१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पुसभित्र बाह्रबिसे सबस्टेसन नबने मध्यभोटेकोशीको विद्युत् खेर जाने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o८:oo

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् खेर जाने अवस्था आउने देखिएपछि नेपाल विद्युत् प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । बिहीबार प्राधिकरणको उच्चस्तरीय टोलीले आयोजना निर्माणस्थल भ्रमण गरेर तत्काल काम सम्पन्न गर्न ताकेता गरेको हो । 

उक्त सबस्टेसन नबनेमा चिलिमे जलविद्युत् कम्पनीले सिन्धुपाल्चोकमा बनाइरहेको एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको बिजुली खेर जाने देखिएको छ । सोही अवस्था आउन नदिन आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण समयमै सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको हो । 

आगामी पुसभित्र मध्यभोटेकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य सकिँदै छ । सोही अवधिभित्र यस सबस्टेसनको निर्माण सम्पन्न नभएमा उक्त आयोजनाको विद्युत् खेर जाने अवस्था आउँछ । प्राधिकरणका अनुसार उक्त सबस्टेसनको निर्माण सम्पन्न गर्ने तालिका भने पुसपछि अर्थात् आगामी माघ पहिलो साताभित्र छ । त्यो समयभित्र सबस्टेसन निर्माण भएको अवस्थामा मध्यभोटेकोशीको विद्युत् व्यवस्थापन गर्न सकिने प्राधिकरणको भनाइ छ । 

कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गरी बाँकी कामहरू तत्काल सम्पन्न गर्न निर्देशन पनि दिएको छ । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको थियो । 

कार्यकारी निर्देशक घिसिङले निर्माण व्यवसायीले पछिल्लो समयमा आफ्नो कार्यसम्पादनमा सुधार गरी सबस्टेसन निर्माणमा राम्रो प्रगति हासिल गरेको बताए । घिसिङले सबस्टेसनमा राखिने सम्पूर्ण उपकरणहरू आपूर्ति भइसकेको र केही जडान पनि भइसकेको अवस्थामा जनशक्ति थप गरी जडानकार्यलाई तीव्रता दिन निर्देशन दिएका थिए । ‘मध्यभोटेकोशी विद्युत् उत्पादन सुरु गर्ने अवस्थामा पुगेको छ, आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनुभन्दा पहिले नै सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्छ,’ उनले भने, ‘काठमाडौं उपत्यकानजिक रहेको मध्यभोटेकोशीले यस वर्षको सुक्खायामको विद्युत्को माग धान्नका लागि ठूलो सहयोग गर्छ, त्यसैले सबै गम्भीर भएर सबस्टेसन निर्माणमा लागेर आयोजनाको विद्युत् जतिसक्दो छिट्टो जोड्ने अवस्थामा पुगौँ, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्न तयार छौँ ।’

बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । 

प्राधिकरणले कार्यसम्पादनमा सुधार गर्न पटक–पटक दिएको निर्देशक निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभई मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिँदै आएको छ ।   

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/११ केभी, पाँच एमभिएका पावर ट्रान्सफर्मरहरू राखिएका छन् । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरू जडान भइरहेका छन् । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरू निर्माणस्थलमा आपूर्ति भइसकेका छन् भने जडान बाँकी छ । सिभिलतर्फको फिनिसिङ काम बाँकी छ । २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९० प्रतिशत छ । बाह्रबिसेमै चार सय केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । 

कार्यकारी निर्देशक घिसिङको टोलीले मध्यभोटेकोशी जलविद्युत् आयोजनाको पनि अनुगमन गरेको थियो । आयोजना पुसभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् दुई सय २० केभी प्रसारणलाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युत्गृहको स्विचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो दुई सय २० केभी सिंगल सर्किट प्रसारणलाइनका टावरहरू निर्माण गरिसकेको छ । प्रसारणलाइनको करिब दुई किलोमिटर तार तानिएको छ । 

बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण दुई किलोमिटर तार तान्न नसकिएको मध्यभोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल सिवाकोटीले बताए । समस्या समाधानका लागि स्थानीयसँग निरन्तर छलफल भइरहेकाले छिट्टै सहमतिमा पुग्ने विश्वास उनले बताए । 

प्राधिकरणले मध्यभोटेकोशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि २२०/१३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको एक सय ३२ केभी सिंगल सर्किट प्रसारणलाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ । 

कम्पनीले करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नुपर्नेछ भने बाह्रबिसे बजारनजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारणलाइन बनाउनुपर्नेछ । यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरणहरू आपूर्ति भइसकेका छन् । 

ad
ad