मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
बाढीअघि / बाढीपछि
एजेन्सी त्रिपोली
२०८० भदौ २९ शुक्रबार १०:१३:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

लिबिया बाढीमा मर्नेको संख्या पाँच हजार नाघ्यो, २० हजार नाघ्न सक्ने

नब्बे हजार जनसंख्या भएको डेर्नामा अहिले जताततै शव मात्र छरिएको देखिने उद्धारमा संलग्नहरूले मिडियालाई बताए

Read Time : > 1 मिनेट
एजेन्सी, त्रिपोली
२०८० भदौ २९ शुक्रबार १०:१३:००

 लिबियामा ‘ड्यानियल’ नामक आँधीसँगै परेको मुसलधारे वर्षाले दुईवटा बाँध भत्काउँदा निम्तिएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या बिहीबारसम्म पाँच हजार तीन सय पुगेको छ । अझै दसौँ हजार बेपत्ता भएका छन् भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् । बाढीबाट सर्वाधिक प्रभावित पूर्वी सहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएको आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम)ले जनाएको छ ।

नब्बे हजार जनसंख्या भएको डेर्नामा अहिले जताततै शव मात्र छरिएको देखिने उद्धारमा संलग्नहरूले मिडियालाई बताए । सामाजिक संघसंस्थाले पनि शव व्यवस्थापनमा चुनौतीको सामना गरिरहेका छन् । बाढीले भत्काएका सडकका चेप र खोंच तथा समुद्री किनारमा पुर्‍याएका शव निकाल्ने काम भइरहेको छ । लिबियाका दुवै प्रतिद्वन्द्वी सरकारले बाढीपीडितका लागि राहत सामग्री परिचालनमा समन्वय गरिरहेका छन् भने इजिप्ट, ट्युनिसिया, इटली, स्पेन र टर्कीलगायत देशबाट उद्धार टोली त्रिपोली आइपुगेका छन् । 

उद्धारकर्मीका अनुसार अहिले डेर्नामा बाढीको विनाशबाहेक केही देखिँदैन । लिबियामा सक्रिय दुई सरकारमध्ये अन्तर्राष्ट्रिय मान्यता प्राप्त लिबियाको अन्तरिम सरकारले पाँच हजार तीन सयजनाले ज्यान गुमाएको बताए पनि पूर्वी क्षेत्रको सरकारका अधिकारीले आठ हजारभन्दा बढीको मृत्यु भएको बताएका छन् । हालसम्म तीन हजार एक सय ९० जनाको अन्त्येष्टि गरिएको छ । सरकारी अधिकारीहरूले डेर्नाको पश्चिम र बेनगाजीको पूर्वमा रहेको तटीय सहर टोक्राकोे बाँध पनि भत्किन सक्ने चेतावनी दिँदै तटीय क्षेत्र र आसपासका बासिन्दालाई तत्काल ती स्थानबाट सुरक्षित ठाउँमा सर्न आग्रह गरेको बताएका छन् । खोज र उद्धारलाई अझ तीव्र गतिमा सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै अब जीवित मानिस फेला पार्न कठिन हुने उनी बताउँछन् । 

पूर्वी लिबियाको बन्दरगाह सहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधचले बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको हुन सक्ने आशंका जताए । दुईवटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्यांकमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको हुन सक्ने बताएका हुन् ।