मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
२०७९ चैत १८ शनिबार ०८:३३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

उपाधिमा मनाङ र थ्री स्टारको दाबी

Read Time : > 1 मिनेट
२०७९ चैत १८ शनिबार ०८:३३:००

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधिका लागि शनिबार थ्री स्टार र मनाङ–मस्र्याङ्दी क्लब भिड्दै छन् । धनगढी रंगशालामा शनिबार दिउँसो हुने फाइनल खेलमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । मनाङ उपाधि रक्षा गर्ने होडमा र थ्री स्टार इतिहास बनाउन चाहन्छन् । साबिक विजेता मनाङ खप्तड गोल्डकपमा तेस्रो उपाधि चुम्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छ । तेस्रोपटक फाइनलमा प्रवेश गरेको थ्री स्टार पनि उपाधिको स्वाभाविक दाबेदार हो । यसैगरी, थ्री स्टार सुदूरपश्चिममा पहिलोपटक उपाधि जित्न चाहन्छ । दुवै टोलीका कप्तानहरूले उपाधि आफूले जित्ने दाबी गरेका छन् । 

प्रतियोगिताको फाइनलअघि शुक्रबार भएको प्रिपोस्ट म्याचमा थ्री स्टारका कप्तान विक्रम लामाले सेमिफाइनलमा रातो कार्ड पाएका मिडफिल्डर दीपेश गुरुङको अनुपस्थितिले क्लबको प्रदर्शनमा असर नपर्ने बताएका छन् । आफूहरूसँग सन्तुलित टाली रहेको उल्लेख गर्दै विक्रमले उपाधिमा आफ्नो स्वाभाविक दाबी रहने बताए । ‘फाइनलको रणनीतिअनुसार मेरो भूमिका रहनेछ । प्रशिक्षक मेघराज केसीले जुन भूमिकामा खेलाउँछन् । म तयार रहेको छु,’ कप्तान विक्रमले भने । सेमिफाइनललगत्तै फाइनल खेल्नुपरेकाले खेलाडीको ‘फिटनेस’मा असर पारेको उनले बताए । तर, उपाधि भिडन्तमा खेलाडी मानसिक रूपमा तयार रहेको उनको भनाइ छ । ‘तेस्रोपटक खप्तड गोल्डकपको फाइनल खेल्दै गर्दा पहिलोपटक उपाधि जित्न चाहन्छौँ,’ उनले भने ।

उपाधि रक्षा गर्ने दाउमा मनाङ
मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपको उपाधि रक्षा गर्न आफूहरू तयार रहेको बताए । ‘विदेशी फरवार्ड कोफी तिमोती कुवडु फाइनलमा खेल्नेछन् । विदेशी खेलाडीमा डियाग उत्कृष्ट छन्,’ गुरुङले भने, ‘विदेशी खेलाडीको प्रदर्शनले टिमलाई धेरै सहज बनाएको छ, हामीले तेस्रोपटक खप्तड गोल्डकपको उपाधि जित्ने पक्का छ ।’ थ्री स्टार घरेलु टोली सुदूरपश्चिम ११ लाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तर र मनाङ क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोलअन्तरले हराउँदै अन्तिम दुई स्थान पक्का गरेका हुन् ।  

प्रतियोगिताको उपाधि विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार तथा म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा ९ चैतदेखि सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका ६, दुई विदेशी, मोफसलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको थियो ।