले हेलसिन्की नाटोमा सामेल भएकामा जवाफी कदम चाल्ने चेतावनी दिएको छ। 

रुससँग नाटो मुलुकहरूसँग युद्ध गर्नुपर्ने कुनै कारण नभएको पुटिनले बताए। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै महिना यदि युक्रेनमा सफल भयो भने मस्को त्यहाँ ‘नरोकिने’ चेतावनी दिए। 

‘रुसबारे गलत नीतिलाई औचित्य साबित गर्न यो बयानबाजी हो,’ पुटिनले भने। मस्कोलाई नाटो मुलुकहरूसँग लड्न भूराजनीतिक, आर्थिक वा सैन्य दृष्टिले कुनै चासो नभएको उनको भनाइ थियो। क्रेमलिनको युक्रेन अभियानले नाटोको पूर्वी हिस्सामा रुसी आक्रमणको डरलाई पुनः जागृत गरेको छ।