१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० मङ्सिर २८ बिहीबार ०८:३३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कैलालीले शारदालाई २ रनले हरायो

कैलाली बहुमुखी क्याम्पसको जितमा अभिषेक कुँवरले सर्वाधिक ५१ रन बनाउन ३९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे

Read Time : > 1 मिनेट
२०८० मङ्सिर २८ बिहीबार ०८:३३:००

लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)अन्तर्गत बुधबारको खेलमा काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली बहुमुखी क्याम्पस विजयी भएका छन् । कैलालीले कैलालीको शारदा माविलाई २ रनको झिनो अन्तरले हरायो । कैलालीले १५० रनको लक्ष्य दिएको थियो । 

शारदाले २० ओभरमा १४७ रन बनायो । शारदाका लागि शंकर बोहरा र सुशान्त कार्कीले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन । शंकरले ४३ बलमा ६ चौका मद्दतमा ५० रन बनाए । सुशान्तले २८ बलमा ५ चौका र २ छक्काको मद्दतले अविजित ५१ रन जोडे । 

कैलालीको बलिङमा दीपक कँडेल, लोकेन्द्र खनाल र पारस रोकायाले समान एक विकेट लिए । टस जितेर ब्याटिङ गरेको कैलाली क्याम्पसले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो । कैलालीका लागि अभिषेक कुँवरले सर्वाधिक ५१ रन बनाए । खेलमा प्लेयर अफ द म्याच घोषित उनले ३९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, रोशन रावलले २९, लोकेन्द्र खनालले २१ र प्रवीणसिंह ठकुरीले १५ रन बनाए । शारदाका सुनीलबहादुर सिंहले सर्वाधिक तीन विकेट लिए । अभिषेक मल्लले दुई विकेट हात पारे । सुनील सिंह, विश्वास पन्त र सलिन बोहराले समान एक विकेट लिए ।

एक्सिलेन्स तीन विकेटले विजयी
पहिलो खेलमा एक्सिलेन्सले कञ्चनपुरको जेएस स्पोर्टस्–११ सुपर स्टार्सलाई तीन विकेटले पराजित गर्‍यो । जेएस स्पोर्टस्–११ ले दिएको १३२ रनको लक्ष्य एक्सिलेन्सले ७ विकेट गुमाएर १८.५ ओभरमा पूरा गर्‍यो । एक्सिलेन्सका लागि योगेश भाटले सर्वाधिक ३० रन बनाए । त्यस्तै अर्जुन घर्तीले २२, राजकुमार शाहले २० र सचिन लेखकले १९ रन बनाए । जेएस स्पोर्टस्–११ का बलर साजन बिटालुले तीन विकेट लिए ।

विकास सुनारले दुई विकेट हात पारे ।त्यसअघि टस जितेर ब्याटिङ गरेको जेएस स्पोर्टस्–११ सुपर स्टार्सले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन बनाएको थियो । जेएस स्पोर्टस्का राज बमले अर्धशतकीय रूपमा ६१ रन बनाए । उनले ४९ बलमा समान चार चौका र छक्का प्रहार गरे ।

विकास सुनारले २२, सुनील चन्दले १६ र साजन बिटालुले १४ रन बनाए । म्यान अफ दी म्याच एक्सिलेन्स सेन्टरका बलर अभिनाश बस्यालले चार विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै ११ रन खर्चिए । मनोज यादवले दुई विकेट हात पारे । तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको एक्सिलेन्स दोस्रो चरण प्रवेश गर्न सकेन ।

 तीन टोली सेमिफाइनलमा
प्रतियोगिताको सेमिफाइनल पुग्ने तीनवटा टिमको टुंगो लागिसकेको छ । समूह ‘बी’बाट युथ अफ टीकापुर, समूह ‘सी’बाट घोडाघोडी क्रिकेट एकेडेमी र समूह ‘डी’बाट सत्यवती एकेडेमीले सेमिफाइनलमा स्थान बनाएका छन् । बिहीबार धनगढी स्पोर्टस् क्लब र खप्तड इन्डोर स्पोर्टस् ट्रेनिङ सेन्टरबीचको खेलपछि अन्तिम चारमा पुग्ने टोलीको छिनोफानो हुनेछ । धनगढी स्पोर्टस् क्लब विजयी भए सेमिफाइनलमा प्रवेश गर्नेछ । धनगढी पराजित भए धनगढी र शुक्लाफाँटा ब्ल्याक बक्सबीच नेट रनरेटमा टोलीको निर्णय हुनेछ ।