एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकार गठनको कसरत

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

जनकपुरधाम । मधेश प्रदेशको सत्ता राजनीतिमा फेरि नयाँ समीकरणको सम्भावना बढेको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेशको राजनीतिक शक्ति सन्तुलन फेरि बदलिएको छ । सरकारमा सहभागी एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि मुख्यमन्त्री यादव सरकारको निरन्तरताका लागि थप राजनीतिक दबाबमा परेका छन् ।

सरकार गठन भएको एक वर्ष नपुग्दै दोस्रोपटक संकटमा परेको यादव नेतृत्वको सरकारको भविष्य अब मुख्यतः जनता समाजवादी पार्टी (जसपा) को निर्णयमा निर्भर देखिएको छ । अर्कोतर्फ, एमालेले कांग्रेसबाहेकको सरकार गठनका लागि पहल थाल्ने संकेत दिएपछि मधेशमा नयाँ सत्तागठबन्धन निर्माणको सम्भावना पनि बढेको छ ।

एमालेका प्रमुख सचेतक हरिनारायण महतोले कांग्रेसबाहेकको सरकार गठनका लागि पहल अघि बढाउने बताएका छन् । नयाँ सरकार निर्माणका विषयमा नेपाली कम्युनिस्ट पार्टीसँग समन्वय भइरहेको उल्लेख गर्दै उनले दसैँपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग पनि छलफल सुरु गरिने बताए । एमालेको यो संकेतले वर्तमान सरकारलाई निरन्तरता दिनेभन्दा वैकल्पिक सत्तासमीकरण निर्माणतर्फ राजनीतिक गतिविधि अघि बढ्न सक्ने देखाएको छ ।

नयाँ सरकारको लागि जसपा निर्णायक बन सक्छ 

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबिच पार्टी एकता भएपछि बनेको एकीकृत शक्ति २६ सांसदसहित सबैभन्दा ठुलो समूहका रूपमा रहेको छ । एमालेका २४, कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १४ र जनमत पार्टीका १२ सांसद छन् । नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन् ।

एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसद जोड्दा ३८ मत मात्रै पुग्छ । त्यसैले यी दुई दलले मात्र सरकार गठन गर्न सक्दैनन् । नयाँ सरकार निर्माणका लागि जसपासहित अन्य दलको समर्थन आवश्यक पर्ने देखिन्छ । यही अंकगणितका कारण जसपा मधेश प्रदेशको सत्ताराजनीतिमा निर्णायक शक्तिका रूपमा उभिएको छ ।

एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने विकल्प अघि सार्न सक्ने भए पनि त्यसका लागि आवश्यक बहुमत जुटाउन थप दलको समर्थन चाहिन्छ । आफ्नै नेतृत्वमा सरकार बन्न नसके जसपाको नेतृत्वमा वैकल्पिक सरकार गठनलाई सहयोग गर्ने विकल्पमा पनि एमालेभित्र छलफल हुन सक्ने नेताहरूको भनाइ छ ।

यस्तो अवस्थामा जसपाले कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने वा एमालेसहितको नयाँ गठबन्धनलाई सहयोग गर्ने भन्ने निर्णयले मधेशको आगामी राजनीतिक दिशा तय गर्नेछ ।

१५ बुँदे सहमति भंग भएको एमालेको आरोप

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको मुख्य कारण कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको १५ बुँदे समझदारी कार्यान्वयन नभएको विषयलाई बनाएको छ । सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण र जनहितका विषयलाई प्राथमिकता दिने उद्देश्यले गरिएको सहमतिअनुसार काम नभएको एमालेको निष्कर्ष छ ।

एमाले संसदीय दलले शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णलाई पत्र पठाउँदै ३० असोज देखि लागू हुने गरी समर्थन फिर्ता लिएको जानकारी गराएको हो । सहमति कार्यान्वयनका लागि पटकपटक ध्यानाकर्षण गराउँदा पनि अपेक्षित प्रगति नभएको पत्रमा उल्लेख गरिएको छ ।

समझदारीमा आर्थिक वर्ष ०८३।८४ को बजेट निर्माण गर्दा विकास योजनालाई प्राथमिकता दिने, मन्त्रालय तथा मन्त्रीको संख्या व्यवस्थापन गर्ने र विकास निर्माणका योजना खुला तथा प्रतिस्पर्धात्मक विधिबाट सञ्चालन गर्ने विषय समेटिएका थिए । आर्थिक वर्षको सुरुवातसँगै विकास निर्माणका काम अघि बढाउने विषयमा समेत सहमति भएको एमालेको भनाइ छ । तर, सहमतिअनुसार सरकार सञ्चालन नभएको र जनहितका कामले अपेक्षित गति लिन नसकेको आरोप लगाउँदै एमालेले समर्थन फिर्ता लिएको हो । यस विषयमा प्रदेश सरकारको आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन ।

समर्थन फिर्ताको निर्णयसँगै एमालेबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर, खेलकुद तथा समाजकल्याणमन्त्री लखन दास तत्मा, श्रम तथा यातायातमन्त्री शारदादेवी थापा र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले मुख्यमन्त्री यादवसमक्ष सामूहिक राजीनामा दिएका छन् ।

सरकार जोगाउन मुख्यमन्त्रीको कसरत

एमालेको समर्थन फिर्तापछि मुख्यमन्त्री यादव सरकारको निरन्तरता सुनिश्चित गर्न राजनीतिक परामर्शमा जुटेका छन् । केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच विभिन्न प्रदेशमा सरकार गठनका विषयमा सहमति र छलफल भइरहेका वेला मधेश प्रदेशको समीकरण भने अझै अनिश्चित छ ।

यसअघि जनमत पार्टीले समर्थन फिर्ता लिएपछि पनि यादव नेतृत्वको सरकार संकटमा परेको थियो । त्यतिवेला जसपाले समर्थन दिन अनिच्छा देखाएपछि मुख्यमन्त्री यादवले एमाले र नेपाली कम्युनिस्ट पार्टीसँग १५ बुँदे सहमति गर्दै सरकारलाई निरन्तरता दिएका थिए । तर, अहिले त्यही सहमति कार्यान्वयन नभएको आरोपमा एमाले सरकारबाट बाहिरिएको छ । यसले मुख्यमन्त्री यादवका लागि पहिलेको राजनीतिक संकटभन्दा फरक परिस्थिति सिर्जना गरेको छ । यसपटक सरकार टिकाउन सत्तासाझेदार दलबिचको समन्वय मात्र पर्याप्त नहुन सक्छ।  प्रदेशसभाको अंकगणितअनुसार थप समर्थन जुटाउनु पनि आवश्यक देखिन्छ ।

कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन जसपाको समर्थन महत्त्वपूर्ण हुनेछ । तर, जसपाले कस्तो निर्णय लिन्छ भन्ने विषयमा स्पष्टता आइसकेको छैन । उता एमालेले कांग्रेसबाहेकको सरकार गठनका लागि पहल गर्ने बताएपछि जसपामाथि आफ्नो राजनीतिक विकल्प स्पष्ट पार्न दबाब बढेको छ ।
 

सुझावित समाचार