
एनआरटीसँग १–० ले पराजित भएपछि थ्री स्टारले लिगको १३औँ खेलमा शीर्षस्थानमा उक्लने अवसर गुमायो
न्युरोड टिम (एनआरटी)सँग १–० ले पराजित हुँदा थ्री स्टारले चालू सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलोपटक शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सञ्जीव विष्टले एक मात्र गोल गर्दा एनआरटीसँग थ्री स्टार पराजित भयो । लिगको १३औँ चरणमा जित निकाल्दा थ्री स्टारको शीर्षस्थान उक्लने अवसर थियो । १३ खेलमा तेस्रो हार व्यहोरेको थ्री स्टार २२ अंकसहित दोस्रो स्थानमा छ ।
मेघराज केसीको प्रशिक्षणमा रहेको थ्री स्टारले ६ जित र चार खेलमा बराबर नतिजा निकालेको छ । एक खेल कम खेलेको सातदोबाटो २३ अंकसहित शीर्षस्थानमा छ । चौथो जितपछि एनआरटी १६ अंकका साथ आठौँ स्थानमा उक्लेको छ । अघिल्लो खेलमा थ्री स्टार साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
एनआरटीको जितमा स्ट्राइकर सञ्जीवले खेलको ३७औँ मिनेटमा निर्णायक गोल गरेका थिए । सरोज तामाङको प्रहार थ्री स्टारका गोलरक्षक मोहम्मद टाहाले पन्च गरेका थिए । तर, उनको पन्च राम्रोसँग क्लियर भएन । यसै मौकामा सञ्जीवले सहजै एनआरटीलाई १–० को अग्रता दिलाए । सञ्जीवले गोल गर्नुअघि थ्री स्टारले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । खेलको २७औँ मिनेटमा सन्तोष साहुखलले पेनाल्टी चुकाएका थिए । एनआरटीका रक्षक गौरव श्रेष्ठले पिटर सेगुनलाई पेनाल्टी बक्सभित्र लडाएपछि थ्री स्टारले अग्रता लिने सुन्दर अवसर पाएको थियो । सन्तोषको प्रहार क्रसबारभन्दा निकै माथि गयो ।