१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १२:o१:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दुई महिनामा साढे पाँच अर्बको विद्युत् निर्यात, ३३ अर्बको पेट्रोलियम आयात

यो वर्ष १५ अर्बको बिजुली निर्यात गर्ने लक्ष्य, पेट्रोलियम आयात करिब तीन खर्ब पुग्ने अनुमान

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o१:oo

चालू आर्थिक वर्ष ०८०/८१ को पहिलो दुई महिनामा पाँच अर्ब ४२ करोड ३१ लाख रुपैयाँको बिजुली निर्यात भएको छ । तर, साउन र भदौमा ३३ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।गत आर्थिक वर्ष ०७८/७९ देखि भारततर्फ विद्युत् निर्यात सुरु भएको हो । गत आवको तुलनामा चालू आवको दुई महिनामा विद्युत् निर्यात २३.१५ प्रतिशतले बढेको छ । चालू आवको साउनमा एक अर्ब ९४ करोड ८४ लाख र भदौमा तीन अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । साउनमा ८.१३ रुपैयाँ र भदौमा १२.२७ रुपैयाँ प्रतियुनिटका दरले भारतमा विद्युत् निर्यात गरिएको हो ।  

विद्युत्को निर्यात बढेसँगै पेट्रोलियम पदार्थको आयात पनि बढेको छ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहका अनुसार साउन १ देखि १५ सम्म सात अर्ब ३५ करोडको पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास) आयात भएको थियो । त्यस्तै, १७ साउनदेखि १४ भदौसम्म १७ अर्ब ३७ करोड र भदौ १५ देखि ३१ गतेसम्म थप नौ अर्बको पेट्रोलियम आयात भएको शाहले जानकारी दिए ।

साउन र भदौ महिनालाई पेट्रोलियम पदार्थ खपतको दृष्टिकोणले बेमौसम मानिन्छ । यही कारण पनि तुलनात्मक रूपमा कम आयात भएको निगमले जनाएको छ । विकास निर्माणका काम अघि बढेका वेला मासिक २५ अर्बभन्दा बढीको पेट्रोलियम आयात हुने निगमको भनाइ छ । 

अघिल्लो आवको तुलनामा गत आव ०७८/७९ मा पेट्रोलियम पदार्थको खपत घटे पनि चालू आव सुरु भएसँगै बिस्तारै बढ्न थालेको छ । आयल निगमको तथ्यांकअनसार गत वर्ष साउनमा १ लाख ८७ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको थियो । यो वर्षको साउनमा बढेर दुई लाख चार हजार किलोलिटर पेट्रोलियम आयात भएको छ ।

 १५ अर्बको विद्युत् निर्यात गर्ने लक्ष्य
विद्युत् प्राधिकरणले कात्तिक ०७८ देखि भारतीय बजारमा व्यावसायिक रूपमा विद्युत् निर्यात गर्दै आएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको हो । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही समयअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब एक सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड एनभिभिएनलाई बिक्री गरिरहेको छ । 

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी ६ सय ३२ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति छ । यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट नेपालको विदेशी मुद्रा संचितीर दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताए । ‘देशभित्र उत्पादित विद्युत् यहीँ खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौँ, विद्युत् नपुगेका ठाउँमा विद्युत् पुर्‍याउनका लागि विद्युतीकरणको कार्य पनि चलिरहेको छ,’ उनले भने, ‘खपत गरी बचत भएको विद्युत् निर्यात गर्न दुई देशबीचको अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्ण रूपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौँ ।’

प्राधिकरणले यो वर्ष भारतमा १५ अर्ब रुपैयाँसम्म विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ । गत आवमा १० अर्ब ४५ करोड रुपैयाँको विद्युत् निर्यात भएको थियो ।आयल निगमको प्रारम्भिक आकलनअनुसार चालू आवमा करिब तीन खर्ब रुपैयाँको  पेट्रोलियम पदार्थ आयात हुने देखिएको छ । गत आवमा दुई खर्ब ८१ अर्ब रुपैयाँको पेट्रोलियम आयात भएको थियो । जुन अघिल्लो आवको तुलनामा २७ अर्ब रुपैयाँले कम हो । चालू आवमा खपत परिमाण वृद्धि हुँदै गएकाले आयात तीन खर्ब रुपैयाँ हाराहारी पुग्ने निगमको प्रक्षेपण छ ।

