१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज २७ शनिबार ०७:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रद्द भयो एमसिसी प्रसारणलाइन निर्माणको टेन्डर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज २७ शनिबार ०७:५२:००

लागतभन्दा बढी मूल्यमा वित्तीय प्रस्ताव परेपछि मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले प्रसारणलाइन निर्माणसम्बन्धी आह्वान गरेको बोलपत्र रद्द गरेको छ । एमसिएले शुक्रबार सूचना जारी गर्दे बोलपत्र रद्द गरेको जानकारी दिएको हो । 

अब आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै नयाँ टेन्डर आह्वान गर्ने एमसिए नेपालको तयारी छ । अमेरिकाबाट मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)ले नै हालको टेन्डर रद्द गरेर नयाँ टेन्डर आह्वान गर्न एमसिए नेपाललाई भनेको थियो । त्यसपछि एमसिए नेपालले यो टेन्डर रद्द गरेको हो । 

यसअन्तर्गत कुल तीन सय १५ किलोमिटर लामा चार प्रसारण लाइन बन्दै छन् । त्यसको निर्माणका लागि तीन लटमा विभाजन गरेर गत १२ मंसिर (नोभेम्बर २८) देखि ७ जेठ (२२ मे तारिख)सम्म टेन्डर आह्वान गरिएको थियो । त्यसमा भारतका मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडले संयुक्त, कल्पतरु पावर ट्रान्समिसन लिमिटेड, केइसी इन्टरनेसनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एन्ड टर्बो लिमिटेड गरेर ६ वटा आवेदन परेका थिए ।

मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडको संयुक्त प्रस्ताव प्राविधिक रूपमा फेल भएको थियो । प्राविधिक रूपमा पास भएका अन्य पाँच कम्पनीको वित्तीय प्रस्ताव एमसिए नेपालले १९ भदौमा खोलिएको थियो । त्यसक्रममा उक्त तीन लटमा परेको न्यूनतम वित्तीय प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत बढी थियो । 

एमसिए नेपालले प्रसारणलाइनको लागत अनुमान २२ करोड ६ लाख डलर गरेको छ । तर, ३६ करोड ५९ डलरबराबरको न्यूनतम प्रस्ताव परेको थियो । जुन अनुमानित लागतभन्दा १४ करोड ५३ लाख डलरभन्दा बढी हो । उक्त बजेटमा काम गर्दा पैसा नपुग्ने देखिएपछि टेन्डर रद्द गरेर पुनः टेन्डर आह्वान गर्न लागिएको हो ।