Skip This
साबिक विजेता नाडाल दोस्रो चरणबाट बाहिरिए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ५ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ माघ ५ बिहीबार o७:१५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साबिक विजेता नाडाल दोस्रो चरणबाट बाहिरिए

अमेरिकी खेलाडी म्याकडोनाल्डबाट ३–० को सोझो सेटमा नाडाल पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ५ बिहीबार o७:१५:oo

अस्ट्रेलियन ओपनका साबिक विजेता राफेल नाडाल दोस्रो चरणबाट बाहिरिएका छन् । स्पेनिस खेलाडी नाडाल अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डसँग ३–० को सीधा सेटमा पराजित भएका हुन् । अस्ट्रेलियन ओपनमा सहभागी हुनुअघि नाडाललाई चोटको समस्या थियो । चोटका बाबजुद प्रतियोगितामा सहभागी भएका नाडालले दोस्रो चरणमा ढाडको समस्या पार लगाउन सकेनन् । जसका कारण उनी अमेरिकन खेलाडी म्याकडोनाल्डबाट ६–४, ६–३ र ७–५ को सेटमा पराजित भए ।

 पुरुषतर्फको ग्रान्डस्लाम इतिहासमा नाडाल सर्वाधिक विजेता हुन् । उनले २२ पटक ग्रान्डस्लाम उपाधि जितेका छन् । दोस्रो स्थानमा सर्बियाका नोभाक जोकोभिक छन् । उनले २१ ग्रान्डस्लाम जित्दै नाडाललाई पछ्याइरहेका छन् । नाडाल बाहिरिँदा जोकोभिकलाई कीर्तिमान बराबरी गर्न अवसर प्राप्त भएको छ । गत वर्ष सन्न्यास लिएका स्विस खेलाडी रोजर फेडेररले २० ग्रान्डस्लाम जितेका छन् । 

च्याम्पियनलाई ढाडको समस्या
नाडाल सन् २०१६ पछि अस्ट्रेलियन ओपनबाट दोस्रो चरणबाटै बाहिरिए । गत वर्ष नाडालले कीर्तिमानी रूपमा १४औँ पटक फ्रेन्च ओपन जितेका थिए । उपाधि रक्षा गर्ने अभियानमा मेलबर्न आएका नाडालले दोस्रो चरणबाटै बाहिरिँदा दुःख लागेको बताएका छन् । ‘यस किसिमको पीडा अघिल्लो खेलमा आएन, प्रतियोगिताबाटै बाहिरिइन्छ जस्तो लागेको थिएन,’ खेलपछि नाडालले भने, ‘मलाई लागेको थियो, तत्काल चोट निको हुँदैन, अब फिट हुन समय लाग्छ ।’ 

वर्षको पहिलो ग्रान्डस्लामको दोस्रो चरणबाटै बाहिरिँदा मानसिक रूपमा तनाव नभएको उनको भनाइ छ । ‘धेरैले मानसिक दबाब भएको भनेका छन्, तर म अहिले राम्रै अवस्थामा छु,’ आत्मविश्वास देखाउँदै उनले भने, ‘आउने प्रतियोगितामा बलियो भएर उपस्थित हुनेछु ।’ दोस्रो सेट चलिरहँदा नाडालको ढाडमा समस्या देखिएको थियो । तत्कालै उनले मेडिकल टिमको सहयोग लिए । केही समयपछि उनी कोर्टमा फर्किए । यद्यपि, नाडालको फर्म खस्किसकेको थियो । 

म्याच अम्पायरले नाडाललाई खेल परित्याग गर्न आग्रह नगरेका होइनन् । तर, नाडालले आफू खेलमा निरन्तर खेलिरहने जनाए । ‘समस्या आएपछि खेल छाड्न भनिएको थियो, तर म त्यतिकै खेलमा पराजित हुने खेलाडी हैन,’ उनले भने ।