 विद्युत् खपत बढाउने र पेट्रोलियम पूर्वाधार निर्माण गर्ने नीति सँगसँगै
सरकारको नीति, कार्यक्रम र बजेटमा पेट्रोलियमको आयात घटाई विद्युत्को प्रयोग बढाउने नीति एउटा बुँदामा र पेट्रोलियम पूर्वाधार निर्माणलाई तीव्रता दिने नीति अर्को बुँदामा उल्लेख गर्ने गरेको छ । यस्ता परस्पर बाझिने नीतिका कारण पेट्रोलियको आयात बढिरहेको छ भने बिजुलीको खपत अपेक्षाकृत वृद्धि हुन सकिरहेको छैन । 

चालू आवको बजेट वक्तव्यको बुँदा १६५ मा न्यूनतम तीन महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी पेट्रोलियम भण्डारण क्षमता वृद्धि गर्ने उल्लेख छ । यो नीतिअनुसार झापा र चितवनमा ठूलो क्षमताको पेट्रोलियम भण्डारणगृह बनाउन र सो ठाउँसम्म पाइपलाइनबाट तेल ल्याउन आयल निगमले गृहकार्य अघि बढाइसकेको छ । त्यस्तै, पोखरामा हवाई इन्धन भण्डारणगृह र अमलेखगन्जमा ठूला क्षमताका दुईवटा पेट्रोल भण्डारणगृह निमाणको काम अन्तिम चरणमा छ ।

चालू आवकै बजेटको बुँदा नम्बर ३५६ मा भने आयातीत इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रतिव्यक्ति विद्युत् खपत वृद्धि गरी चार सय ५० किलोवाट घन्टा पुर्‍याउने लक्ष्य राखिएको छ । हाल प्रतिव्यक्ति तीन सय ८० किलोवाट घन्टा विद्युत्को उपलब्धता छ ।त्यस्तै, बजेट वक्तव्यको बुँदा नम्बर तीन सय ६१ मा आयातीत इन्धनलाई निरुत्साहित गरी हरित ऊर्जा उपयोग र प्रवद्र्धनलाई जोड दिनेसमेत उल्लेख छ ।

अपेक्षाकृत बढ्न सकेन बिजुली गाडी र इन्डक्सनको प्रयोग
बिजुलीको पर्याप्तता बढेसँगै इलेक्ट्रिक भेहिकलको प्रयोग बिस्तारै बढ्न थालेको छ । गत आव ०७९/८० मा चार हजार ५० वटा विद्युतीय सवारीसाधन आयात भएको सरकारी तथ्यांक छ । त्यस्तै, चालू आव ०८०/८१ को साउनमा एक सय १० वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । अप्ठ्यारो सडक र चार्जिङ सुविधाको न्यून उपलब्धताका कारण विद्युतीय सवारीसाधनको प्रयोग अपेक्षाकृत बढ्न सकेको छैन ।

चालू आवको बजेट वक्तव्यको बुँदा नम्बर ३६२ मा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गरी निजी क्षेत्रसमेतको लगानीमा चार्जिङ स्टेसनहरूको विस्तार गर्ने उल्लेख छ । बर्सेनि बजेटमा यस्ता विषय राख्ने भए पनि पर्याप्त मात्रामा चार्जिङ स्टेसनहरू स्थापना हुन सकेका छैनन् ।

त्यस्तै, सरकारले खाना पकाउने एलपी ग्यासको आयात निरुत्साहित गर्न इन्डक्सन चुलोको प्रयोग बढाउन प्रोत्साहन गरे पनि सफल हुन सकेको छैन । इन्डक्सन चुलोको सुरुवाती लगानी महँगो पर्ने, थोरै क्षमताका विद्युतीय उपकरण मात्र धान्ने गरी घर–घरमा मिटर जडान भएको र नियमित विद्युत् आपूर्तिमा समेत समस्या देखिएको हुँदा इन्डक्सन चुलोको प्रयोग बढ्न सकेको छैन । फलस्वरूप, बर्सेनि ग्यास खपत बढिरहेको छ । गत आवमा मात्रै ५१ अर्ब २१ करोड रुपैयाँको ग्यास आयात भएको थियो । 

ad
ad