नाै लाखभन्दा बढी मूल्यका मोबाइल डिस्प्ले र बडी प्यानल बरामद

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

बुटवल । प्रहरीले रुपन्देहीमा भन्सार छलीका नाै लाख रुपैयाँभन्दा बढी मूल्यको मोबाइलका डिस्प्ले तथा बडी प्यानल नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका– ७, बनरहवाबाट भन्सार छलीका उक्त सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार नियन्त्रणमा लिइएका सामानको अनुमानित मूल्य नाै लाख १८ हजार रुपैयाँ रहेको छ।

बरामद सामानमा एमआई मोबाइलका १६३ थान, रियलमीका ११२ थान, भिभोका ६४ थान, इन्फिनिक्सका ३२ थान, सामसुङका ६४ थान र आइफोनका दुई थान डिस्प्ले रहेका छन्। त्यस्तै, मोबाइलका ६ थान बडी प्यानल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको विवरणअनुसार एमआई डिस्प्लेको अनुमानित मूल्य तीन लाख २६ हजार, रियलमीको दुई लाख २४ हजार, भिभोको एक लाख २८ हजार, इन्फिनिक्सको ६४ हजार, सामसुङको एक लाख ६० हजार, आइफोनको १० हजार र मोबाइल बडी प्यानलको ६ हजार रुपैयाँ रहेको छ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि शुक्रबार भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार