१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

चिकित्सक कुटपिट प्रकरण : पक्राउ परेकालाई थपियो म्याद, थप पाँचविरुद्ध पक्राउ पुर्जी जारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:४३:oo

चिकित्सक कुटपिटको आरोपमा पक्राउ परेका पाँचजनालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतले म्याद थप गरेको छ । गत २७ भदौमा हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत दुई चिकित्सकमाथि कुटपिट भएपछि प्रहरीले पाँचजनालाई नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको छ । 

जिल्ला अदालत मकवानपुरले थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई म्याद थप गरेको हो । बिरामीको उपचार गरिरहेका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि वार्डबाट तानेर ल्याई कुटपिट भएको थियो । हेटौँडा–१२ की रमा प्रधान, रमिला प्रधान, रोहन प्रधान र अनुप प्रधान गत बिहीबारदेखि प्रहरी हिरासतमा छन् ।

यसैबीच, प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अन्य पाँचजनालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले हाल हिरासतमा रहेकाहरूको बयान र अस्पतालबाट प्राप्त सिसिटिभी फुटेजको अध्ययनका आधारमा थप पाँचजनालाई घटनामा संलग्न भएको आधारमा पक्राउ पुर्जी जारी गरिएको जानकारी दिए ।

गत २५ साउनमा सञ्चो अस्पतालमा उपचार गराउन आएका हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर एक महिनापछि आफन्तले अस्पताल पुगेरै चिकित्सकमाथि कुटपिट गरेका थिए । अस्पताल प्रशासनका अनुसार उपचारका लागि ल्याइएका प्रधानलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो । उनको उपचारको क्रममा त्यहीँ मृत्यु भएको थियो । आफन्तले भने हेटौँडामै उपचारका क्रममा लापरबाही भएकाले मृत्यु भएको दाबी गर्दै आएका छन् ।

काममा फर्किए स्वास्थ्यकर्मी
चिकित्सक कुटपिटको घटनामा सरकार र चिकित्सक संघबीच सहमति भएपछि आन्दोलनरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी काममा फर्किएका छन् । डाक्टर कुटपिटको घटनामा संलग्न रहेका सबैलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै स्वास्थ्यकर्मीले आइतबार देशभरका निजी तथा सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेका थिए ।

आन्दोलनकै क्रममा हेटौँडा अस्पतालमा कार्यरत ७९ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका थिए । चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको र सबै काममा फर्किएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोलाप्रसाद चौलागाईंले जानकारी दिए । अध्यक्ष चौलागाईंले सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखी तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिए पनि घटनाको विरोधमा हातमा कालोपट्टी बाँधेर काम गर्ने तथा दोषीहरूलाई कारबाही नभए पुनः आन्दोलनमा फर्किने चेतावनी दिए ।

ad
ad