मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एकदिवसीय मान्यता रक्षा गरेपछि खुसी मनाउँदै नेपाली खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२०७९ फाल्गुण २९ सोमबार ०७:४१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युएईविरुद्ध कीर्तिमानी जित

युएईमाथिको १७७ रनको जित नेपालको एकदिवसीय इतिहासकै सर्वाधिक ठूलो जितअन्तर हो । यसअघि सन् २०२१ मा पपुवा न्युगिनीलाई १५१ रनले हराएको थियो ।

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०७९ फाल्गुण २९ सोमबार ०७:४१:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय खेलमा अहिलेसम्मकै ठूलो जित निकालेको छ । नेपालले आइतबार त्रिवि मैदानमा आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई)माथि एक सय ७७ रनको जित हात पारेको हो । यो जित नेपालको एकदिवसीय खेल इतिहासकै ठूलो जितअन्तर हो । यसअघि नेपालले सन् २०२१ मा पपुवा न्युगिनी (पिएनजी) लाई एक सय ५१ रनले हराएको थियो । 

विश्वकप लिग–२ अन्तर्गत एक सय ३७औँ खेलमा नेपाल ४९.२ ओभरमा दुई सय ४८ रनमा अलआउट भयो । दुई सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा सबै विकेट गुमाउँदा ७१ रनमै समेटिएयो । नेपालविरुद्धको प्रदर्शन युएईको एकदिवसीय इतिहासकै खराब इनिङ्स हो । 

सन् २०१८ मार्च १२ को विश्वकप छनोटमा युएई आयरल्यान्डविरुद्ध ९१ रनमा अलआउट भएको थियो । नेपालले सोमबार पिएनजी र बिहीबार युएईसँग खेल्नेछ । नेपालले दुवै खेल जिते जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेल्नेछ । 

ललितको धारिलो बलिङ
नेपालका स्पिनर ललित राजवंशीले युएईविरुद्ध धारिलो बलिङ गर्दै पाँच विकेट लिए । ७.५ ओभर मात्र बलिङ गरेका ललितले दुई मेडनसहित २० रन खर्चिए । उत्कृष्ट फर्ममा रहेका नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले दुई विकेट हात पारे । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान एक विकेट लिएका थिए । नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले ललितको उत्कृष्ट प्रदर्शनमा जित निस्केको प्रतिक्रिया दिएका छन् । ‘सबै खेलाडी क्षमतावान् छन् । आजको जितमा ललितले उत्कृष्ट सहयोग गरे । पावर प्लेमा राम्रो गर्न सफल भयौँ,’ ललितको प्रशंसा गर्दै प्रशिक्षक मोन्टीले भने ।

 युएईले लक्ष्य पछ्याएको इनिङ्समा ललितले सुरुकै दुई ओभर मेडन राख्दै दुई विकेट लिएका थिए । उनले युएईका ओपनर अरविन्दालाई इनिङ्सको पाँचौँ बलमै बोल्ड गरे । ललितले ४.४ ओभरमा कप्तान मोहम्मद वासिमलाई कुशल भुर्तेलबाट क्याच गराए । दीपेन्द्रसिंह ऐरीले आर्यन लक्रालाई २.४ ओभरमा डकआउट गरे । 

युएईले स्कोर बोर्डमा आठ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । सोमपालले ओपनर आसिफ खानलाई ६ रन बनाउँदा विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै पेभिलियन फर्काएका थिए । युएईका आयन अफजल खानले सर्वाधिक २९ रन जोडे । ३३ बल खेलेका आर्यनले दुई चौका र दुई छक्का हिर्काएका थिए । उनलाई ललितले कुशल भुर्तेलबाट क्याच गराए । 

रोहितको कप्तानी इनिङ्स
इनिङ्सको एक समय नेपाल ७६–४ को अवस्थामा थियो । खराब अवस्थामा रहेको नेपाललाई कप्तान रोहितकुमार पौडेलले उकासे । स्पिनरका लागि उपयुक्त भएको पिचमा पौडेलले नै टस जितेर ब्याटिङ रोजेका थिए । तर, नेपालको सुरुवात दयनीय रह्यो । रोहितले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ८६ रनको मजबुत साझेदारी गरे । आरिफले ५२ बलमा पाँच चौकासहित ४३ रनको योगदान गरे ।  

भीमले ३७ बलमा चार चौकासहित २९ रन बनाए । अन्तिम १० ओभरमा गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले ४२ रनको साझेदारी गरे । गुल्सनले ३२ बलमा तीन छक्का र एक चौकासहित ३७ रन बनाए । आक्रामक ब्याटिङ गरेका दीपेन्द्रले १९ बलमा तीन चौका र दुई छक्कासहित ३४ रन बनाएका थिए ।