१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २९ शुक्रबार ०६:२३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

शीर्ष स्थानमा जावलाखेल र चर्च ब्वाइजको प्रतिस्पर्धा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २९ शुक्रबार ०६:२३:००

जावलाखेल युथ र चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिग ०७९–८० को शीर्ष स्थानका लागि प्रतिस्पर्धामा देखिएका छन् । पछिल्लो १६ र १७औँ चरणमा लगातार शीर्ष स्थानमा रहँदै ललितपुरका दुई क्लबले उपाधि दाबेदारी प्रस्तुत गरेका हुन् ।

बिहीबार ललितपुरकै फ्रेन्ड्स क्लबलाई ४–१ ले पराजित गर्दा जावलाखेल शीर्ष स्थानमा फर्किएको छ । अघिल्लो दिन साबिक दुईपटकको च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई २–१ ले हराउँदै नवप्रवेशी चर्च ब्वाइज शीर्ष स्थानमा उक्लिएको थियो । समान ३० अंक रहँदा ‘हेड टु हेड’मा जावलाखेल शीर्ष स्थानमा छ । जावलाखेलले १७ खेलमा ९ जित, ३ बराबर र ५ हार नतिजा निकालेको छ । यस जितसँगै जावलाखेल रेलिगेसनबाट ढुक्क भएको छ ।

लिगका बाँकी नौ खेल पूरा हारे पनि जावलाखेल बी डिभिजनमा घटुवा हुनेछैन । एक खेल कम खेलेको चर्च ब्वाइज आठ जित, ६ बराबर र दुई जितसहित दोस्रो स्थानमा रह्यो । १६ खेल खेलेको थ्र्री स्टार २५ अंकसहित तेस्रो स्थानमा छ । शनिबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरे या बराबरी खेले पनि चर्च शीर्ष स्थानमा उक्लने पक्का छ । 

जितपछि जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले रेलिगेसन संकट टारेको र बाँकी खेलमा उत्कृष्ट नतिजाका लागि खेल्ने बताएका छन् । ‘जितपछि रेलिगेसन खतराबाट माथि उठेका छौँ,’ खुसी हुँदै श्रेष्ठले भने । ‘जोखिमबाट माथि उठेपछि शीर्ष स्थानको प्रतिस्पर्धामा जानेछौँ,’ उनले थपे । घरेलु लिगमा लामो इतिहास रचेको जावलाखेलले शीर्ष डिभिजन लिग उपाधि जितेको छैन । ०६७÷६८ मा जावलाखेलले इतिहासमै पहिलोपटक तेस्रो स्थान प्राप्त गरेको थियो । ‘टोलीमा यस्तै तालमेल मिल्यो र नतिजा आइरह्यो भने अवश्य पनि राम्रो स्थान आउँछ,’ सम्भावित नतिजाको विषयमा प्रशिक्षक श्रेष्ठले भने । 

जावलाखेलको नवौँ जित
च्यासल मैदानमा भएको एक मात्रै खेलमा जावलाखेलले फ्रेन्ड्सलाई ४–१ ले हराएको थियो । विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि जावलाखेल सुरुबाटै हावी भयो । यससँगै जावलाखेलले पहिलो लेगमा बेहोरेको हारको बदला लिएको छ । पहिलो लेगमा फ्रेन्ड्स २–१ ले विजयी भएको थियो ।

चालू लिगको एक सय १३औँ खेलमा जावलाखेललाई जित दिलाउन लेसोथाका एनकोटो मासोआबीले दुई गोल गरे । भारतीय राहुल राहुल र चाडका फोडे फोफानाले समान एक गोल गरेका थिए । फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले एक गोल फर्काएका हुन् ।

खेलको २५औँ मिनेटमा भारतीय खेलाडी राहुलको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो । राहुलले उज्वेकिस्तानका अब्दुलअजिज निशोनवाइभको कर्नरमा हेड गोल गरेका हुन् । ३१ मिनेटमै मासोआबीले दोस्रो गोल गरे । अब्दुलको फ्रिकिकमा मासोआबीले हेड गोल गरे । ६४औँ मिनेटमा मासोआबीले पेनाल्टीमा गोल गर्दै अग्रता ३–० को बनाए । ८०औँ मिनेटमा श्यामबाबुले गोल गर्दा अग्रता ३–१ मा झरेको थियो । इन्जुरी समयमा मासोआबीको पासमा फोफानाले ४–१ को अग्रता दिलाएका हुन् ।