मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Wednesday, 12 February, 2025
रमेश सुवेदी काठमाडौं
२o७९ पौष ७ बिहीबार o७:५o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिग समयमै हुनेमा शंका

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार o७:५o:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबलकै मेरुदण्ड मानिएको सहिद स्मारक ए डिभिजन लिग २२ पुसदेखि गर्ने तयारी गरेको छ । तर, ए डिभिजन लिग फुटबल पूर्वघोषित तालिकामा हुनेमा आशंका व्यापक बढेको छ । एन्फाले ए डिभिजन लिगमा आबद्ध क्लबसँग गरेको प्रतिबद्धताअनुसार कार्ययोजनालाई कार्यान्वयन गर्न नसक्दा लिग समयमै हुनेमा शंका बढेको हो । एन्फाले बिहीबार (आज)सम्म क्लब दर्ता र खेलाडी दर्ता पूरा गर्न क्लबहरूलाई आग्रह गरेको छ ।

एन्फाले यसअघिका बाँकी रकम भुक्तानी नगरेसम्म लिगमा आबद्ध क्लबहरूले खेल्न आनाकानी गरिरहेका छन् । एन्फाको विधानअनुसार क्लबहरूले लिगमा सहभागी हुनुअघि दर्ता गर्नुपर्नेछ । बुधबारसम्म ए डिभिजन लिगका दुई क्लबले मात्रै दर्ता गरेका छन् । एन्फा महासचिव किरण राईका अनुसार यसै वर्ष ‘ए’ डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाइज क्लब र साबिक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले मात्रै दर्ता गरेका छन् । साबिक विजेता मच्छिन्द्र, तेस्रो भएको न्युरोड टिम (एनआरटी), सातदोबाटो युथ, मनाङ मस्र्याङ्दी, थ्री स्टार, एपिएफ, हिमालयन शेर्पा, जावलाखेल युथ, संकटा, नेपाल पुलिस, फ्रेन्ड्स र बढुवा भएको खुमलटार युवा क्लबले लिग खेल्न नाम दर्ता गराएका छैनन् । 

 पहिलो किस्ता नै पाएनन्
एन्फाले ए डिभिजन लिगमा सहभागी हुने क्लबलाई तयारीबापत पहिलो किस्ताको रकम अहिलेसम्म उपलब्ध गराउन सकेको छैन । जसका कारण क्लबहरू असन्तुष्ट बनेका छन् । एन्फाले लिगअघि १५ लाख तयारीका लागि दिने घोषणा गरेको छ । गत संस्करणमा एन्फाले तयारी खर्च साढे सात लाख रुपैयाँ प्रदान गरेको थियो । खेलाडीको तयारीमा कुनै कमी आउन नदिन एन्फाले क्लबलाई तयारी खर्चमा शतप्रतिशत वृद्धि गरेको हो । यद्यपि, गत वर्षको फागुनमा सम्पन्न ए डिभिजन लिगको तयारीबापत सहभागी १४ क्लबले एन्फाबाट पाउनुपर्ने साढे सात लाख रुपैयाँ अहिलेसम्म पाएका छैनन् । 

ए डिभिजन लिगमा आबद्ध क्लबहरूले बिहीबार नाम दर्ता गर्नुपर्ने अन्तिम दिन हो । तर, बुधबार रातिसम्म दुई क्लबले मात्र नाम दर्ता गराएका छन् । 

‘हामीले अझै पनि एन्फाबाट पाउनुपर्ने रकम पाएका छैनौँ । त्यो रकम एन्फाले दिए हामी क्लब दर्ता गर्न तयार छौँ,’ आठपटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घलेले नयाँ पत्रिकासँग भने । घलेले एन्फाले प्रतिबद्धताअनुसार रकम भुक्तानीपछि मात्र क्लबको नाम दर्ता हुनेछ । एन्फा महासचिव राईले अन्तिम दिनसम्म क्लबहरूले दर्ता गर्ने विश्वास गरेका छन् । क्लबका पदाधिकारी र एन्फाबीच बिहीबार अनौपचारिक बैठक बस्ने उनले जानकारी दिए । ‘आजसम्म दुई क्लबले दर्ता गराएका छन् । हामीलाई विश्वास छ, अन्य क्लबले पनि बिहीबारसम्म दर्ता गर्नुहुनेछ, हामी समयमै लिग गर्न तयार छौँ,’ महासचिव राईले भने । 

यसैगरी, साबिक दुईपटकको विजेता मच्छिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले लिग समयमै नहुने बताएका छन् । उपाध्यक्ष श्रेष्ठले प्रतिबद्धताअनुसार एन्फाले रकम भुक्तानी गर्न ढिला गरे लिग निर्धारित समयमा सुरु नहुने र समस्या थप हुँदै जाने बताए । ‘एन्फाले क्लबहरूलाई भुक्तानी गर्नुपर्ने रकम दिन जति ढिला गर्छ, लिग त्यति नै पछाडि सर्दै जान्छ,’ श्रेष्ठले भने, ‘लिगलाई पैसा तत्काल दिएपछि दुई महिना पछि सर्छ नै ।’ यसैगरी, हिमालयन शेर्पाका व्यवस्थापक विजेन पुडासैनीले एन्फाले छुट्याएको समयमा लिग हुनेमा शंका रहेको बताए । ‘लिग हुन्छ, गर्नुपर्छ । तर, एन्फाले गर्न खोजेको र चाहेजस्तो लिग समयमै हुँदैन,’ पुडासैनीले भने ।

 नौ क्लबको बैठक
दर्ता मिति अन्तिम भएसँगै असन्तुष्ट रहेका नौ क्लबबीच बुधबार साँझ बैठक बस्यो । क्लबहरूले एन्फाको व्यवहारबाट सन्तुष्ट हुन नसकेको र बिहीबार एन्फासँग बैठक बस्ने योजना बनाएका छन् । ‘हामी एन्फाको व्यवहारबाट सन्तुष्ट छैनौँ । लिग हुने टुंगो छैन । खेलाडी दर्ता गरेर खर्च मात्रै बढाउने एन्फाको योजना छ,’ बैठकमा सहभागी एक सदस्यले भने, ‘यदि लिग भएन भने यसको जिम्मेवारी कसले लिन्छ ?’ बैठकमा विभागीय तीन टोलीसहित चर्च ब्वाइज र मच्छिन्द्रको सहभागिता थिएन । गत १६ मंसिरमा नौ क्लबले एन्फाले बाँकी रकम भुक्तानी नगरेपछि असन्तुष्टि जनाउँदै एन्फालाई गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।