Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ माघ १६ सोमबार ०६:२५:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

गृह मन्त्रालय स्वाभाविक रूपमा हाम्रै हुनुपर्छ, अरू पार्टीले राख्ने हो भने कारण चाहिन्छ : मुकुल ढकाल

Read Time : > 1 मिनेट
२०७९ माघ १६ सोमबार ०६:२५:००

गृह मन्त्रालयमा फेरि रास्वपाकै दाबी रहन्छ  या अन्य दललाई छाड्न तयार हो ?
प्रक्रियागत हिसाबले रवि लामिछाने पुनः हाम्रो पार्टीको सभापतिमा चयन भइसक्नुभयो । गृहमन्त्री हामीले पहिल्यै पाइसकेको मन्त्रालय हो, स्वाभाविक रूपमा हाम्रै हुनुपर्छ । यसमा पुनः दाबी आवश्यक छैन । सर्वोच्च अदालतबाट सबै पद खारेज भइसकेपछि उहाँको उच्चस्तरीय संयन्त्रसँग वार्ता गर्ने हैसियत थिएन, सभापति बनेपछि अब पुनः त्यो हैसियत फर्किएको छ । त्यसैले अब उच्चस्तरीय संयन्त्रमा गृह मन्त्रालयबारे शीर्ष नेताहरूसँग छलफल गर्न केन्द्रीय समितिले सभापतिलाई नै जिम्मेवारी दिएको छ । अरू पार्टीले गृह मन्त्रालय राख्ने हो भने त्यसको कारण चाहिन्छ । 

अब रास्वपाले गृह मन्त्रालय पाएको अवस्थामा पार्टी सभापति रवि लामिछाने विकल्प हुन् कि होइनन् ?
आज–भोलिभित्रै सत्तारूढ दल माओवादी र एमालेका अध्यक्षद्वयसँग कुरा गरेर यसको बहुआयामिक पक्षमाथि छलफल गरेर निर्णय गर्ने भन्ने भएको छ । केन्द्रीय कमिटीले उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गर्ने जिम्मा सभापति लामिछानेलाई दिएको छ । त्यसैले अहिले यत्ति भन्न सक्छौँ– सभापति पुनः गृहमन्त्री हुने विषयमा ढोका बन्द गरेका छैनौँ र खुला पनि गरेका छैनौँ । सत्तागठबन्धनभित्र सहमति गरेपछि मात्रै पात्रका विषयमा पार्टीले निर्णय गर्ने भन्ने छ । 

हिजो सभापति लामिछानेका नाममा सहमति भएको, तर आज उनी नैतिक हिसाबले पुनः सरकारमा फर्कन सक्ने अवस्था नभएका कारण भन्ने छ नि ?
कानुनी हिसाबले उहाँ मन्त्री हुन मिल्छ । त्यसैले नैतिकताको कुरा आउँदैन । नैतिकताको कुरा गर्दा हिजो उहाँले गृह मन्त्रालय लिँदा स्वार्थ बाझिने कुरा धेरै उठ्यो । तर, खोइ बाझिएन त ? जिल्ला प्रशासन कार्यालयले पनि अल्झाएर राख्न सक्ने जवाफ सहजै पठाइदियो । सभापति र हाम्रो पार्टी सबै नागरिकताको मुद्दा छिटो सुल्झियोस् भन्नेमा थियौँ । सुल्झियो पनि । अरूका यस्ता मुद्दा यति चाँडो किन सुल्झिदैनन्, त्यो प्रश्न त छँदै छ । तर, हाम्रो फैसला चाँडो भएकोमा हामी सर्वोच्च अदालतसँग खुसी नै छौँ । 

रवि लामिछाने पुनः पार्टी सभापति भएसँगै राजनीतिक पदमा फर्किनुभयो, तर तत्काल संवैधानिक पदमा फर्किने सम्भावना छ कि छैन ?
उपनिर्वाचनमा पुनः उठ्नुपर्छ भन्ने छ । चितवन २ का मतदातादेखि पार्टीका सबै सदस्यको माग उहाँले नै उम्मेदवारी दिनुपर्छ भन्ने नै छ । सामाजिक सञ्जालको भावना पनि त्यही देखिन्छ । नकारात्मक कमेन्ट कहीँ पनि छैन । त्यसैले उपनिर्वाचन जितेर फेरि संसद्मा फर्कने उहाँको सम्भावना नकार्न सकिन्न । 

पद खारेजीपछि भएको पहिलो पार्टी बैठकमा रवि लामिछानेको धारणा के थियो ? 
पार्टीपंक्तिले देखाएको विश्वासप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । अलिअलि भावुक पनि सुनिनुभयो । पार्टीले हिजोको आजै जसरी सभापति बनाउने निर्णय गर्‍यो, जसरी उहाँको नाममा एकढिक्का हुन सक्यो त्यसप्रति उहाँ निकै आभारी सुनिनुभयो । हिजो उहाँ आफैँले जन्माएको पार्टीले आज जुन परिपक्वता देखायो, त्यसप्रति उहाँले गौरव महसुस गर्नुभयो । आत्तिनुहुन्न, चुनौतीहरूको सामना गर्दै अघि बढ्नुपर्छ भन्दै सबैलाई आत्मबल बढाउन आग्रह गर्नुभयो ।