१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भैरहवा विमानस्थलको एक वर्ष : अन्तर्राष्ट्रिय वायुसेवाले देखाएन चासो, जजिराले पनि रोक्यो उडान

अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसायी मर्कामा, ४० अर्बभन्दा बढी लगानी जोखिममा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:३७:oo

भैरहवामा निर्माण गरिएको देशकै दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए) सञ्चालनमा आएको एक वर्ष पूरा भयो । २ जेठ ०७९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । तर, विमानस्थल सञ्चालनमा आएको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा अन्तर्राष्ट्रिय उडान नै ठप्प छ ।

गत वर्ष उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरवेजले सातामा तीन दिन उडान गर्दै आइरहेको थियो । तर, केही दिनयता जजिराको उडान पनि रोकिएको छ । जजिराले सेड्युल मिलाएर उडान सुचारु गर्ने आश्वासन दिएको अहिले भैरहवा विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले बताए ।  

जग्गासहित करिब ३१ अर्ब लगानीमा निर्माण भएको गौतम बुद्ध विमानस्थलमा अहिले आन्तरिक उडान मात्रै भइरहेका छन् । ०७१ मा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले विमानस्थल निर्माणको शिलान्यास गर्दा लुम्बिनीवासी निकै उत्साहित थिए । बढ्दो हवाई चापले साँघुरो बन्दै गइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को भरपर्दो विकल्प बन्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को अपेक्षा थियो । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लुम्बिनीमा पर्यटकको ओइरो लाग्ने अपेक्षामा व्यवसायीहरूले तारे होटेलमा अर्बौँ लगानी गरे । तर, एक वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसायी निराश बनेका छन् ।

भैरहवा–लुम्बिनीको पर्यटन क्षेत्रमा आठ वर्षदेखि देखिएको उत्साह एक वर्षमै निराशामा परिणत भएको छ । अन्तर्राष्ट्रिय उडान नहुँदा होटेलमा गरेको लगानी डुब्ने अवस्था सिर्जना भएको पाँचतारे पवन प्यालेसका सञ्चालक पवनकुमार हलुवाईले गुनासो पोखे । ०७४ पुस मसान्तभित्र सञ्चालनमा आइसक्नुपर्ने विमानस्थल भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन, कोभिड महामारीलगायतका कारण ०७९ जेठमा सञ्चालनमा आएको थियो । चार वर्ष ढिलो सञ्चालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान नहुनु चिन्ताजनक रहेको सिद्धार्थ होटेल एसोसिएसन (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको भनाइ छ । 

 ३५९ अन्तर्राष्ट्रिय उडान, ३५ हजार यात्रु 
गौतम बुद्ध विमानस्थलबाट एक वर्षको अवधिमा तीन सय ५९ अन्तर्राष्ट्रिय उडान–अवतरण भएका छन् । यसबाट ३४ हजार आठ सय ६६ यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेयले बताए । ‘यो विमानस्थलबाट एक सय ८० अवतरण र एक सय ७९ उडान भएका छन्,’ उनले भने, ‘यस विमानस्थलबाट १४ हजार सात सय ३९ जना यात्रु नेपाल आएका छन् भने २० हजार एक सय ३८ यात्रुहरू विभिन्न देशमा गएका छन् ।’

विमानस्थल उद्घाटनकै दिनदेखि सातामा तीन दिन अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको जजिराले एक वर्षमा दुई सय ५२ उडान–अवतरण गरेको छ । हिमालय एयरलाइन्सले ६६ वटा कमर्सियल फ्लाइट गरेको छ । यस्तै, यस अवधिमा २२ वटा कमर्सियल चार्टर्ड फ्लाइट र १९ वटा परीक्षण उडानसहित ननकमर्सियल चार्टर्ड फ्लाइट भएको विमानस्थलका प्रवक्ता बज्राचार्यले बताए ।

क्यानले अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षालगायत शुल्कमा शतप्रतिशत छुट दिएको छ । यस्तै, नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिइएको छ । एक वर्षको अवधिमा गौतम बुद्ध विमानस्थलले २४ करोड आम्दानी गरेको छ । तर, यो रकम विमानस्थलको बिजुली, पानी तथा मर्मत–सम्भारका लागि मात्र पुग्ने गरेको महाप्रबन्धक पाण्डेयले बताए । कर्मचारीको तलब सुविधा, बंैकको ऋणको साँवा–ब्याज यसमा जोडिएको छैन । लगानीको ऋणदेखि सम्पूर्ण खर्च सञ्चालनका लागि कम्तीमा दैनिक एउटा अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको उनले बताए । अहिले आन्तरिक उडानहरूको आम्दानीबाट सामान्य खर्च चलिरहेको उनले बताए ।

 ऋण तिर्न नसक्दा होटेल लिलामीमा 
अन्तर्राष्ट्रिय उडान नहुँदा सबैभन्दा धेरै प्रभावित लुम्बिनी क्षेत्रका होटेल व्यवसायी भएका छन् । वसन्त ऋतुमा अधिकांश पर्यटक हिमाल आरोहण र ट्रेकिङका लागि आउने गर्छन् । यो सिजनमा काठमाडौं, पोखरा र हिमाली भेगका होटेल गुल्जार भए पनि भैरहवा, नेपालगन्जलगायत क्षेत्रका होटेलमा पर्यटक अत्यन्तै कम छन् । 

एयरपोर्ट निर्माण सुरु भएपछि लगानी गरिएका १५ भन्दा बढी होटेल बैंकले लिलामी गरिसकेको एक व्यवसायीले बताए । बैंकको नियमित किस्ता तिर्न नसक्दा भैरहवा–लुम्बिनी क्षेत्रका चारदेखि २५ करोडसम्म लगानी भएका १५ भन्दा बढी होटेल लिलामी भएका हुन् । एयरपोर्ट सोचेजस्तो सञ्चालनमा नआउँदा विमानस्थल हेरेर पैसा खन्याएका ४० अर्ब लगानीका होटेलहरू अहिले उच्च जोखिममा रहेको सानका अध्यक्ष श्रेष्ठले बताए ।

होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका अध्यक्ष पीताम्बर न्यौपानेले पनि व्यवसायी अहिले नै टाट पल्टिसकेका र इज्जत जोगाउन मात्रै जसोतसो ऋण खोजेर बैंकमा किस्ता बुझाइरहेको बताए । रुपन्देहीको भैरहवा, लुम्बिनी र बुटवल क्षेत्रमा ८९ वटा तारे होटेल सञ्चालनमा छन् । २१ वटा नयाँ होटेल निर्माण भइरहेका छन् । ९५ प्रतिशत व्यवसायीहरूले बैंकबाट कर्जा लिएर काम गरिरहेको न्यौपानेको भनाइ छ ।

 नेवानिले नै चासो देखाएन 
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नै चासो दिएको छैन ।नियमनकारी निकाय क्यानले तीव्र दबाब दिँदा पनि नेवानि भैरहवा उडान गर्नबाट तर्किंदै आइरहेको छ । नेवानिका प्रमुख युवराज अधिकारी र बहालवाला पर्यटनमन्त्रीबीचको आन्तरिक खिचातानीका कारण सरकारकै स्वामित्वको राष्ट्रिय ध्वजावाहकले भैरहवा उडान गर्न चासो नदेखाएको पर्यटन व्यवसायीको गुनासो छ ।

ad
ad