प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि नेपाललाई

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण
प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि नेपाललाई

प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधिका साथ नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य, अफिसियल, प्रधानमन्त्री प्रचण्डलगायत । तस्बिर : संजित परियार/नयाँ पत्रिका

प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि नेपालले जितेको छ । दशरथ रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा लाओसलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक नेपालले प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि उचालेको हो । 

नेपाललाई उपाधि दिलाउन मनीष डाँगी र आयुष घलानले गोल गरे । मनीषले ८९औँ मिनेटमा आकर्षक फिनिसिङ गर्दै नेपाललाई जिततर्फ उन्मुख गराएका थिए । 

पहिलो हाफमा दुवै टिमले एक–एक गोल गरेका थिए । खेलको १७औं मिनेटमा लाओसले सुरुवाती गोल गर्दै अग्रता बनाएको थियो । त्यसको ७ मिनेटपछि आयुस घलानले एक गोल गर्दै नेपाललाई बराबरीमा पुर्याएका थिए ।

पहिलो हाफको तुलनामा नेपालले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्यो । 
दोस्रो हाफमा लाओसविरुद्ध लगातार आक्रमण बुनिरहेको नेपालका लागि  मनीषले गोल गर्नुअघि पनि निकै आक्रमक खेल प्रस्तु गरेका थिए । उनले दायाँ विङबाट आफ्नो पेशको प्रयोग गर्दै सुन्दर बलहरू क्रस गरेका थिए । 

नेपालले दोस्रो हाफमा एकपछि अर्को आक्रमण गरेको थियो । निशन खड्काले ६९औँ मिनेटमा प्रहार गरेको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो । 

खेलको ५४औँ र ६१औँ मिनेटमा नेपालले गोलका दुई सुन्दर अवसर गुमाएको थियो । दुवै अवसरमा मनीषको क्रसलाई आयुष घलानले बललाई जाली चुमाउन सकेनन् । 

तीन राष्ट्र सम्मिलित प्रतियोगिताको पहलो खेलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो ।

सुझावित समाचार