काठमाडौं । यस वर्षको दसैँ अवधिमा देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने देखिएको छ। तर, हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा भने बादल लाग्ने, हल्का वर्षा हुने र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालबाट मनसुन बहिर्गमन भइसकेको अवस्थामा पश्चिमी वायुको आंशिक प्रभावका कारण दसैँका केही दिन हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको दसैँ विशेष मौसम बुलेटिनअनुसार फूलपातीदेखि दसैँको टीकासम्म देशका विभिन्न भूभागमा मौसमको अवस्था फरक रहनेछ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान छ।
फूलपाती : फूलपातीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ।
मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
अष्टमी : अष्टमीका दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
नवमी : नवमीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने सम्भावना छ।
यी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
दसैँको टीका : दसैँको टीकाका दिन पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ।
यी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसरी फूलपातीदेखि टीकासम्मको अवधिमा देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा भने बदली, हल्का वर्षा र हिमपात हुन सक्नेछ।