१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

शुक्लाफाँटा फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:o४:oo

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)अन्तर्गत मंगलबार भएका खेलमा कञ्चनपुरको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन्।

पहिलो खेलमा शुक्लाफाँटा ब्ल्याकबक्सले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित गर्‍यो। शुक्लाफाँटाले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको कैलालीले १८.४ ओभरमा ९३ रन बनाउँदा सबै विकेट गुमायो। कैलालीका नरेन साउदले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

शुक्लाफाँटाको बलिङमा वसन्त खत्री, भारत चन्द र निरञ्जन गौतमले २-२ विकेट लिए। त्यस्तै, भारत चन्द, कैलाश ऐर, सुशील रावल र विकास ऐरले १-१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको शुक्लाफाँटा ब्ल्याकबक्सले २० ओभरमा ५ विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो। शुक्लाफाँटाका दुई ब्याटरले अर्धशतकीय पारी खेले। उसका किरण ठगुन्नाले सर्वाधिक ७० रन बनाए। जुन क्रममा उनले ४२ बलमा १० चौका र १ छक्का प्रहार गरे।

त्यस्तै, विशाल ऐरले ४३ बलमा ६ चौका र २ छक्काको मद्दतले ५४ रन बनाए। लोकेश जोशीले ३७ रन बनाए। कैलाली क्रिकेट क्लबका विनोद बोहराले ३ र धर्मराज जोशीले २ विकेट लिए।

समूह चरणमा सबै ३ खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको शुक्लाफाँटाले समूह ‘ए’बाट सेमिफाइनल सम्भावना जीवितै राखेको छ। दुवै खेल जितेको धनगढी स्पोर्टस् क्लब अन्तिम खेलमा खप्तड इन्डोरसँग पराजित भएको खण्डमा शुक्लाफाँटा र धनगढीमध्ये नेट रनरेटमा अघि हुने टिम सेमिफाइनल पुग्नेछ।

मंगलबार नै भएको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले कैलालीको शारदा माविलाई ८१ रनले पराजित गर्‍यो। एक सय ७१ रनको लक्ष्य पछ्याउने क्रममा शारदा १५.५ ओभरमा ८९ रनमा समेटियो। शारदाका अभिषेक मल्लले ४१ रन र जीवन चन्दले ११ रन बनाए। उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

धनगढी क्रिकेट एकेडेमीका लेग स्पिनर युवराज खत्रीले ४ विकेट लिए। उनले ३.५ ओभरमा १६ रन खर्चिए। त्यस्तै, विजय रानाले २ तथा हिक्मत महरा, मान साउद र नीरज ऐरले १-१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७० रन बनाएको थियो। धनगढीको ब्याटिङमा मान साउदले सर्वाधिक ३७ रन बनाए। त्यस्तै, सचिन साउदले ३५, युवराज खत्रीले २९ तथा विजय रानाले २३ रन बनाए। एक सय १५ रनमा ७ विकेट गुमेको अवस्थामा युवराजले अविजित ५५ रनको साझेदारी गरे।

धनगढी र शारदा दुवै टिम सेमिफाइनलको दौडबाट भने बाहिरिएका छन्।

ad
ad