१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १४:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

लिटल फ्लावर प्रिमियर लिग १५ फागुनबाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:२३:oo

लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) आगामी १५ फागुनबाट सुरु हुने भएको छ । आयोजक लिटल फ्लावर स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिले धनगढीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी थालिएको जनाएको छ ।

धनगढीस्थित संघीय प्रहरी कार्यालयको खेल मैदानमा हुने प्रतियोगिताका लागि प्रायोजक खोज्ने, आयोजक टिम बनाउने, सहभागी हुने विद्यालयलाई आमन्त्रण गर्नेलगायत कार्य भइरहेको प्रालिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

देशभरका करिब १२ वटा विद्यालयको सहभागिता रहने यो प्रतियोगितामा १९ वर्षमुनिका राष्ट्रिय खेलाडीहरू पनि विद्यालयको टिमबाट खेल्ने आयोजकले जनाएको छ । एउटा टिमले १९ वर्षमुनिका दुईजना राष्ट्रिय खेलाडी सहभागी गराउन सक्ने व्यवस्था गरिएको छ । गत संस्करणमा पनि विद्यालयको टिमबाट राष्ट्रिय खेलाडीले सहभागिता जनाएका थिए ।

राष्ट्रियस्तरका खेलाडीसँग खेल्न पाउँदा विद्यालयस्तरबाट राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजकको दाबी छ । ‘धनगढी प्रिमियर लिगजस्ता ठूला प्रतियोगितामा सहभागिता जनाउन सक्ने खेलाडी तयार गर्नु प्रतियोगिताको उद्देश्य हो ।’ अध्यक्ष शाहीले भने, ‘राष्ट्रियस्तरका खेलाडीसँग खेल्न पाउँदा विद्यालयस्तरका खेलाडीले सिक्ने मौका पाउँछन् । उनीहरूका लागि यो अवसर पनि हो ।’

महामारीको परिस्थिति यही अवस्थामा रहे प्रतियोगिता नरोकिने आयोजकको भनाइ छ । अहिलेकै परिस्थिति रहे स्वास्थ्य सावधानी अपनाएर भए पनि प्रतियोगिता गर्ने अध्यक्ष शाहीले बताए । महामारी विकराल बनेर लकडाउनको अवस्थाबाहेक प्रतियोगिता नरोकिने उनको भनाइ छ । 

‘अहिलेको प्रतिकूल अवस्थामा पनि प्रतियोगिताले निरन्तरता पाओस् र खेलाडीले आफ्नो क्षमता देखाउने अवसर पाउन भनेर कोरोना महामारीकै बीच प्रतियोगिता गर्न लागेका हौँ ।’ अध्यक्ष शाहीले भने, ‘विगत वर्षमा जस्तै यस वर्ष पनि यु–१९ राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ ।’ 

क्रिकेटको सहरको रूपमा परिचित धनगढीमा कोरोना महामारीका कारण लामो समयदेखि क्रिकेटलगायत कुनै पनि खेलका प्रतियोगिताहरू हुन सकेका छैनन् । ‘कोरोनाका कारण प्रतियोगिताहरू हुन नपाउँदा खेलाडीहरू गुम्सिएर बस्नु परेको छ । खेलाडीले आफ्नो क्षमता गुमाउने अवस्था नआओस् भनेर प्रतिकूल अवस्थामा पनि प्रतियोगितालाई निरन्तरता दिन खोजेका हाैँ ।’ शाहीले भने ।

धनगढीलाई क्रिकेटको सहरको रूपमा चिनाएको देशकै ठूलो प्रतियोगिता धनगढी प्रिमियर लिग (डिपिएल)को गत संस्करण हुन सकेन । महामारीका कारण यस वर्ष पनि प्रतियोगिता अनिश्चित छ । ठूला प्रतियोगिताहरू  हुन नसकेका वेला खेलकुद गतिविधिलाई निरन्तरता दिन र खेलाडीलाई सक्रिय बनाउन एलपिएलजस्ता प्रतियोगिताहरू महत्त्वपूर्ण हुने खेलप्रेमीले बताएका छन् ।

धनगढीलाई क्रिकेटको सहरको रूपमा चिनाउने डिपिएलको अभियानलाई एलपिएलले पनि सहयोग पुग्ने अध्यक्ष शाहीको विश्वास छ । गत संस्करणको एलपिएल विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गरेका थिए । यस वर्षको पुरस्कार राशि भने केही दिनमा घोषणा गरिने आयोजकले जनाएको छ । 

पाँच वर्षयता बर्सेनि निरन्तर हुँदै आएको राष्ट्रियस्तरको एलपिएलमा देशभरका विभिन्न जिल्लाबाट विद्यालय टिम सहभागी हुने गरेका छन् । 
 

ad
ad